आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

सम्पदा जोगाउन कलात्मक झ्याल, ढोकामा अनुदान

सम्पदा जोगाउन कलात्मक झ्याल, ढोकामा अनुदान


  • ढोरपाटन संवाददाता
  • असार ९ २०७९, बिहिबार

पोखरा/ पोखरा महानगरपालिकाको ११ औं नगरसभाले पोखराको सम्पदासँग जोडिएको पुरानो बजार क्षेत्रको संरक्षण गर्न कलात्मक झ्याल, ढोका अनुदान दिने घोषणा गरेको छ । बुधबार कार्यपालिकाको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजानिक गर्दै मेयर धनराज आचार्यले ऐतिहासिक सम्पदाको शहरको रुपमा रहेको क्षेत्रको प्रवद्र्धन गर्नका लागि कलात्मक प्राचीन शैलीको झ्याल र ढोका अनुदान दिने घोषणा गरेका हुन् । पोखराको रामकृष्णटोलदेखि बाघबजार सम्मको क्षेत्र पुरानो बजार क्षेत्र हो ।

मेयर आचार्यले ऐतिहासिक सम्पदा बोकेका घरहरुको स्वरुप पुरानै राख्नका लागि कलात्मक झ्याल तथा ढोका अनुदानमा उपलब्ध गराउने बताए । यस्तै महानगरले सम्पदा बोकेको पोखरा वडा ४ सिदार्थचोकदेखि पोखरा २ विन्ध्यवासिनीसम्मको क्षेत्रलाई क्रमशः सवारीविहीन बनाउनेसमेत घोषणा गरेको छ । नीति तथा कार्यक्रममा भनिएको छ ‘पोखरालाई कला, संस्कृति र ऐतिहासिक सम्पदाको शहरका रूपमा विकास गर्दै पर्यटन प्रवद्र्धन गर्न सिद्धार्थ चोक, रामकृष्ण टोल, गणेश टोल, भैरव टोल हुँदै विन्ध्यवासिनी सम्मको क्षेत्रलाई पोखरा सम्पदास्थल पुरानो बजारको रुपमा प्रवद्र्धन गरिनेछ । यस क्षेत्रलाई क्रमशः सवारीविहीन बनाउदैं पदमार्ग बनाउने, घरहरु पुरानै स्वरुपमा निर्माण गर्न कलात्मक झ्याल तथा ढोका अनुदानमा उपलव्ध गराउने, यस्ता घरहरुको नक्सापास वा रेक्ट्रोफिटिङ दस्तुरमा छुट दिने र मठमन्दिर जिर्णोद्वार गर्ने नीति लिइनेछ ।’

महानगरभित्र रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदाहरुको अभिलेखीकरण समेत गरिने भएको छ । महानगरले कवि शिरोमणि लेखनाथ पौडेलको जन्मथलोलाई साहित्य अनुसन्धान केन्द्र, जनकवि धर्मराज थापा, लोककवि झलकमान गन्धर्व, अलिमिया लगायतको स्रष्टा सम्मानका लागि आवश्यक नीति समेत बनाउने उल्लेख गरिएको छ ।

महानगरका मुख्य सडकहरुमा नेपाल सरकार र प्रदेश सरकारसँगको सहकार्यमा युटिलिटी कोरिडोर अध्ययनसमेत गर्ने भएको छ ।
पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि फेवातालसम्मको द्रुतमार्गका लागि आवश्यक सहजीकरण गर्ने र लामेआहालमा निर्माणाधीन अत्याधुनिक बस टर्मिनलको लागि जग्गा प्राप्ति लगायतका कार्यमा प्रदेश सरकारसँगको सहकार्यमा काम अगाडी बढाइने भएको छ ।

महानगरले दुई वर्षभित्र प्रमुख सहरी क्षेत्रभित्रका टेलिफोन तार र अन्य तार हटाइ भूमिगत अप्टिकल फाइवर जडान गर्ने योजना अघि सारेको छ । यसअघि पनि महानगरले यो योजना अगाडि बढाएको थियो तर सफल भएन । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्य र लागत साझेदारीमा विजुलीका तार भूमिगत गरी शहरी जोखिम न्यून गरिने आचार्यले बताए । लामेआहालको बसपार्कलाई पोखरा बसपार्क र पृथ्वीचोक स्थित बसपार्कलाई सिटी बसपार्कको अवधारणा पश्चात पोखरा–२ मा अवस्थित बाग्लुङ बसपार्कलाई विन्दवासिनी बसपार्कको नामाकरण गरी व्यवस्थित रुपमा स्तरोन्नति गरिने योजनामा समेटिएको छ ।

नीति तथा कार्यक्रममा स्वास्थ्यका क्षेत्रमा लोकप्रिय कार्यक्रम समावेश गरिएका छन् । आगामी आर्थिक वर्षमा महानगरले सुत्केरीलाई ६ महिनासम्म पोषण सम्बन्धित प्रोत्साहन भत्ता उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ । यसबाहेक विपन्न, न्यून आयन भएका र सीमान्तकृत नागरिकहरूलाई दुई वर्षसम्म पोषणभत्ता र विवाह तथा मृत्यु दर्ताबापत प्रोत्साहन रकम उपलब्ध गराइने पनि महानगरको घोषणा छ । यसबाहेक पोखरा महानगरले ४० वर्ष माथिको उमेर समूहका सबै नागरिकहरूको आधारभूत निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । पर्यटन, भौतिक पूर्वाधार, सहरी विकास, कृषि, शिक्षा, स्वास्थ्य रोजगार प्रवद्र्धनलाई महत्व दिइएको नीति तथा कार्यक्रममा पोखराको पृथ्वीचोकमा बनाउने भनिएको बसपार्कको क्षेत्रफल एकीन गर्ने, अव्यवस्थित बसोबासी (सुकुम्बासी)लाई उपयुक्त स्थानमा वहुतले भवन निर्माण गरी स्थानान्तरण गर्ने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->