पोखरा/पोखरा महानगरपालिकामा अघिल्लो निर्वाचनमा नेकपा एमालेले २२ वडा जितेको थियो भने कांग्रेसले ११ वडा जितेको थियो ।
३३ वडा रहेको पोखरा महानगरपालिकामा एमाले नेताहरुकै वडामा गठबन्धन हाबी भएको छ । महानगरपालिकाको एमाले तर्फबाट उम्मेदवारी दिएका कृष्ण थापाकै वडामा कांग्रेसका अमृत शर्मा तिमिल्सिना विजयी भएका छन् ।
उनले १ सय ४८ मतले एमालेका राजेश गुरुङलाई हराए । अमृतले ३ हजार ३ सय १८ मत ल्याउँदा एमालेका राजेशले ३ हजार १ सय ७० मत प्राप्त गरे । वडा १६ महानगर कमिटिका सचिव जिवन आचार्यको पनि वडा हो ।
यस्तै पोखरा महानगर कमिटि अध्यक्ष दिलिप न्यौपानेको वडामा पनि कांग्रेसले नै जित हासिल गरेको छ । कांग्रेसका दुर्गा प्रसाद सुवेदीले २ सय १० मतान्तरले एमालेका सोमनाथ बास्तोलालाई हराए ।
दुर्गाले २ हजार ३ सय ५९ मत ल्याउँदा सोमनाथले २ हजार १ सय ४९ मत प्राप्त गरे । जिल्ला उपाध्यक्ष तेज नारायण अधिकारीको वडा ७ मा समेत एमालेले हार व्यहोरेको छ ।
कांग्रेसका राममोहन आचार्यले ९९ मतले किशोर बराललाई हराए । राममोहनले १ हजार ३ सय ८३ मत ल्याउँदा किशोरले १ हजार २ सय ८४ मत ल्याए ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको वडामा समेत एमाले हार व्यहोरेको छ । २०७४ सालमा लोकप्रिय मत ल्याएका जिसीकै वडामा कांग्रेसले हवला बोलेको छ । कांग्रेसका श्रीकृष्ण लामिछानेले १ सय ७९ मतले बैनबहादुर गुरुङलाई हराए ।
लामिछानेले १ हजार ६ सय ८५ मत ल्याउँदा गुरुङले १ हजार ५ सय ६ मत ल्याए । यतिमात्र होइन एमाले जिल्ला अध्यक्ष मनबहादुर गुरुङकै वडा मादी गाउँपालिका १ मा समेत एमालेले हार व्यहोरेको छ । मादीमा कांग्रेसका देवीजंग गुरुङ विजयी भए ।





