बागलुङ/जिल्ला समन्व्य समिति बागलुङको निर्वाचन कार्यतालिक सार्वजनीक भएको छ । कार्यतालिका अनुसार जेठ ३१ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार जिल्ला समन्वय समितिको लागि मतदान जेठ ३१ गतेका लागि तोकिएको छ ।
जेठ २४ गते एकै दिन मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधन मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ । २५ गते मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने रहेको छ । २६ गते उमेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएका उमेदवारको सूची प्रकाशन गर्ने रहेको छ । जेठ २७ गते उमेदवारको विरोधमा उजुरी दिने, २८ गते मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उमेदवारको नामावली प्रकाशन गर्ने रहेको छ । २९ गते उमेदवारको नाम फिर्ता लिने, उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने रहेको छ ।
निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै जिल्ला समन्वय समितिको नेतृत्वको बिषयमा चर्चा सुरु भएको छ । बागलुङमा ११ वटा प्रमुख/तथा उपप्रमुख जितेको नेपाली कांग्रेस जिल्ला समन्वय समितिका लागि एकल बहुमत भएको पार्टी हो । दोस्रोमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले समान ४/४ सिट जितेका छन् । नेकपा एमालेले भने एक सिट मात्रै जितेकाले उसको मतभार एक मात्रै हो । जिससका लागि दश स्थानीय तह रहेको बागलुङमा २० मत छ ।
बहुमत रहेको पार्टी नेपाली कांग्रेस भएपनि यहाँ जिल्ला समन्वय समितिको नेतृत्व भने राष्ट्रिय जनमोर्चाले पाउने चर्चा छ । पालिका प्रमुख/उपप्रमुख एक सिटसमेत नजितेको एकीकृत समाजवादीले जिल्ला समन्वय समितिको उपप्रमुख पाउने छ ।
‘पहिले भएको सहमतिको आधारमा राजमोलाई प्रमुख र एसलाई उपप्रमुख दिने निर्णय भएको छ’, जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका राजमो नेता राजेन्द्र ढुंगानाले भने ‘बाँकी ७ जना सदस्यको बिषयमा दलहरुबिच छलफल हुने छ ।’ तर नेपाली कांग्रेसका एक तहका नेताले भने एकल बहुमत भएका बेला सहमति तोडेरै भएपनि जिल्ला समन्वय समितिको प्रमुख आँफैले लिनुपर्ने धारणा राख्दै आएका छन् ।
जिल्ला समन्वय समितिको पदाधिकारी वा सदस्य हुनका लागि पालिका वा वडा तहमा निर्वाचन जितेको हुनुपर्ने व्यवस्था छ । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमरबहादुर थापा काठेखोला गाउँपालिकाको वडा सदस्यमा निर्वाचित भएकाले उनीनै सम्भवत जिल्ला समन्वय समितिको संयोजक बन्ने छन् ।
स्थानीय तह निर्वाचन–२०७९ को कार्यबिधि अनुसार पालिकामा निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको बढीमा १५ दिनभित्र कार्यपालिका सदस्यको लागि निर्वाचन गर्नुपर्ने व्यवस्था छभने जिससमा एक महिना भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
बागलुङमा पहिलो पदभार ग्रहण जेठ ५ गते भएकाले आउँदो असार ५ गतेभित्रै जिल्ला समन्वय समितिको नेतृत्व चयन हुनुपर्ने थियो । यसअघि २०७४ साल साउन १९ गते जिल्ला समन्वय समितिको निर्वाचन भएको थियो । नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनले त्यतिबेला जिल्ला समन्वय समितिको नेतृत्व गरेको थियो भने यसपटक एमाले जिससबाट समेत बाहिरीने छ ।





