बागलुङ/ नेपाली काँग्रेस बागलुङले जिल्लाका विभीन्न स्थानमा स्वतन्त्र तथा बागी उम्मेदवारी दिएका कार्यकर्तालाई दुई दिन भित्र आफ्नो उम्मेदवार फिर्ता लिई आधिकारी उम्मेदवारको पक्षमा उभिन आग्रह गरेको छ । नेपाली काँग्रेस बागलुङका पार्टी सभापति जीतबहादुर शेरचनले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै दुई दिन भित्र आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता गरेर पाँच दलीय गठबन्धनको आधिकारीक उम्मेदवारलाई सघाउन आग्रह गरेका हुन् ।
तोकिएको समय भित्र उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता स्वतन्त्र उम्मेदवारको प्रस्तावक, समर्थक र सहयोगी समेतको पार्टी सदस्य नेपाली काँग्रेसको विधान २०१७ संशोधन सहित धारा ४(१३) ग बमोजिम स्वतः समाप्त भई पार्टीबाट निस्कासित हुने विज्ञप्तीमा उल्लेख छ ।
रेश र सिगानामा चुनावी सभा
पाँच दलीय गठबन्धनको चुनावी सभा काठेखोला गाउँपालिका—७ रेशमा सम्पन्न भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको संयुक्त उम्मेदवारहरुको निर्वाचन प्रचार प्रसार अन्तर्गत रेशमा चुनावी सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार राजु थापाले रेशको विकासका लागि कृषि र पर्यटनमा ध्यान दिने बताए । ‘रेशमा कृषि र पर्यटनको अथाह सम्भवाना छ,’ उनले भने,‘हामी निर्वाचित भएर आएपछि रेशको विकासका लागि कृषि र पर्यटनलाई जोडेर विशेष कार्यक्रम ल्याउँछौं ।’
उनले पर्यटन क्षेत्रको विकासका लागि रेशका होमस्टेहरुको स्तरवृद्धि गर्ने समेत बताए । ‘यहाँ सञ्चालनमा रहेका होमस्टेहरुको स्तरवृद्धि गरेर आउने पाहुनालाई आवश्यकता अनुसारको सेवा उपलब्ध गराउने अवस्था सिर्जना गर्नेछौं,’ थापाले भने,‘यहाँ आउने पाहुनलाई यही उत्पादन हुने वस्तुहरुको स्वाद चखाउनका लागि कृषि क्षेत्रमा विशेष कार्यक्रम ल्याउनेछौं ।’ रेशमा सुरु भएको चिया खेतीलाई थप विस्तार गरी प्राविधिक सहयोग उपलब्ध गराउने उनले बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्षका उम्मेदवार तेजबहादुर पुन तिलकले शिक्षा स्वास्थ्य र समाजिक विकासका क्षेत्रमा आफुहरुले नीतिक रुपमै सुधार गरी अगाडि बढ्ने बताए । ‘सामुदायिक विद्यालयमा राज्यको ठूलो रकम खर्च भैरहेको छ,’ उनले भने,‘त्यसले अपेक्षा गरे अनुसारको प्रतिफल भने दिएको छैन । नीतिगत रुपमै सुधारको खाँचो छ । हामीले त्यो काम गछौं ।’ कार्यक्रममा वडाध्यक्ष उम्मेदवार मनबहादुर थापाले लामो समय एमालेले एकलौटी गरेको रेशमा जनताको समस्या समाधान हुन नसकेको बताए ।
‘गत निर्वाचनमा पनि एमालेले जितेको थियो, विगतमा पनि एमालेले जित्दै आएको ठाउँ हो,’ उनले भने,‘तर एमालेले जनताको पक्षमा काम गर्न सकेन । यहाँको समस्या जस्ताको त्यस्तै छ ।’ गाउँ ठाउँको समस्या समाधान गरेर समुन्नत रश निर्माणका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनले आग्रह गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसीले केपी ओलीको अकर्मण्यता र अराजकताका कारण देश दुर्घटनामा पुगेकाले त्यसलाई जोगाउन गठबन्धन निर्माण भएको बताए ।
