पोखरा/गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी जेठ २२ गते हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट र नारा सार्वजानिक गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा गण्डकी प्रदेशको सह–आयोजनामा हुने नवौं खेलकुदको नारा भने ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ रहेको छ ।
राखेप अध्यक्ष एवम् युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले लोगो, मस्कट र नारा एक कार्यक्रमबीच सार्वजनिक गरे । राखेपका बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले लोगो र मस्कट छनोट गरेको हो ।
छनोट भएको लोगो र मस्कट काठमाडौंको मैतीदेवी निवासी ६२ वर्षीय भोलानाथ पौड्यालले तयार पारेका हुन् । समितिका सदस्यमा प्राज्ञिक कलाकार रमेशनाथ खनाल, नोबेल एकेडेमी कला विभागका प्रमुख विपिनराज श्रेष्ठ र श्रृजना कलेज अफ फाइन आर्ट्सका प्रमुख प्रो. राधेश्याम मुल्मी तथा सदस्य–सचिवमा राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा रहेका छन् ।
लोगोमा माछापुच्छ्रे हिमाललाई रेखाकृतिमा राखिएको छ । आकाशे निलो रेखाले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बित गरेको छ भने, रातो रंगको ४ धर्साले परेवाको पखेटा र ट्रयाकलाई दर्शाएको छ ।
४ धर्साले साविकको प्रदेश ४ लाई पनि दर्शाएको पौड्यालले जानकारी दिए । चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिविम्वित गर्नुका साथै सबै टिमको प्रतिनिधित्व गरेको छ ।
मस्कटका रुपमा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको छ । सुयोग्यराज काफ्लेले तयार परोको ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा पारित भएको छ । लोगोलाई ५० हजार, मस्कटलाई २५ हजार र नारालाई १० हजार नगदबाट पुरस्कृत समेत गरिएको छ ।
नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुनेछ । विभिन्न ३६ खेलमा ३ विभागीय, सात प्रदेश र एनआरएनको सहभागिता रहनेछ ।
गण्डकी प्रदेशका हरेक जिल्लामा कम्तिमा पनि एक खेलको आयोजना हुनेछन् । जसका लागि प्रदेश सरकार तयारीमा जुटिरहेको छ ।





