नेकपा एमाले स्थायी कमिटि सदस्य एवम् पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीको वडा समेत एमालेले गुमाएको छ ।
पोखरा महानगरपालिका ३१ मा कांग्रेसका ढकनाथ कंडेल विजयी भए । उनले एमालेका चिरञ्जिवी बन्जरालाई हराएका हुन् ।
पोखरामा एमालेका अधिकांश नेताहरुको वडा एमालेले गुमाउनु परेको छ । कंडेलले १ हजार ८ सय ९८ मत ल्याए । एमालेका बन्जराले १ हजार ७ सय ३७ मत प्राप्त गरे ।
महिला वडा सदस्यमा एमालेकी धनदेवी तिवारी, दलित महिला सदस्यमा तारा नेपाली, खुल्ला सदस्यमा देवेन्द्र राज अधिकारी र विनोदमणी लामिछाने चयन भएका छन् ।
३३ वडा रहेको पोखरा महानगरपालिकामा एमाले नेताहरुकै वडामा गठबन्धन हाबी भएको छ । महानगरपालिकाको एमाले तर्फबाट उम्मेदवारी दिएका कृष्ण थापाकै वडामा कांग्रेसका अमृत शर्मा तिमिल्सिना विजयी भएका छन् ।
उनले १ सय ४८ मतले एमालेका राजेश गुरुङलाई हराए । अमृतले ३ हजार ३ सय १८ मत ल्याउँदा एमालेका राजेशले ३ हजार १ सय ७० मत प्राप्त गरे । वडा १६ महानगर कमिटिका सचिव जिवन आचार्यको पनि वडा हो ।
यस्तै पोखरा महानगर कमिटि अध्यक्ष दिलिप न्यौपानेको वडा ३० मा पनि कांग्रेसले नै जित हासिल गरेको छ । कांग्रेसका दुर्गा प्रसाद सुवेदीले २ सय १० मतान्तरले एमालेका सोमनाथ बास्तोलालाई हराए ।
दुर्गाले २ हजार ३ सय ५९ मत ल्याउँदा सोमनाथले २ हजार १ सय ४९ मत प्राप्त गरे । जिल्ला उपाध्यक्ष तेज नारायण अधिकारीको वडा ७ मा समेत एमालेले हार व्यहोरेको छ ।
कांग्रेसका राममोहन आचार्यले ९९ मतले किशोर बराललाई हराए । राममोहनले १ हजार ३ सय ८३ मत ल्याउँदा किशोरले १ हजार २ सय ८४ मत ल्याए ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको वडामा समेत एमाले हार व्यहोरेको छ । २०७४ सालमा लोकप्रिय मत ल्याएका जिसीकै वडा २८ मा कांग्रेसले हवला बोलेको छ । कांग्रेसका श्रीकृष्ण लामिछानेले १ सय ७९ मतले बैनबहादुर गुरुङलाई हराए । लामिछानेले १ हजार ६ सय ८५ मत ल्याउँदा गुरुङले १ हजार ५ सय ६ मत ल्याए ।
यतिमात्र होइन एमाले जिल्ला अध्यक्ष मनबहादुर गुरुङकै वडा मादी गाउँपालिका १ मा समेत एमालेले हार व्यहोरेको छ । मादीमा कांग्रेसका देवीजंग गुरुङ विजयी भए ।