‘केपीले जनता माथि घात गरेर दुई तिहाई बहुमत भएको संसद विघटन गरेर देशलाई प्रतिगमनतर्फ डो¥याए,’ उनले भने,‘देशभक्त र अग्रगमनकारी शक्तिहरुबीच समन्वय गरेर देश र संविधान जोगाउनका लागि हामीले पाँच दलीय गठबन्धन निर्माण गरेका हौं ।’ उनले स्थानीय निर्वाचनमा गठबन्धन उम्मेदवारलाई विजयी गराई प्रतिगमनका मतियारहरुलाई गतिलो सबक सिकाउनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य गण्डकी प्रदेश संसदीय दलका नेता पियारी थापा सुप्रभा, संविधान सभा सदस्य माओवादी नेतृ केशरी घर्ती, पूर्व सांसद टंकप्रसाद कँडेल, नेपाली काँग्रेस बागलुङकी सहसचिव ज्ञानुकुमारी श्रीस शर्मा, नेपाली काँग्रेस बागलुङका निवर्तमान सचिव चित्र कार्की, मिलन केसी, विशाल कार्की, लिलाराम विक लगायतले मन्तव्य राखेका थिए । गजेन्द्र कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रणबहादुर थापा र सञ्चालन गोविन्द कार्कीले गरेका थिए ।
पाँच दलीय गठबन्धनको चुनावी सभा बागलुङ नगरपालिका—८ सिगानामा सम्पन्न भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका साझा उम्मेदवारहरुको चुनावी सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गठबन्धनका मेयरका उम्मेदवार बसन्तकुमार श्रेष्ठले सिगानाको सुन्तलालाई ब्राण्डिङ गर्ने बताए । ‘सिगानाको सुन्तला बागलुङमा मात्रै हैन, देशमै पनि परिचित छ,’ उनले भने,‘यहाँको सुन्तलालाई ब्राण्डिङ गरेर देश विदेशमा विक्री हुने वाताबरण बनाउँछौं ।’
उनले सुन्तलाको उत्पादनमा वृद्धिसंगै कोल्ड स्टोरको व्यवस्थापन गरेर त्यसलाई बेमौसममा राम्रो मूल्यमा विक्री वितरण गर्ने वाताबरण सिर्जना गर्ने बताए । ‘सुन्तलाको उत्पादन राम्रो हुने भएकाले यहाँको सुन्तला खेती विस्तार गर्ने, त्यसका
लागि किसानलाई सहयोग र प्रोत्साहन गर्ने कार्यक्रम ल्याउँछौं,’ उनले भने,‘किसानले उत्पादन गरेको सुन्तलाले बजार नपाएर नोक्सानी व्यहोर्न नपरोस् भनेर स्टोर गरेर राख्नका लागि भण्डारण गृहको व्यवस्था मिलाउँछौं । त्यसले गर्दा राम्रो मूल्यमा सुन्तला विक्री हुने वाताबरण बन्न्नेछ ।’ उनले कृषि पर्यटन मार्फत बागलुङ नगरपालिकालाई समृद्ध बनाउने बताए ।
कार्यक्रममा नगर उपप्रमुखका उम्मेदवार राजु खड्काले शिक्षा स्वास्थ्य र सामाजिक आर्थिक विकासमा आफुहरुले काम गर्ने बताए । ‘शिक्षा स्वास्थ्यको क्षेत्रमा आमुल परिवर्तन गर्नुपर्ने अवस्था छ,’उनले भने,‘सामाजिक र आर्थिक विकास लागि मिहिन ढंगले अध्ययन गरेर कार्यक्रम तय नगर्ने हो भने नगरपालिका ऋणमा पर्ने देखिएको छ ।’ उनले भौतिक पूर्वाधारसंगै नागरिकको जीवनस्तर उकास्ने र स्वरोजगार मूलक कार्यक्रम सञ्चालनमा ल्याउने बताए । कार्यक्रममा बागलुङ नगरपालिका—८ सिगानाका गठबन्धनका वडाध्यक्ष उमम्मेदवार छमबहादुर कार्कीले सिगानाको समग्र विकासका लागि आफुहरुलाई मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य चम्पा खड्काले देशलाई अप्ठ्यारोबाट जोगाउन बनेको गठबन्धन प्रतिगमनको विरुद्ध भएको बताईन् । ‘देशमा प्रतिगमन र प्रतिक्रान्ति हुने अवस्था सिर्जना भएपछि गठबन्धन बनेको हो,’
उनले भनिन्,‘केपी ओलीले देशलाई भड्खालोमा हालेकाले त्यसको विरुद्धमा बनेको गठबन्धन स्थानीय निर्वाचनमा पनि संगै आएको छ ।’ कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बलावती शर्माले केपी ओलीको अहमका कारण संविधान र देश नै खतरामा पर्दा लोकतान्त्रिक गणतन्त्रको रक्षामा आफुहरु अगाडि बढेको बताईन् ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र खड्का लगायतले मन्तव्य राखेका थिए । छमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन टिकाराम थापाले गरेका थिए । गठबन्धनले कोरीखोला, बाँस्बोट, पोखरेडाँडामा चुनावी सभा एवं घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।





