स्याङ्जा/ मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको निर्वाचनको तयारी गरेको छ ।
गत शनिबार सातौ जिल्ला सभाले ३० गते समन्वय समितिको निर्वाचनको सहमती गरेपनि निर्वाचन अधिकृतको कार्यालयले यही जेठ ३१ गते निर्वाचन गर्ने गरी तयारी अगाडी बढाएको मुख्य निर्वाचन अधिकृत बसन्त राज पौडेलले बताए ।
यहाँ प्रमुख/उपप्रमुख, एक अल्पसंख्यक, तीन महिला सहित नौ सदस्यि जिल्ला समन्वय समिति बन्नेछ ।
पाचँ नगरपालिका र छ गाउँपालिका गरी ११ पालिका रहेको स्याङ्जामा २२ मतदाता रहेकोमा नेपाली काग्रेस र नेकपा एमालेका बराबर ११÷११ मतदाता रहेका छन् । गत वैशाख ३० गते भएको स्थायिन तह निर्वाचनमा चार नगरपालिका प्रमुख÷उपप्रमुख र एक गाउँ पालिकामा अध्यक्ष÷उपाध्यक्ष तथा एक नगरपालिकामा उप प्रमुख नेपाली काग्रेसले जित्दा नेकपा एमालेले एक नगर प्रमुखसहित पाँच गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष जितेको थियो । नेकपा माओवादी केन्द्र भने एक वडामा चित्त बुझाएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयले जेठ २६ गते मतदाता नामावली प्रकाशन, २७ छुट नाम समावेश, मतदाताको संयोधित नामावली प्रकाशन, मतदाताको विरोधमा उजुरी, २८ गते उजुरी उपर जाचँबुझ, मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तालिका निकालेको छ ।
यस्तै जेठ २९ गते उम्मेदवारी दर्ता, उम्मेदवारको सुचि प्रकाशन, उम्मेदवारको बिरोधमा उजुरी, जाचँ तथा उजुरी उपर निर्णय, उम्मेदवारको नामावली प्रकाशन, ३० गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनाब चिन्ह प्रदान, ३१ गते मतदान र मतगणनाको तालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छ । निर्वाचनमा काग्रेस र एमालेको बराबर मतदाता रहेकाले यदि बराबर मत आएमा बराबर भएका सबै पदमा गोला प्रथाद्धारा निर्णय हुने निर्वाचन अधिकृत पौडेलले बताए ।





