पोखरा/ पोखरा महानगरपालिकामा गठबन्धनमा भाँडभैलो देखिदा मेयरका उम्मेदवार धनराज आचार्य चिन्तामा परेका छन् । पोखरामा ९० प्रतिशत जित निश्चत हुँदासमेत वडाहरुमा तालमेल नमिल्दा कतै निर्वाचनमा हार व्यहोर्न पर्ने हो कि भन्ने चिन्तामा उनी परेका छन् ।
केपी शर्मा ओलीको प्रतिगमनकारी मार्ग र अहंकारले गर्दा लोकतन्त्रको रक्षा गर्न एकजुट भएको पाँच दलले लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि स्थानीय तहमा समेत गठबन्धन गरेर चुनावमा होमिँदा वडा तहमा कार्यकताले भागबन्डा खोज्दा नमिलेको तालमेलका कारण ओलीतन्त्र फेरि हाबी हुने खतरा देखिएको उनले संकेत गरेका छन् ।
आइतबार पोखरामा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै धनराजले बहुमत आउने निश्चित हुँदा समेत गुम्ने खतरा भएको चिन्ता व्यक्त गरेका हुन् । उनले आफूहरु कोर टिममा रहेको र निकै ठूलो भारी बोक्दै गर्दा तालमेल नहुनुले लोकतन्त्रलाई नै खतरा हुने डर रहेको बताए । ‘चुनावका लागि जिल्लाका नेताहरुमा नेतृत्व गर्ने सक्ने सामथ्र्य कम्जोर हुँदो रहेछ । ९० प्रतिशत वडा हामीले जित्ने निश्चित थियो तर, अहिले के भइरहेको छ ?’ उनले भने, ‘जितेर आउने वातावरण बनाऔँ । ३३ वटै वडामा जिताउनु तपाईं हाम्रो नैतिक जिम्मेवार हो ।’
उनले एकीकृत समाजवादीको तर्फबाट वडामा आवश्यक परे उम्मेदवारी फिर्ता लिने बताउँदै वडाध्यक्षहरुलाई समेत प्रत्येक वडामा मिलेर जान र सबै वडा अध्यक्ष उमेदवारले गठबन्धनबाट जाने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए ।
उनले आफूभित्र नै लडेर विपक्षीलाई सहज बनाउने वातावरणको सिर्जना हुनु दुखद् रहेको सुनाए । उनले गठबन्धनको पहिलो प्रयास सकिसकेको र दोस्रो प्रयास सुरु गर्नुपर्नेमा जोड दिए । ‘ट्रयाक १ फेल भइसक्यो अब ट्रयाक २ सुरु गरौं । पोखरा विगार्ने छुट कसैलाई पनि छैन । अध्यक्ष पदमा मिलौं यसको मुख्य जिम्मा कांग्रेसलाई जान्छ । हाम्रो जित भनेकै कांग्रेसको जित हो,’ उनले भने, ‘अहिले पनि केही बिग्रिएको छैन हामीसँग समय छ । मतपत्र छापिनुभन्दा अघिसम्म कुरा मिलाउन सकिन्छ । गठबन्धनका नेताहरुले वडामा पुगेर उमेदवारसँग कुरा गरौँ सुधारेर जाऔं ।’
उनले उम्मेदवार बनिसकेर चुनाव चिन्ह आइसकेपछि आफूलाई धेरै चिन्ताले सताएको बताए । उनले कतिपय वडामा मेयर र उपमेयरको फोटो नै नराखी पाँच दलकै पार्टीहरुले एक्लै चुनावी अभियान चलाइरहेको सुनाउँदै वडामा गठबन्धनको दूरी नबढाउन आग्रह गरे ।
उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले निरंकुशताको पराकाष्ट गर्नका लागि गठबन्धन भएको र आज संविधानलाई जोगाउन गठबन्धनले जित्नैपर्ने बाध्यता रहेको सुनाइन् । उनले हिजो एमालेले पोखरा स्पष्ट बहुमत ल्याउँदा पोखरेलीको सपनालाई बाटोमा छताछुल्ल पारेको सुनाइन् ।
गठबन्धनले जितेमा लोकतन्त्रको अस्तित्वका साथै पोखराको विकासले मुहार फेर्नेमा विश्वास रहेको बताइन् । उनले उपमेयरको कार्यधिकार न्यायिक समिति र पुर्वाधार विकासमा मात्रै रहेपनि पोखराको विकासका लागि दीर्घकालीन विकास योजना बनाउन सक्ने सामथ्र्य भएको व्यक्ति मेयरमा पाएको बताइन् । गठबन्धनले जितेमा पोखरालाई चाहेको जस्तो सहर बनाउन सकिने उनले बताइन् ।





