आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरा महानगरपालिका कस्सियो फोहोर व्यवस्थापन क्षेत्र बनाउन

पोखरा महानगरपालिका कस्सियो फोहोर व्यवस्थापन क्षेत्र बनाउन

पोखरा ३३ मा लैजाने तयारी ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०७९, शनिबार

पोखरा/पोखराको फोहोर मैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल) भरतपोखरी सार्ने गरी पोखरा महानगरपालिका कस्सिएको छ । महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीमा ल्याण्डफिल स्थापनाका लागि पूर्वाधार निर्माण र बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

महानगरले साविकको भरतपोखरी गाविस वडा ६ र ७ मा पर्ने पञ्चेपाटन, जौबारी, कुमालटार लगायतका क्षेत्रमा ल्याण्डफिलका लागि जग्गा प्रस्ताव भएकोमा त्यहाँ नै ल्याण्डफिल निर्माण गर्ने निर्णय गरेको हो । यस क्षेत्रमा १०० रोपनी सार्वजनिक जग्गा रहेको छ भने दुई ठाउँमा गरी ९५ रोपनी अधिग्रहण गर्न लागिएको छ ।

यसअघि पोखरा–१६ र २० को सीमानामा ल्याण्डफिल सार्ने निर्णय गरेकोमा स्थानीयको अवरोधले कार्य अघि बढ्न सकेको थिएन । हाल पोखरा–१४ को बाच्छेबुडुवामा ल्याण्डफिल छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि यो ल्याण्डफिल साइटले समस्या पर्ने भएपछि सार्न लागिएको हो । विमानस्थल आयोजनाले महानगरलाई चार वर्षअघि नै ल्याण्डफिल सार्न अनुरोध गरिएकोमा चासो नदिँदा अहिले विमानस्थल संचालनमा समस्या भएको हो । विमानस्थलभन्दा पाँच किलोमिटर टाढाको दुरीमा हुनुपर्ने भएपछि भइराखेको क्षेत्रबाट सार्नपर्ने बाध्यता लागिपरेको हो ।

२०५७ साल भदौ १३ गते पोखरा उपमहानगरपालिका र वडा १८ का स्थानीय बिच २८ बुदे सम्झौता हुँदै ल्याण्डफिल बनाइएको थियो । उक्त समयमा भएको सम्झौता सकिएपनि कार्यान्वयन नभएको भन्दै स्थानीयले बारम्बार विरोध गर्नेदेखी फोहोर फाल्न रोक लगाउनेसम्मका काम भएका थिए ।

सहमती अनुसार नगरपालिकाबाट छुट्याएको २ प्रतिशत रकम मध्ये १० प्रतिशत सम्म बजेट स्थानीय क्लबहरुले बाताबरण, स्वास्थ्य र शिक्षाको क्षेत्रमा अधिकार सम्पन्न नगर स्तरिय बाताबरण समिति मा योजना पेश गरि कार्यान्वयन गराउने भनि निर्णय गरिएको थियो । मापदण्ड पुरा नगरी अव्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्दै आइरहेको स्थानीयहरुको गुनासो रहँदै आइरहेको थियो । २०७८ चैत १ गते उक्त सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापन गर्न रोक लगाउँदा पुरै पोखरा दुर्गन्धित भएको थियो । उनीहरुले विभिन्न माग राख्दै आन्दोलन गरेका थिए । अहिले महानगरले ल्याण्डफिल अन्यत्र सार्ने निणर्य गरिरहँदा स्थानीयसंग उचित सहमति नभए पुनः समस्या आउने खतरा भने उत्तिकै छ । महानगरले सम्झौता गर्ने तर, कार्यान्वयनको पाटोमा भने कम्जोरीपन देखाउँदै आइरहेको यस अघिका वर्षहरुले देखाइरहेको छ । आशा छ अब भने त्यसो नहोस् ।

