पोखरा/ पोखरा महानगर २३ मा यतिबेला चुनावी रौनक चलिरहेको छ । विभिन्न पार्टी, स्वतन्त्र उम्मेदवारले घरदैलो तथा चुनावी सभा गरिरहेका छन् । तर, त्यहाँका वासिन्दाहरु आफ्नो वडाको बाटो कहिले कालोपत्रे हुन्छ भन्ने पखाईमा छन् ।
लोकमाया पराजुली । उमेरले नेटो काटिसक्यो सबै छाला चाउरी परिसके कपाल सबै फुलिसके । तर, अनुहारमा केही आशाका किरण लिएर बसेकी छिन्, ७० वर्षर्की उनै लोकमाया । पाँच वर्षअघि पोखरा महानगरको वडा भएकोमा उनी निकै मख्ख परिन् । उनको एउटै स्वार्थ थियो, कालोपत्रे सडक ।
५ वर्षपछि फर्केर हेर्दा लोकमायाले आफ्नो मत खेर गएको पाउँछिन् । जे आशा बोकेर मत हालेकी हुन त्यो आशा पुरा हुन् सकेन् । उनीजस्तै सेतै कपाल फुलाएर बसेकी छिन्, लिलादेवी पराजुली । उमेरले एकै रहेका उनीहरु अहिले फेरि एक पटक कालो बाटो देख्न पाइन्छ कि भन्ने आशामा बसिरहेका छन् र कुरिरहेका छन्, बैशाख ३० गतेलाई ।
पाँच वर्षअघि पोखरा महानगरपालिका बन्दै गर्दा ग्रामीण भेगहरु पनि समेटिए । उक्त भेग समेटिने क्रममा पर्यटकीय क्षेत्र फेवातालको शिरान क्षेत्र घट्टेछिना, वाम्दी, पामे, चापापानी लगायत स्थानपनि समेटिए । महानगर बनेको उक्त क्षेत्रमा अहिलेसम्म एक इन्चबाटो पनि पिच हुन सकेको छैन । जुन आशाले वडा बनाउन मत दिएर जनप्रतिनिधि बनाए उनीहरुले उक्त क्षेत्रलाई पिच बनाउन सकेनन् । वडा २३ वासीको एकै चाहाना छ, सडक बर्खामा हिलाम्मे नहोस्, हिउँदमा हिलाम्मे ।
‘मर्नुअघि घर अगाडिको बाटो पिच भएको देख्न मन छ । उमेर सकिनै लाग्यो पोखरामा (बजार) मामात्रै कालो पिच देखियो,’ स्थानीय लोकमाया भन्छिन्, ‘अझैपनि आस लागिरहेको छ र यो पालिपनि काम गर्ने व्यक्ति हेरेर मत दिनेछौं ।’
९ वर्षको उमेरमा उनको बिहे भएको थियो । उनको नातिनातिना पनि ठूला भइसके । उनीहरु बजारमै बस्छन् । तर, लोकमाया भने आसन्न निर्वाचनका लागि भोट माग्न आउने सबैलाई एकै कुरा भन्ने गर्छिन्, ‘अब तपाईंहरुले कालो बाटोमा हिडाउनुहुन्छ कि भन्ने लागेको छ ।’ त्यहाँ पुग्ने सबै उम्मेदवारले आश्वासन बाँड्न भने छोडेका छैनन् ।
‘कालोबाटो पोखरामा मात्र देखें । यहाँ भएको छैन । सारै मनमा दुःख लाग्छ । त्यो बेला पनि निकै सास्ती खेप्यौं । यो पाँच वर्षमा हुन्छ कि भन्ने लागेको थियो त्यो नि पूरा भएन,’ ठूलाखेत चापाकोटकी लिलादेवी भन्छिन्, ‘धुलो खाए पनि हिलो खाए पनि त्यही सडक हो बाचुञ्जेल कालो बाटो देख्न पाए पुग्थ्यो ।’
७० वर्षकी शोभा पौडेलले आफ्नो वडाको विकास भएको देख्न चाहन्छिन् । ‘मेरो बुढोले पाँच वर्षसम्म खपौंदीमा बसेर बाटो खनेको हो । अहिले उहाँको स्वर्गवास भइसक्यो तर, मेरो बुढाको सपना पूरा हुन सकिरहेको छैन,’ उनी भन्छिन्, ‘हामीलाई बाटाको सुविधा त अलिकति भएपनि भयो उमेर पनि भइसक्यो कतिनै बाचुम्ला ? यही धुलोको पीर हो ।’
उनीहरु कसैलाई पनि नकरात्मक तरिकाले हेरिरहेका छैनन् । जो आएपनि जिताउने तर्खरमा छन् । भौगोलिक रुपमा महानगरभित्र परे पनि त्यो ठाउँको सडक विकट गाउँको भन्दा पनि दुखदायी छ । वडा २३ अहिलेसम्म पिच सडक नपुगेको एक मात्र वडा हो । वडा २३ मा मात्र नभई पोखरा महानगरभित्र ६ सय ४१ किलोमिटर सडक अहिले पनि धुलाम्मे अवस्थामा छन् ।




