पोखरा / पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले गठबन्धन नेतृत्वको सरकारले अव्यवस्थित बसोबासले गाजिएको पोखरालाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
आइतबार पोखरा ९ को चुनावी सभा कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । रानाभाटले खासगरी पोखरा ९ मा अव्यवस्थित बसोबास गर्ने नागरिकलाई व्यवस्थित गराउने जिम्मेबारीका साथ गठबन्धन सरकार चुनावी मैदानमा उत्रिएको बताइन् ।
उनका अनुसार पोखरा ९ को विकास र समृद्धिका लागि गठबन्धनले चालेका कदम प्रभावकारी रहनेछ । पर्यटकीय विकासको थुप्रै सम्भावना बोकेको पोखरामा कृषि, रोजगार, शिक्षाको क्षेत्रमा उल्लेखनिय काम गर्न सकिने भनाई उनको छ ।
‘कृषि क्षेत्रमा टेवा पुग्ने गरी किसानमैत्री कानून निर्माण गरी सरल सेवा प्रवाह गरिनेछ। सामुदायिक विद्यालयमा शिक्षा निशुल्क गरिनेछ । स्वस्थ खानेपानी उपलब्ध गराउनेछौं ।
सरकारी अस्पताल, नीजि अस्पतालमा गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनेछौं’, रानाभाटले भनिन् । पोखरा ९ को बसपार्क क्षेत्रलाई केवल भोट बैंकको रुपमा प्रयोग नगरी नागरिकको इक्षानुसारको काम गर्ने प्रणका साथ आफुहरु निर्वाचनमा होमिएको उनले बताइन् ।
नेपाली काँग्रेसले जितेको वडा भएता पनि काम गर्न खोजिएको तर महानगरमा एमाले नेतृत्वको सरकारले काम गर्न नदिएको आरोप उनको छ । वडाको नेतृत्व एउटा पार्टीको महानगरको नेतृत्व अर्को पार्टीको हुँदा विकासको आयोजनाहरु ल्याउन गाह्रो हुने उनले बताइन् ।
वडा र महानगरको तालमेल मिले मात्र वडाको विकास सम्भव हुने भनाई उनको छ । निर्वाचनमा आमादिदीबहिनीहरुको भूमिका ठूलो भएता पनि पछि महिलाको हकहितका अधिकारका कुरा नसमेटिएको उनले बताइन् ।
उनले भनिन्, “६ महिना सम्मका सुत्केरीहरुलाई मासिक दुई हजार सुत्केरी भत्ता दिलाउने प्रतिबद्धता हाम्रो हो । दुई वर्षसम्मका बालबालिकालाई पोषण भत्ता उपलब्ध गराउँछौ ।
प्रत्येक आमासमूह जसले आयआर्जनका लागि आफ्नो समूहलाई अगाडि बढाउन चाहेको छ त्यस्तालाई कम्तिमा विना धितो विना ब्याज ब्यु पुँजी १० लाख दिने योजना गठबन्धनको छ ।”
राजनीतिको धान पाक्न पाँच दिन बाँकी रहेको यसलाई नष्ट गर्न बाँदरहरु सल्बलाउन सक्ने भएकाले सुरक्षित बस्न मतदातालाई उनको आग्रह छ । उनले भनिन्, “राजनीतिको धान पाक्न पाँच दिन बाँकी छ । जनावरहरु आउन सक्छन् ।
उनीहरु आएर खेती नष्ट गर्लान् । तपाईहरु सतर्क हुनुहोस् । पाँच दिन तपाई नसुत्नुहोस्, हामीलाई अनुमोदन गर्नुहोस्, आगामी पाँच वर्ष हामी सुत्दैनौं । पोखरा महानगरपालिकाको नेतृत्व गर्दैगर्दा पाँच वर्ष विकासको काममा लाग्ने प्रतिबद्धता व्यत्त गर्दछौं ।”, उनले भनिन् ।
चुनावमा मत माग्दा एउटा पार्टीको भएर मागेता पनि जनप्रतिनिधि भएर गइसेपछि सबैको साझा भइने र त्यसैअनुरुप काम गर्ने उनले बताइन् । महानगरमा देखिएको भ्रष्टचारको जालोलाई फुकाउने र भनसुनका आधारमा महानगर नचलाउने भनाई उनको छ ।