गफ होइन् व्यवहारमै परिणत गरि काम गर्छौ : मेयर आचार्य

पोखराका मेयर धनराज आचार्यले भने महानगर गफमात्रै नगरी व्यवहारमै आउनेगरी काम गर्ने बताएका छन् । उनले पोखरामा फोहोरमैलाको दीगो व्यवस्थापन गर्न नयाँ ल्याण्डफिलसाईड ३३ नम्बर वडामा बनाउने विहीबार बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको जानकारी दिए । उनले उक्त ल्याण्डफिलसाइडका लागि तत्काल काम थाल्ने प्रतिवद्धता व्यक्त गरे ।

महानगरको अभियानमा सबैको साथहुनेमा आशावादी रहेको उनले बताएका छन् । ‘हाम्रो अभियान साच्चै सफा, सुन्दर र हरियाली पोखरा सहर बनाउने हो । गफले नभई हामीले व्यवहारमै त्यसलाई परिणत गर्नेगरी कामको सुरुवात गछौंैं’ उनले भने, ‘यसमा सबै टोलवासी आफै सक्रिय हुने वातावरण बनाउँछौं । महानगरको वातावरण तथा सरसफाई शाखाले यस विषयमा सहकार्य र हातेमालो गर्छ । अब फोहोर स्रोत मै बर्गिकरण गरेर व्यवस्थापन गर्ने तर्फ हामी अगाडि बढ्छौं । यो सुरुवात हो । यसमा सबैसंग हातेमालो गछौं ।’

ठाउँ प्रस्ताव मात्र गरिएको हो : वडाध्यक्ष आचार्य

पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष शिव आचार्यले सम्भाव्यता अध्ययनका लागि मात्रै ठाउँ प्रस्ताव गरिएको बताएका छन् । अहिले नै सारिहाल्ने नभई सम्भाव्यता अध्ययनका लागि कार्यपालिकाले पास गर्नुपर्ने भएकाले अध्ययनका लागि जग्गा छानिएको उनले बताए । ल्याण्डफिलका लागि आफूहरुले २÷४ ठाउँ हेरेको भन्दै वडाध्यक्ष आचार्यले अध्ययनपछि जहाँ ठीक हुन्छ त्यही बनाउन सकिने बताए । डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन गर्नका लागि जग्गाको खोजी गरिएको उनले बताए । उनले भने, ‘वरपर सार्वजनिक जग्गा छन् । व्यक्तिले सरकारी जग्गा पनि चर्चेर खेती गरेका छन् । एक सय रोपनी किन्यौं भने एक सय रोपनी सार्वजनिक हुन्छ । दुई सय रोपनी भए ल्याण्डफिल सार्न जग्गा पुग्छ ।’

यस्तै पोखरामा ढल र नाला सफाई अभियानको समेत सुरु भएको छ । शुक्रबार बिहान पोखराको पृथ्वीचोकबाट सेती तर्फ लगिएको नाला सफा गरेर यो अभियानको सुरुवात गरिएको हो ।

अभियानको आरम्भ गर्दै महानगरका मेयर आचार्यले सरसफाईको काम महानगरको आफ्नै नियमित काम भएपनि यसपाली सडक किनाराका नाला र ढलहरु सबै भित्रै पसेर सफा गर्न सुरु गरिएको जानकारी दिए । ‘सरसफाई महानगरको नियमित काम हो । यसपाली अबको तीन दिन पोखराको टुंडिखेल देखि बिरौटा हुँदै छोरेपानका साथै सबै नाला र ढल बग्ने स्थलमा भित्रै पसेर सफाई गर्दैछौं’ उनले भने ।
मेयर आचार्यले पोखराको पुरानो ढल निकासले थेग्ने अवस्था नरहेपनि अहिले वर्षादको सुरुवातमा सफा गर्दा केही सहज हुने अपेक्षा राखे । आगामी दिनमा थेग्ने खालको र व्यवस्थित ढल निकास गर्न महानगर लाग्ने उनले प्रतिवचता जाहेर गरे ।

उपमेयर मञ्जुदेवी गुरुङले हाम्रो पोखरालाई सफा र सुन्दर राख्न महानगरले चाल्ने हरेक अभियानमा सबै सहभागी बन्नुपर्ने बताइन् । उनले आफ्नो सहर सफा र सुन्दर राख्न नागरिक पनि आफै खटिने र महानगरलाई पनि रचनात्मक सुझाव दिँदै सहभागी हुनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->