पोखरा/भुगोलमा नेपालकै ठुलो पोखरा महानगरको मेयरमा नेकपा एकिकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्य निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मत परिणाम सार्वजनिक गर्दै धनराज मेयरमा निर्वाचित भएको घोषणा गरेको हो ।
बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा पोखरा महानगरमा २ लाख ७ हजार मतदता रहेकोमा १ लाख ४३ हजार २२६ मत खसेको थियो । जसमा धनराजले ५८ हजार ८९३ मत पाएर पोखराको १५ औं मेयर निर्वाचित भएका हुन् ।
उनका प्रतिश्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ५२ हजार ८४८ मत पाएका थिए । कृष्णले भन्दा मेयर निर्वाचित धनराजले ६ हजार ४५ मत बढी पाएका थिए । धनराजलाई सत्तारुढ पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजावदी, जनता समाजवादी र जनमोर्चाको समर्थन रहेको थियो ।
सत्ता गठबन्धनबाट मेयर जिते पनि उपमेयरमा भने लोकप्रिय मतका साथ एमाले उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी छिन् । पोखराका निवर्तमान मेयर रहेकी मञ्जुले सबैभन्दा धेरै ६० हजार ५४६ मत पाएर विजयी भएकी हुन् । उनका प्रतिश्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ५६ हजार ६६३ मत पाइन् । कोपिलाले भन्दा मञ्जुले ३ हजार ८८३ बढी पाएकी थिइन् ।
२०७४ को निर्वाचनमा मेयर, उपमेयरसहित २२ वटा वडाअध्यक्ष एमालेले जितेको थियो । ३३ वटा वडा रहेको पोखरा महानगरमा यसपटक एमालेबाटै फुटेर बनेको नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य धनराजले मेयर जितेका हुन् । पोखराका अधिकांश वडाका अध्यक्ष पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले जित्न सफल भएको छ ।
पोखराको चित्र बनाउन नवनिर्वाचित मेयरको आह्वान
पोखराका नवनिर्वाचित मेयर धनराजले पोखरा भन्ने व्यत्तिकै संझने चित्र कोर्न प्रतियोगिता आवह्वान गर्ने भएका छन् । मेयर निर्वाचित भएको घोषणा पश्चात आचार्यले पोखरा के हो भनेर संझने चित्र बनाउन प्रस्ताव आह्वान गर्ने बताए ।
‘पोखरा भनेपछि फेवाताल, माछापुच्छ«े, संपदा भन्न सकिन्छ होला,’ उनले भने, ‘पोखरा के हो एउटा चित्र बनाउन प्रस्ताव आह्वान गर्छु, उहाँहरुका सिर्जना पार्क, कार्यालय लगायतका ठाउँमा सजाउँछौ ।’
प्रतियोगितामा पहिलो हुनेलाई २ लाख, दोस्रो र तेस्रोलाई पनि नगदसहित पुरस्कार दिने बताए । उनले पोखरा महानगरमा जन्मिएका बच्चाका जन्मदर्ता निशुल्क गर्ने घोषणा पनि गरेका छन् ।
पोखरा संसारकै पर्यटकका गन्तव्य शहर भएको भन्दै उनले पर्यटनको राजधानी घोषणा गर्न औपचारिक निर्णय गरेर अघि बढ्ने बताए । पोखरालाई बगैचाको शहर बनाउने भन्दै शुरुवातमा जिरोकिलोमिटरदेखि लेकसाइडको हलनचोकसम्म फुल रोपण थाल्ने बताए । पोखराका ट्राफिक व्यवस्थापन गर्ने भन्दै उनले पार्किङका समस्या पनि समाधान गने बताए ।





