बागलुङ/ सबै बामको गठबन्धन हुँदा देशको जस्तै बागलुङको पनि झण्डै दुई तिहाइ नजिकको मत पुग्छ । फरक फरक चुनावमा होमियो भने धेरै पालिकामा कांग्रेस बलियो छ ।
गत स्थानीय निर्वाचनमा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रपा मिल्दा बागलुङ नगरपालिकासहित जिल्लाका ६ पालिका गठबन्धनले जित्यो । ४ पालिकामा कांग्रेस नै अगाडि आयो । अहिलेको गठबन्धन फेरिएको छ । यो गठबन्धनले सबै क्षेत्रबाट एमाले हराउने लक्ष्य राखेको छ । तर, गठबन्धनभित्रैको असमझदारीले त्यो कति सम्भव होला बैसाख ३० गतेसम्म कुर्नुपर्ने हुन्छ ।
तर यो बेला सत्ता गठबन्धन र एमाले राप्रपा तालमेल दुवैलाई चुनौती थपिएको छ । गठबन्धन भएपनि अधिकांस स्थानमा निर्वाचन जित्ने दाउमा एमाले छ । भित्र चुनौती भएपनि बाहिर भने दलका नेताहरुले एमाले बलियो बन्दै गएकोले गठबन्धन चाहिएको टिप्पणी गरेका छन् । ‘एमाले दिनदिनै बलियो शक्ति बनेको छ, त्यसैले ५ दलीय गठबन्धन बनेको हो,’ एमालेका नेता कृष्ण पाठकले भने, ‘हामी धेरै बलियो छौं, हाम्रा धेरैभन्दा धेरै उम्मेदवारले जिन्छन् ।’
अघिल्लो निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुख, जैमिनी नगरको उपप्रमुख, काठेखोला र बडिगाड गाउँपालिकाको अध्यक्ष मात्रै जितेको एमालेले ढोरपाटन नगरपालिकामा भने नगरप्रमुख र उपप्रमुख जितेको थियो । अघिल्लो निर्वाचनका ७ पदबाट बढाएर देखाउने पाठकले बताए ।
उक्त निर्वाचनमा कांग्रेसले गलकोट नगरपालिका, तमानखोला र निसीखोला गाउँपालिका एकल जितेको थियो । बडिगाड गाउँपालिकामा उपाध्यक्ष, जैमिनी नगरपालिकामा प्रमुखसमेत गर्दा ८ पदमा कांग्रेसको पकड थियो । बरेङ गाउँपालिका राजमोको र ताराखोला गाउँपालिका माओवादीको पकडमा थियो । गठबन्धन गर्दा एकल रुपमा कुनैपनि दलले उमेदवार पाएका छैनन् । जसले जहाँ जितेपनि एकल पालिका बन्ने संभावना छैन ।
एमालेले पनि यो पटक एकल जितेको ढोरपाटनमा उपप्रमुख राजमोको विद्रोही समूहलाई बाँडेको छ । बागलुङ नगरमा यसअघि पनि राप्रपालाई उपप्रमुख दिएर निर्वाचन जितेको बिरासत फेरी थमाउन खोजेको छ ।
यसरी हेर्दा कांग्रेसलाई ८ पदबाट बढाउने चुनौती, एमालेलाई गठबन्धनको प्रतिष्पर्धा गर्नुपर्ने चुनौती छ । माओवादी र राजमोलाई गत निर्वाचनभन्दा एकदुई पद भएपनि बढाउनै पर्ने बाध्यता आइलागेको छ । गठबन्धनका कारण केही
फाइदा नभएमा ती दलहरुले कांग्रेससँग फेरी पनि सहकार्य गर्छन् वा गर्दैनन् भन्ने यकिन छैन । ‘कांग्रेससँग आम निर्वाचनमा होमिएको यो पहिलो गठबन्धन हो,’ राजमो अध्यक्ष अमर थापाले भने, ‘राजनीतिक इमान्दारिता देखाउन सके फेरी पनि सहकार्य हुन सक्छ ।’
कांग्रेस नेता दिपेन्द्रबहादुर थापाले अघिल्लो निर्वाचनमा भन्दा कांग्रेसको मत र पद सुधारिएर आउने बताए । उनले पद पाउने नपाउने मात्र बिषय नभई किन सत्ता गठबन्धन भएको हो भन्ने पनि जनताले बुझ्नुपर्ने बताउँछन् ।
‘हामी ५ वर्ष ढुक्कले प्रतिपक्षमा बसेका हौं, संघीय सरकारमा पनि जाने चाहना थिएन, तर परिस्थिति आएकोले बाध्यता भयो,’ थापाले भने, ‘संसद भंग गर्ने प्रवृत्तिविरुद्ध लडेकोले गठबन्धन बनेको हो ।’ यो गठबन्धन एकदुई पद तलमाथि भएर नजाने भन्दै उनले राष्ट्रिय राजनीतिक लाइनबाट कोही तलमाथी हुन नसक्ने बताए ।
गठबन्धनमा नेकपा एकीकृत समाजवादी पनि छ । एसको तमानखोलामा मात्रै उम्मेदवारी छ । अन्य स्थानमा वडा तहको उमेदवारीमा सीमित रहेको समाजवादीबाट कुनै खतरा नरहेको एमालेका नेताहरु बताउँछन् ।
तराई क्षेत्रमा जनता समाजवादी पार्टी भएपनि पहाडी क्षेत्रमा उसको पहुँच कम छ । त्यसैले कांग्रेस, माओवादी र राजमोलाई आफ्नो संगठन र मत बढाउने यो चुनौती र अवसर पनि हो । कतिपय स्थानमा अझै बागी उमेदवार कायम रहेकोले गठबन्धनमा फरक चुनौती छ ।
आफ्नो दलका उमेदवार हार्ने जित्ने जे भएपनि फरक दलको उमेदवार जित्नै पर्नेमा कतिपय नेताहरु सक्रिय छन् । ‘गठबन्धन गरेपछि आफ्नोले पनि जित्नुपर्छ, साझेदार दलको उमेदवार जिताउनै पर्छ’ ती नेताले भने, ‘एकल लड्दा प्रतिष्पर्धा हो, सहकार्य गरेपछि केही लिने, केही छाड्ने नै हो ।’
आसन्न निर्वाचनमा एमालेले बानपा, ढोरपाटन, बडिगाड र काठेखोलामा गठबन्धनलाई बढी टक्कर दिने आशंकाले सोही प्रकारको प्रचारसमेत भएको छ । गठबन्धनमा धोका नभए जैमिनी, गलकोट, ताराखोला, बरेङ, तमान र निसीमा कुनै समस्या नपर्ने एक नेताले बताए । प्रतिष्पर्धा भनिएका पालिकामा पनि गठबन्धनको सन्देश, एमालेका केन्द्रीय नेताको कारण कार्यकर्तामा आएको बितृष्णा यो पटक पोखिने नेकपा एसका नेता लालबहादुर थापाले बताए ।
एमाले अध्यक्ष हिराबहादुर केसीले भने यो पटक शुद्ध एमालेको मत संकलन गर्ने र अधिकांस पालिका जित्ने समेत बेला आएको दाबी गरे ।





