बागलुङ/ स्थानीय तहको निर्वाचन नजिकीँदै गर्दा बागलुङमा सत्ता गठबन्धन र नेकपा एमाले लगायतका दलहरुले मतमाग्ने कार्यक्रमहरुलाई तिब्र बनाएका छन् । नकेपा एमालेले मंगलबार बागलुङ नगरपालिका–१२ अमलाचौर, काठेखोला गाउँपालिका–३ धम्जा, गलकोट नगरपालिका–११ रिघा र जैमिनी नगरपालिका–८ छिस्तिमा बिभिन्न कार्यक्रम गरेको छ ।
धम्जाको कार्यक्रममा जिल्ला इञ्चार्ज गोविन्द नेपाली, अमलाचौरको कार्यक्रममा केन्द्रिय सदस्या डा.सूर्यपाठक लगायतका नेताहरुले सम्बोधन गरे । बिकास र समृद्धिको बहाक पार्टी नेकपा एमाले भएको दावी गर्दै नेताहरुले मतदानका लागि आग्रह गरेका थिए । धम्जामा भएको कार्यक्रममा सर्वसाधारणले बजागाजा सहित एमालेका उमेद्वारहरुको स्वागत गरेका थिए । अमलाचौर पुगेका केन्द्रिय सहस्य सूर्य पाठकले एमाले सरकारका पाला भएका कामका फेहरिस्तनै सुनाए । यसअघिको एमालेको नेतृत्वले बागलुङ नगरमा अभूतपुर्व बिकासका काम गरेको भन्दै पाठकले बिकास र समृद्धिका लागि तीनै तहको सरकारमा एमाले हुनुपर्ने बताए ।
गलकोटको रिघामा भएको कार्यक्रममा जिल्ला उपसचिव तथा वडाअध्यक्षका उमेद्वार डम्मर श्रीषले एमालेको जीत कसैले छेक्न नसक्ने दावी गरे । नगरप्रमुखका उमेद्वार पूर्ण काउचाले गलकोटमा सुशासन र सहज बिकासका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए ।
एमाले बरेङले सुखौरामा घरदैलो अभियान सञ्चालन गरेको छभने बडिगाड र ढोरपाटन नगरपालिकामा पनि अभियान तिब्र बनाईएको जिल्ला सचिव बिष्णु भुसालले बताए ।
सत्ता गठबन्धनले पनि आफ्ना चुनावी अभियानलाई तिब्र बनाएको छ । गठबन्धको चुनाव परिचालन कमिटिले मंगबालर बागलुङ नगरपालिका–४ का बिभिन्न टोलमा घरदैलो तथा कोण सभा गरेको छ । सर्वसाधारणका घर घरमा पुगेका गठबन्धनका उमेद्वारहरु फुलमाला ग्रहणगर्ने देखि मतदातालाई ढोग्ने सम्मका काम गरिरहेका थिए । गठबन्धनको तर्फबाट बागलुङ नगर प्रमुखका उमेद्वार बसन्त कुमार श्रेष्ठले प्रतिगमनका बिरुद्ध बनेको गठबन्धनका उमेद्वारलाई जीताउन आग्रह गरे ।
गठबन्धनले जैमिनी नगरपालिकाको पैञ्युथन्थापमा चुनावी सभा गरेको छ । पैञ्युथन्थापमा भएको चुनावी सभामा माओबादी केन्द्रका केन्द्रिय सदस्य बलावती शर्मा, कांग्रेस र राजमोका जिल्ला तथा केन्द्रिय नेताहरुले सम्बोधन गरेका थिए । नगर प्रमुखका उमेद्वार नरबहादुर पुन र उपप्रमुखका उमेद्वार हरीहर शर्माले संयुक्त गठबन्धनका उमेद्वारले मात्रै जैमिनीको बिकास गर्ने बताए ।





