बागलुङ/ नेकपा एमाले काठेखोला बागलुङले सञ्चालन गरेको चुनावी अभियान अन्तरगत आइतवार बिहानैदेखि वडा नम्बर १ पालाका विभिन्न स्थानमा टोलभेला तथा घरदैलो कार्यक्रम सञ्चालन भएका छन् ।
काठेखोलामा एमालेका अध्यक्ष पदका उमेदवार डिल बहादुर कार्कीले एमालेले काठेखोलाका ८ वडालाई ८ पहिचान बनाएर काम गर्ने योजनाका साथ अगाडि बढेको भन्दै सूर्य चिन्हमा मतदान गरी एमालेका उमेदवारहरुलाई विजयी गराउन आव्हान गरे ।
काठेखोला गाउँपालिका वडा नं. १ लाई सहकारी खेती विस्तार गरी कृषि उपज संकलन तथा हाट बजार सञ्चालनको योजना बनाइएको उहाँले जानकारी दिए । पाला काठेखोलाको प्रवेश मार्गका रुपमा रहेकाले यहाँको सडक व्यवस्थित गर्ने लगायतका योजना बनाइएको कार्कीले बताए ।
कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य हुमा कुमारी जिसी (अञ्जु), जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, जिल्ला सदस्य तथा उपाध्यक्षका उमेदवार कोपिला पुन, जिल्ला सदस्य तथा वडा न. १ का वडा अध्यक्ष उमेदवार गोविन्द बहादुर खड्का, नेकपा एमाले वडा नं. १ का अध्यक्ष भीम बहादुर खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पालिकामा अध्यक्ष पदका उमेदवार डिल बहादुर कार्की, उपाध्यक्ष पदका उमेदवार कोपिला पुन, वडा नम्बर १ का वडा अध्यक्ष उमेदवार गोविन्द बहादुर खड्का र सदस्य पदकाका उमेदवारहरु महिला सदस्य चन्द्रकला रोका, दलित महिला सदस्य कमला विक, खुल्ला सदस्य दुर्गा बहादुर केसी र कर्ण बहादुर थापासहितको टोलीले पालाका विभिन्न टोलहरुमा घरदैलो कार्यक्रम गरेको पार्टीका वडा अध्यक्ष भीम बहादुर खड्काले जानकारी दिए ।





