दमौली / पृथ्वी राजमार्गमा सडक भासिदा विहानैदेखि अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ड्याम नजिक सडक भासिएको हो । ड्याम नजिक सडक भासिदा फेला परेका दुई शबमध्ये एकको भने पहिचान खुलेको छ।
सडक भासिदा फेला परेको दुईमध्ये एक जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
उनका अनुसार मृत्यु हुनेमा गोरखाको छोप्राक घर भइ हाल आँबुखैरेनी गाउँपालिका-२ बस्ने वर्ष ३५ का केशव घिमिरे रहेको छन्। अर्का मृतकको भने पहिचान खुल्न सकेको छैन।
सडक भासिएर खसेको बा १० च ४६७९ नम्बरको कार मर्स्याङ्दी नदीमा खस्दा दुई जनाको शव फेला परेको थियो। मानवीय क्षति अन्य पनि हुन सक्ने भएकाले खोजी कार्य भइरहेको उनले बताए।
सडक भासिएको ठाउँमा बा १० च ४६७९ नम्बरको कारको नम्बर प्लेट पनि फेला परेको छ। उनीहरू उक्त कारमा रहेको अनुमान गरिएको छ। कार आँबुखैरेनीबाट मुग्लिङतर्फ जाँदै गर्दा सडक भासिएको ठाउँमा परेको अनुमान छ।
गए राति करिब ३ बजेतिर यहाँ सडक भासिएको थियो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले कार र मोटरसाइकल पहिरोमा परे पनि मोटरसाइकल चालक सकुशल रहेको बताए।
यहाँ सडक खुलाउन केही समय लाग्ने भएको छ। भित्ता कटिङ गरेर एकतर्फी रूपमा सडक खुलाउने तयारी गरिएको छ।





