बागलुङ/ नेकपा एमाले र राप्रपाको संयुक्त गठबन्धनका तर्फबाट बागलुङ नगरपालिकाको प्रमुखका उमेद्वार जनकराज पौडेलले विदेशमा रहेको युवा जनशक्तिलाई स्वदेशमै काम गर्नसक्ने वातावरण बनाउने बताएका छन् ।
बागलुङ नगरपालिका–७ तितौरेमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले कृषि, पशुपालन र पर्यटनको विकास तथा पूर्वाधार निर्माणमा युवाहरुको परिचालनका कार्यक्रम आफ्नो प्राथमिकतामा रहने बताए ।
अहिलेको शिक्षा व्यवहारिक र प्रविधियुक्त नभएकै कारण उर्जाशिल जनशक्ति विदेशीनु परेको भन्दै पौडेलले अब आवासिय सामुदायीक विद्यालय निर्माण गरि प्रबिधियुक्त, प्राबिधिक र स्वोजगारमुलक शिक्षामा जोड दिईने बताए । पौडेलले नगरपालिकाले बजारका जनता र गाउँका जनतामा कुनै विभेद नगर्ने गरी काम गर्ने बताए ।
यस्तै, नगरउपप्रमुखका उम्मेदवार राप्रपाका युवा नेता सन्जय खड्का पाँच दलिय गठबन्धन राष्ट्रबादको बिरोधी भएको भन्दै राष्ट्रबादी शक्ति एक भएर जनताबीच आएको बताए । अहिलेको सरकारले जनताका जनजीविकाको सवालमा काम गर्न नसकेको भन्दै गठबन्धन सरकारले स्थानीय तहमा पठाएका उमेद्वारको पनि आगामी बाटो उस्तै रहेको बताए ।
यस्तै, वडा नम्बर ७ का वडा अध्यक्षका उम्मेदवार मेघनाथ गैरैले वडाको समग्र विकास र सेवा प्रवाहमा आफूले कुनै कसर नराख्ने बताए । कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले एमालेको पक्षमा आएको जनलहरलाई सम्बोधन गर्नेगरी नगरपालिकाले विकास गर्न जनकराज पौडेलको समूहलाई जिताउन आग्रह गरे ।
यस्तै, नेकपा एमालेका केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुख कृष्ण केसी पाँच दलीय गठबन्धन फरक फरक गोठबाट जम्मा गरेका गाईका बाच्छा भएको संज्ञा दिए । ‘पण्डितले दानमा ल्याएका फरक फरक गोठका गाईका बाच्छा दाम्लोमा हुने बेलासम्म चुपचाप बस्छन् तर दाम्लो फुकाउँदा आँ–आँफै लड्छन्, एउटै गोठमा बस्न सक्दैनन्’ केसीले भने ‘अहिले गठबन्धन पनि त्यस्तै हो, न बिचार मिल्छ, नत कार्यदिशा ।’
नेकपा एमाले गण्डकी प्रदेश सदस्य कुमार खड्का, एमाले बागलुङ नगरपालिकाका अध्यक्ष धन बहादुर परियार, राप्रपाका सुर्दशन पन्त लगायतले मन्तव्य राखे । कार्यक्रम एमाले बागलुङ नगर सचिव रामकृष्ण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । पालाको तितौरे, कालिमाटी लगायतको स्थानमा एमालेले घरदैलो समेत गरेको छ ।





