बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

वडाध्यक्षले तिर्ने भए जनताको मालपोत कर

वडाध्यक्षले तिर्ने भए जनताको मालपोत कर

गरीब तथा विपन्नले राहत पाउन भन्ने हो, छुटेकामध्ये धनी पनि रहेछन्, जे भए पनि हाम्रै जनता हुन् !


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०७९, बिहिबार

बागलुङ/ बागलुङको बरेङ गाउँपालिकाका एक वडाअध्यक्षले चालु आर्थिक बर्षको मालपोत कर व्यक्तिगत खर्चमा तिर्ने घोषणा गरेका छन् । बरेङ गाउँपालिका–३ बाटाचौरका नवनिर्वाचित वडाअध्यक्ष शेरबहादुर खनालले वडाभरीका विपन्न तथा गरिव परिवारको मालपोत कर आफूले व्यक्तिगत खर्चमा तिरिदिने घोषणा गरेका हुन् ।

बुधबार गाउँ कार्यपालिकाको पहिलो बैठकबाट आफ्नो प्रस्ताव अनुमोदन गराएर खनालले चालु आर्थिक वर्षको जेठ अन्तिम सातासम्म पनि मालपोत कर नतिरेका सबै वडावासीको कर तिरीदिने घोषणा गरेका हुन् । उनी बरेङ गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित एक्ला जनप्रतिनिधि हुन् । ‘यहाँ गरीब विपन्न छन्, मालपोत कर तिर्न नसकेका कारण समस्यामा रहेका नागरिक पनि छन्, हामीले उनीहरुको लागि केही न केही त गर्नैपर्छ’, खनालले भने ‘हालसम्म नतिरेको जो कोही भएपनि मैले चालु वर्षको सबै कर तिरिदिने घोषणा गरेको छु ।’

वडा कार्यालयको गत वर्षको तथ्यांक अनुसार झण्डै २ लाख भन्दा बढी मालपोत कर उठ्न बाँकी छ । त्यो रकम सबै वडा अध्यक्ष आफैले व्यक्तिगत रुपमा जम्मा गरिदिने छन् । ४ आना देखि १ सय ९२ रोपनीसम्म जग्गा भएकाहरुले मालपोत कर तिरेका छैनन् । ‘मेरो मनसाय गरीब तथा विपन्नले राहत पाउन भन्ने हो, छुटेकामध्ये धनी पनि रहेछन्, जे भए पनि हाम्रै जनता हुन, म कर तिरिदिन्छु’, खनाल भन्छन् ‘पाँच बर्षको कार्यकालमा कुनै न कुनै एउटा नमुना काम गरेर जनतालाई राहत दिने मेरो योजना छ ।’ उनले गाउँपालिकाको साथ पाए आगामी आर्थिक वर्षमा बिद्युत महशुल निःशुल्क बनाउने योजना रहेको सुनाए ।

गाउँ कार्यपालिकाको पहिलो बैठकले आगामि आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट तयार गर्न सुझाव संकलनका लागि प्रविधिको प्रयोग गर्ने निर्णय गरेको छ । ‘अनलाईन प्रविधिमार्फत् वडातह र विज्ञहरुसँग सल्लाह मागेर नीति तथा कार्यक्रम र बजेट तर्जुम ागर्ने निर्णय भएको छ’ प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले भने ‘अध्यक्षले पदबहाली गर्दाको समयमा गरेका निर्णय आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत् कार्यान्वयनमा आउने छन् ।’

पदबहालीको समयमा अध्यक्ष कृष्ण प्रसाद शर्माले बाबु आमा गुमाएका १८ बर्ष मुनिका बालबालिकालाई माध्यमिक तहसम्म निःशुल्क शिक्षा, वर्षायाममा खानेपानीका मुहानमा सरसफाई र उपयुक्त शुद्धिकरणको व्यवस्था, हरेक बर्थिङ सेन्टरमा गर्भवती तथा सुत्केरीका कुरुवाहरुका लागि आमा घर निर्माण, गाउँपालिकाको बिकासका लागि गाउँपालिका विकास फोरम गठन र एसईईमा उत्कृष्ट बिद्यार्थीले प्राविधिक विषय पढ्न चाहेमा छात्रावृत्तिको व्यवस्था गर्ने घोषणा गरेका थिए ।

कहालिलाग्दो कोभिड–१९ महामारीलाई सम्झिएको छ । गाउँपालिकामा महामारी नियन्त्रणका लागि खट्ने स्वास्थ्यकर्मी लगायत सरोकार वालालाई बैठकले धन्यवाद ज्ञापन गरेको छ । बैठकले बजेट तर्जुमा कार्यतालिका, बिभिन्न उपसमिति गठन लगायतका निर्णय गरेको अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । गाउँपालिकाको प्रबक्तामा कार्यपालिका सदस्य तुफान पुन चयन भएका छन् ।

हरेक वर्ष वर्षायाममा विपद्को सामाना गरिरहेको गाउँपालिकाले बिपत् पछिको राहत र उद्धारका लागि सबै सामग्री र जनशक्ति तयारी अबस्थामा राख्ने निर्णय गरेको छ । चालु आर्थिक बर्षमा छुटेका समपुरक लगायतका योजनाहरु केन्द्र र प्रदेश सरकारसँग माग गर्ने निर्णयसमेत गरेको शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->