शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

धार्मिक वन समुदायलाई हस्तान्तरण

धार्मिक वन समुदायलाई हस्तान्तरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०७९, मंगलबार

म्याग्दी/ जिल्लाको मंगला गाउँपालिका अर्मनको पीपलबोटमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको छ । सार्वजनिक जग्गाको संरक्षण र वन विकासमार्फत पर्यटन विकास गर्ने उद्देश्यले पीपलबोटको कैलाशफाँटमा धार्मिक वन स्थापना गरिएको हो ।

१ दशमलब ०६५ हेक्टर क्षेत्रफलमा फैलिएको वन आइतबार समुदायलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय, म्याग्दीले जनाएको छ । कार्यालय प्रमुख मनोज रानाभाटले विश्व वातावरण दिवसको अवसरमा औपचारिक रुपमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

‘नापचाँज, क्षेत्रफल पहिचान, विधान, कार्ययोजना र समूह दर्तालगायत सबै प्रक्रिया पूरा गरेर हस्तान्तरण गरेका हौ’, रानाभाटले भने, ‘वन विकास, जैविक विविधता र वातावरण संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले धार्मिक वन बनाएका हौ ।’

प्राचीन कालमा ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको कैलाशफाँटमा शिव मन्दिर रहेको छ । म्याग्दी नदी किनारको शिव मन्दिर परिसरको बगर र सार्वजनिक जग्गा संरक्षण गरेर वृक्षरोपण गरेर वन बनाइएको समूहका अध्यक्ष छविलाल कँडेलले बताए ।

वातावरण दिवसको अवसरमा वनमा १ सय ८ पीपलका बिरुवा रोपिएको छ । घेराबार र संरक्षणका लागि डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा तीन लाख सहयोग गरेको छ । एकै ठाउँमा १ सय ८ वटा पीपलको बिरुवा भएको ठाउँमा पूजाआजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।

यसअघि स्थानीयवासी १ सय ८ पीपलको पूजा गर्न बागलुङको बलेवा पुग्ने गरेका थिए । यसअघि बेनी नगरपालिका भकिम्लीमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको थियो । म्याग्दीमा ३ सय १८ सामुदायिक वन उपभोक्तालाई हस्तान्तरण गरिएको सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->