पोखरा/ पोखरा महानगरपालिकामा ६ दिनमा ३८.५८ प्रतिशतमात्रै मत गणना भएको छ । कुल २ लाख ७ हजार ७ सय १२ मत रहेको पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
बैशाख ३० गते मतदान भएको पोखरामा जेठ १ गतेदेखी मतगणना सुरु भएको थियो । मतगणना कार्य निकै ढिला भएको पोखरामा पछिल्लो समय केहि गणना स्थल र खाल बढाएपनि विभिन्न विवादका कारण बारम्बार मत गणना प्रभावित बनिरहेको छ ।
यो समाचार तयार पार्दासम्म पोखरामा ५५ हजार २ सय ६७ मत गणना भएको थियो । उक्त मतमा मेयरमा ४७ हजार ४ सय १९ मत खसेको छ । जसमा पाँच दलिय गठबन्धनकै अन्य चिन्हमा १ सय ४१ मत परेको छ । जुन मत बदर हुनेछन् । २ मत भने उम्मेदवार नै नभएको चिन्हमा खसेको छ । उक्त संख्यालाई समेत हेर्दा मेयरमा १ सय ४३ मत बदर देखिन्छ । २३ जना मेयर उम्मेदवार पदमा ४७ हजार २ सय ७६ मत परेको छ । हालसम्म गणना भएको मतमध्ये ८
हजार १ सय ३४ मत मेयरको कुनैपनि चिन्हमा नपरेको देखिएको छ । जस अनुसार मेयर पदमा १४.७१ प्रतिशत मत वा नपरेको देखिएको छ ।
यस्तै उपमेयरमा कुल ४८ हजार ७ सय १ मत खसेको छ । जसमा पाँच दलिय गठबन्धनकै अन्य चिन्हमा १ सय २८ मत पर्दा उम्मेदवार नै नभएको चुनाव चिन्हमा ७६ मत परेको छ जुन मत बदर हुनेछन् । उक्त संख्यालाई समेत हेर्दा उप मेयरमा २ सय ४ मत बदर देखिन्छ । ८ जना उप मेयर उम्मेदवार रहेको चुनाव चिन्हमा कुल ४८ हजार ४ सय ९७ मत परेको छ । हालसम्म गणना भएको मतमध्ये ६ हजार ७ सय ७० मत बदर वा अपुग भएको देखिन्छ । उक्त मत उपमेयरको कुनैपनि चिन्हमा परेको छैन् । जसलाई हेर्दा उपमेयर पदमा १२.२४ प्रतिशत मत परेको देखिदैँन् ।
५५ हजार २ सय ६७ मत गणना हुँदा गठबन्धन अघि देखिएको छ । गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका धनराज आचार्यको २२ हजार ८ सय ५२ मत रहेको छ भने नेकपा एमालेका कृष्ण थापाको २० हजार १ सय ३२ मत रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालको २ हजार ३ सय ४, विवेकशिल साझाकी शुसिला केसीको १ सय ७०, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरुङको १ सय ३५, अमुल परिवर्तन मसिहा पार्टी नेपालकी मुना बानियाँको ६५, मौलिक जरोकिलो पार्टीका संजय तिमिल्सिनाको २६ मत रहेको छ ।
यस्तै नेपाली जनता दलका मुक्तिनाथ सुवेदीको ४२,सचेत नेपाली पार्टीका भोजराज खनालको १७, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका अनिल कुमार राईको १४, उन्नत लोकतन्त्र पार्टीका आशिष थापाको ३९, जनमत पार्टीका शरण सिंह मोक्तानको १८, नेकपा समाजवदीका गोविन्दप्रसाद शर्माको ६, नेकपा माओवादी समाजवादीका भोजराज त्रिपाठीको ७, राष्ट्रिय नागरिक पार्टीकी सृर्जना देवी रिजालले ४, देशभक्त समाज पार्टीका रनबहादुर दमैको २ मत रहेको छ ।
स्वतन्त्र उम्मेदवार गणेश पौडेलले १ हजार ३ सय १२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार किसान सिंह गुरुङको ५१, सुनिल बहादुर कोइरालाको १९, नवराज बास्तोलाको २१, रामराज अधिकारीको ३२, दिलबहादुर गुरुङको ५, विमल बहादुर
कार्कीको ३ मत रहेको छ ।
उपमेयर
उपमेयरमा गठबन्धनी कोपिला रानाभाटको २३ हजार १ सय ६४ मत आउँदा एमालेकी मञ्जुदेवी गुरुङले २३ हजार २१ मत प्राप्त गरिन् । यस्तै राप्रपाकी रञ्जना सेन (रन्जु) ले २ हजार ९९ मत ल्याइन् । विवेकशिल साझाका माधव भण्डारीले १ सय ५, आमुल परिवर्तन मसिहा पार्टी नेपालका पदम बहादुर गुरुङले ६१, सचेत नेपाली पार्टीकी सोनी परियारले २२, नेकपा समाजवादीकी शितला थापाले ९ मत प्राप्त गर्दा उपमेयरमा एक मात्र स्वतन्त्र उम्मेदवार रहेकी सोममाया वि.कले १६ मत प्राप्त गरिन् ।





