आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

एक्लै हिँडेर कहीँ पुगिदैन : मन्त्री कार्की

एक्लै हिँडेर कहीँ पुगिदैन : मन्त्री कार्की


  • ढोरपाटन संवाददाता
  • असार ८ २०७९, बुधबार

पोखरा/ संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धनी राष्ट्रजस्तै नेपाली पासपोर्ट लिएर विश्व घुम्नको लागि अन्य राष्ट्रसँग सम्बन्ध गाँस्नैपर्ने बताएका छन् । उनले आउँदो २० वर्षपछिको पुस्तालाई समृद्ध बनाउन अन्य राष्ट्रबीच पनि सुसम्बन्ध कायम गर्दै अघि बढ्नुको विकल्प नभएको पनि बताए । नेपालले अमेरिकन स्टेट पार्टनरसिप प्रोग्रामलाई अघि नबढाउने निर्णय गरिसकेको सके पनि ठूला राष्ट्रसँग असंलग्न नीति अनुरुप सुमुधुर सम्बन्ध कामय गर्नुपर्नेमा उनको जोड थियो । उनले भने,‘एक्लै हिँडेर कहीँ पुग्न सकिँदैन ।’

मन्त्री कार्की मंगलबार पोखरामा दयाशंकर स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहको प्रमुख अतिथिको रुपमा बोल्दै थिए । भाषणमा मात्र नभै व्यवहारमा आउने निर्वाचनबाट लोकतान्त्रिक स्थिरता दिन सकेका अवस्थामा १० वर्षमा नेपाल दक्षिण एशियाको धनी मुलुक बन्ने जिकिर पनि उनले गरे ।

फरक प्रसंगमा मन्त्री कार्कीले महंगी केबल सरकारको हातमा मात्र नरहेको र हाल पेट्रोलको मूल्य बृद्धि भएको बताउँदै पेट्रोललाई विस्थापित उर्जाको उत्पादनमा जोड दिए ।पूँजी निर्माणका लागि लगानी मैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याएका मन्त्री कार्कीले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड पनि दिए ।

प्रजातन्त्र सेनानी दयाशंकर पालिखेको स्मृतिमा उनका परिवारबाट स्थापित दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान – २०७८ बाट मन्त्री कार्कीले पत्रकार बबिता बस्नेतलाई सम्मानपत्रसहित एक लाख एक हजार १११ रुपैयाँले सम्मान गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षमा भएको कार्यक्रममा प्रतिभा छनौट समितिका संयोजक रविन्द्र बास्तोला,सम्मानित व्यक्तित्व बबिता बस्नेत, पुरस्कार संस्थापक परिवारका तर्फबाट विश्वशंकर पालिखे, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजकाजी गुरुङ, नेकपा एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेललगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->