पोखरा/ पर्यटकीय नगरी पोखराको सबैभन्दा अव्यवस्थित क्षेत्र भनेको पृथ्वीचोकको बसपार्क क्षेत्र हो । पोखरालाई पर्यटकीय राजधानी, सुन्दर सफा पोखरा भनिरहँदा पोखरा बसपार्कले भने त्यो भनाइलाई सत्य बनाउँदैन् । पूर्वदेखि पश्चिमसम्मका सबै क्षेत्रबाट आउने मुख्य क्षेत्र भनेकै बसपार्क हो । पोखराको सबैभन्दा धूलो र हिलो हुने क्षेत्र नै त्यहि हो । ५ दशक लामो समयदेखि आम पोखरेलीका साथै पोखरा आउने पर्यटकले समेत त्यही धूलो खान बाध्य भएका छन् ।
पाँच दशकदेखि हरेक राजनीतिक दलको चुनावी एजेन्डा बन्दै आइरहेको उक्त बसपार्क अतिक्रमणको चपेटामा परेको छ । प्रत्येक पटकको निर्वाचनमा त्यहाँका सुकुम्बासीलाई जग्गा दिने भन्दै भोट मागे पनि अहिलेसम्म कसैले काम भने गर्न सकेका छैनन् ।स्थानीय तहको निर्वाचन सकिएसँगै पोखराले नयाँ अनुहारलाई मेयरको रुपमा पाएका छन् । तर, बसपार्क अतिक्रमणको चपेटामा परेर आधाभन्दा बढी साँघुरो भइसकेको छ । अतिक्रमण गरेर संचरना बनाउनेमा मुख्य राजनीतिक दलकै भातृसंगठन समेत छन् । २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले बसपार्क बनाउन २ सय ५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । तर बसपार्ककै बीच भागमा पृथ्वी राजमार्ग पर्ने भएकाले १ सय ८७ रोपनी जग्गा बसपार्कका नाममा छुट्टिइयो ।
अधिग्रहण गरिएको अर्को वर्ष ०३३ सालमा बसपार्क क्षेत्रको ४ किल्ला छुट्याएरै राजपत्रमा प्रकाशन भयो । जग्गा अधिग्रहण गरिए पनि मुआब्जा विवाद कायम रहेकाले तत्कालीन जग्गाधनीहरुले अदालतमा मुद्दा दायर गरेका थिए । ०५२ सालमा सर्वोच्च अदालतले जग्गाधनीलाई सहमति बमोजिम क्षतिपूर्ति दिन आदेश जारी ग¥यो । तर, बसपार्क निर्माण अगाडि बढ्नै सकेन उल्टै पोखरा विमानस्थल बनाउँदा त्यहाँ रहेकालाई बसपार्कको जग्गामा ल्याइयो । १५ वर्षका लागि बसपार्कको जग्गामा व्यापार गर्ने सहमति भएपनि अझै त्यही व्यापार गरिरहेका छन् ।
निवर्तमान मेयर मानबहादुर जिसीले पनि बसपार्क सुधार्ने भन्दै वडा नं ९ का तत्कालीन वडाध्यक्ष रामराज लामिछानेको नेतृत्वमा २०७५ फागुन १० गते ४ सदस्यीय छानविन समिति गठन समेत गरेका थिए । २०७६ वैशाख ६ गते बसेको महानगरको कार्यपालिका वैठकमा छानविन समितिले अवैध बसोबासले करिब ४० रोपनी जग्गामात्रै बाँकी रहेको प्रतिवेदन सार्वजानिक गरेका थिए । प्रतिवेदनले अहिले त्यहाँ २ सय ७६ परिवार बसोबास गरिरहेको बताएको छ ।
लगत्तै जिसीले अवैध रुपमा बसोबास गरिरहेकाहरु वास्तविक सुकुम्बासी हुन् या होइनन् भनि पुनः छानबिन गरेर नतिजा निकाल्ने बताएका थिए ।
‘हाम्रो पहिलो प्राथमिकता भनेकै बसपार्क व्यवस्थित बनाउनु हो । यसमा कुनै हेलचेक्र्याइँ हुँदैन । बसपार्क क्षेत्रमा जग्गाधनी भएकालाई उचित क्षतिपूर्ति दिइन्छ । बाँकीलाई अन्यत्र व्यवस्थापन गरिन्छ,’ तत्कालीन मेयर जिसीले भनेका थिए, ‘बसपार्क बनाउन बजेट अभाव छैन । मेरै कार्यकालमा सुरु हुन्छ ।’ तर, जिसीले त्यो काम पूरा गर्नै सकेनन् ।
वर्तमान मेयर धनराज आचार्यले भने ३ वर्ष भित्र सिटी बसपार्क बनाउने घोषणा गरेका छन् । उनले मुख्य बसपार्क भने पोखरा तनहुँको सिमानामा पर्ने लामेआहालमा बनाउने बताएका छन् । अहिले बसपार्क क्षेत्रमा नाला बनाउने कार्यको थलानी भएको छ । ‘यहाँ जग्गाको समस्या छ । अरु अन्य केही समस्याहरु पनि छन् । ती सबै समस्याको समाधान गरेर हामी ३ वर्षभित्र आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माण गरिसक्छौं,’ उनले भने, ‘कसैले अन्याय हुन्छ कि भनेर सोच्न जरुरी छैन ।’
यही अवस्थालाई मध्यनजर गरेर कम्तिमा पनि २० वर्षलाई हेरेर पूर्वाधार बनाउनुपर्ने उनको भनाई छ । पोखरामा अब तीनवटा व्यवस्थित बसपार्क आवश्यक रहेकोमा उनले जोड दिए । निर्वाचनका बेला गरिएको बाचा अनुरुप पोखरा प्रवेश गर्ने कोत्रे, ठुलिविँडी र धोलागिरिबाट प्रवेश गर्ने वित्तिकै पोखरा महसुस गर्नेगरी तीन वर्षमा पूर्वाधार बनाइसक्ने उनको दाबी छ ।
आफू जनताको सेवक भएकाले विकास निर्माणमा सहकार्य गर्न उनले स्थानीयलाई आग्रह गरे । उनले साँझ ६ बजे सिटी बसपार्कबाट हरेक वडाका लागि सर्वसुलभ ढंगले बस चल्ने व्यवस्था महानगरले गर्ने प्रतिवद्धतासमेत जनाए । आफूले सपथ लिएको ९ दिन भएको भन्दै उनले दिन गनेर काम गर्ने समेत दोहो¥याएका छन् । तर, आजै भएन अहिले नै भएन भनेर भन्नु भन्दा पनि त्यसका लागि केही समय पर्खन उनको आग्रह थियो । विगतमा तीन वटा सरकारका बीचमा समन्वय नभएपनि अबका दिनमा केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय भएरै काम हुने उनले बताए ।
यस्तै गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्काले बसपार्क व्यवस्थित बनाउन प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए । यही आर्थिक वर्षभित्र निर्माण सक्ने गरी बसपार्कको नाला बनाउन प्रदेश सरकारले ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो । पोखरा वडा नम्बर ३२, लामेआहालमा प्रदेशस्तरीय बसपार्क बनाउने योजना पनि गण्डकी प्रदेश सरकारको रहेको छ ।





