पोखरा/ पोखरा महानगरपालिकाको मत गणना ४ दिनमा १९.६६ प्रतिशत मात्रै सकिएको छ । १ लाख ४३ हजार ३ सय २६ मत खसेकोमा अहिलेसम्म २८ हजार १ सय ६० मतमात्रै गणना भएको छ ।
पोखराको मेयरमा धनराज आचार्यको अग्रता भने कायमै रहेको छ । गठबन्धनबाट मेयरमा उठेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ११ हजार ८ सय १२ मत ल्याउँदा एमालेका कृष्ण थापाले १० हजार ६२ मत मात्रै ल्याए । राप्रपाका शंकर खराल १ हजार २ सय ७१ मत प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ६ सय ६९ मत प्राप्त गरिन् ।
उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी कोपिला रानाभाटले १२ हजार १ सय ३० मत प्राप्त गर्दा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ११ हजार ४ सय ८३ मत प्राप्त गरिन् । राप्रपाकी रञ्जना सेनले १ हजार ६९ मत प्राप्त गरिन् ।
पोखरामा यतिबेला निर्वाचनको रौनक भने देखिएको छैन् । यस अघिका निर्वाचनहरुमा निकै उत्साहजनक सहभागि हुनेगरेपनि अहिलेको अवस्था भने निकै सुनसान छ । गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज भएकाले पनि कांग्रेस कार्यकताहरुको सहभागिता भने देखिएको छैन् । अर्कोतर्फ नेकपा एमालेको उम्मेदवार सुरुवात देखि नै पछि परेकाले एमाले कार्यकर्ताको पनि सहभागिता रहेको छैन । गठबन्ध भएकै कारण अधिकांश कांग्रेसी कार्यकर्ता नदेखिएको अनुमान छ ।
पोखराको मत गणना ढिला भएपछि अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले गणना स्थल समेत वृद्धि गरेको छ । सुरुवातमा ३ स्थानमा गणना गरेपनि अहिले भने ८ ठाउँको १२ खालबाट मत गणना भइरहेको छ ।
अहिले वडा नम्बर ५,६,७,१३,२०, २४,२५ र २६ को मत गणना भइरहेको छ । हालसम्म वडा १,२, ३,४,१२ र २३ को मतगणना सकिएको छ । जसमा वडा १ मा एमाले विजयी भएको छ भने अन्य वडामा गठबन्धन विजयी भएको छ ।





