पोखरा/ मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु हुने गरी कास्कीको अन्नपूर्ण गाउँपालिका १, लेवाडेमा भएको सडक दुर्घटनामा फरार कार चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत जिल्लाको कुश्मा नगरपालिका १ का २७ वर्षीय एञ्जिल बम मल्ल छन् ।
मातातीर्थ औंशी मनाएर आइतबार पर्वतबाट पोखरा फर्किंदै गरेका ग १८ प ८१९१ नम्बरको मोटरसाइकलमा सवार बाबुछोरीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटसाइकलमा सवार पर्वत मोदी गाउँपालिका ४ बस्ने १८ वर्षीय सुजिना पुन र उनका बाबु ४८ वर्षीय जीतबहादुर पुनकाmे मृत्यु भएको थियो ।
पोखराबाट पर्वततर्फ गइरहेको मल्लको ग ३ च ३५२५ नम्बरको कारले विपरीत दिशाबाट आइरहेका मोटरसाइकललाई ठक्कर दिँदा छोरी सुजिनाको उपचारका लागि पोखरा अस्पताल लैजाँदै गर्दा बाटोमै र उनका बाबु जीतबहादुर पुनको उपचारको क्रममा सोमबार मेट्रो सिटी अस्पतालमा मृत्यु भएको थियो ।
कारमा मल्लसहित ३ जना सवार थिए । पोखराका विभिन्न ठाउँमा मादक पदार्थ सेवन गर्दै तीव्र गतिमा कार चलाएको र घुम्तीमा ओभरटेक गर्न खोज्दा दुर्घटना हुन पुगेको मल्लसँगै सवार साथीहरुले प्रहरीमा बयान दिएका छन् ।
मोटरसाइकललाई ठक्कर दिएपश्चात मल्ल फरार थिए । फरार मल्ललाई खोज्न कास्की प्रहरीले मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक आह्वान गरेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगर ३ महाराजगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्की डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
मल्ललाई बुधबार नै प्रहरीले सार्वजनिक गरेको हो । ‘निजलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं,’ तिवारीले भने ।





