पोखरा/ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका धनराज आचायले बेगनास ताललाई सेकेन्ड लेकसाइड बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पोखरा महानगरपालिका वडा ३१ को चुनावी प्रचारप्रसारमा कार्यक्रममा बोल्दै उनले पोखरा भन्नेबित्तिकै फेवातालमात्रै चिनिदै आएको र अब पोखरा भन्ने बित्तिकै फेवातालको सहर नभई वेगनास ताल, रुपाताल, खास्ते, गोस्ते लगायत अन्य सहर तालहरुको सहर बनाउने बताएका छन् ।
‘पोखरा भन्ने बित्तिकै फेवाताललाई मात्र सम्झने गरिरहँदा वेगनास भने छायाँमा परिरहेको छ’, उनले भने, ‘लेकसाइड भनेको फेवाकिनार मात्र हो ? लेकसाइड भनेको तालको किनार हो ।
अब बेगनासलाई लेकसाइड २ को अवधारणा लिएर अघि बढ्नुपर्छ ।’ उनले अबको अवधारणा पोखरालाई बनाउने भन्दा पनि भएका प्राकृतिक सौन्दर्यलाई पहिचान गरि त्यसको प्रयोग गर्नेमा जोड दिने बताए ।
‘वेगनास भित्रपनि तालबराह मन्दिर छ । फेवातालमा ताल बराही छ । यहाँ बराह छ त्यहाँ बराही । यसको ऐतिहासिक तथ्यहरुलाई खोजेर गयौ भने फेवाको भन्दा वेगनासको पानी निकै राम्रो छ । पानीसँग सम्बन्धित विज्ञको सुझाव लिएर जाने योजना बनाएका छांै ’, उनले भने ।
उनले आफुहरुले जितेको अवस्थामा ३५ दिनभित्र पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न केन्द्र सरकारलाई पत्राचार गर्ने उल्लेख गरे ।





