आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

मध्य असारसम्म गण्डकी प्रदेशमा ३४ प्रतिशत रोपाइँ सकियो

मध्य असारसम्म गण्डकी प्रदेशमा ३४ प्रतिशत रोपाइँ सकियो


  • ढोरपाटन संवाददाता
  • असार १६ २०७९, बिहिबार

पर्वत/ असार १५ गतेसम्म गण्डकी प्रदेशमा धान खेती गरिनेमध्येको ३४ प्रतिशत खेतमा रोपाइँ पूरा भएको छ ।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक वासुदेव रेग्मीका अनुसार ११ जिल्लाहरू रहेको गण्डकीका ९ वटा जिल्लाहरूमा मात्रै धान उत्पादन हुने गरेको छ । हिमाल पारीको जिल्लाका रूपमा रहेका मुस्ताङ र मनाङमा भने धान खेती हुने गरेको छैन । ती ९ जिल्लाहरूमा यस वर्ष कुल १ लाख ३१० हेक्टर क्षेत्रफलमा धान खेती लगाइने अनुमान गरिएकोमा असार १५गतेसम्म ३४ हजार १९३ अर्थात् ३४ प्रतिशत रोपाइँ पूरा भएको छ ।

‘९ जिल्लाको कुल खेतीयोग्य जमिन ४ लाख ७९ हजार ६१७ हेक्टर रहेकोमा गत वर्षको वर्षे धान १ लाख ६७२ हेक्टर क्षेत्रफलमा लगाइएको थियो । यस वर्ष १ लाख ३१० हेक्टर क्षेत्रफलमा बर्से धान रोप्ने सक्ने अनुमान गरिएको हो’, निर्देशक रेग्मीले भने, ‘हरेक वर्षको अवस्था हेर्दा मध्य असारमा आइपुग्दा ५० प्रतिशत रोपाइँ भएको खासै देखिएको छैन । मध्य असारपछि भने यो प्रदेशमा धमाधम रोपाइँ हुने गरेको छ । १५ दिनको अवधिमा धेरैले रोपाइँ सक्ने बेला हुन्छ ।’

हालसम्म सबैभन्दा बढी बागलुङमा ६३ प्रतिशत रोपाइँ पूरा भएको छ । त्यहाँ ५ हजार ७०७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म ३ हजार ६०० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । सबैभन्दा कम रोपाइँ गोरखामा १५ प्रतिशत पूरा भएको छ । १० हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा १ हजार ५७५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । यस्तै लमजुङमा १२ हजार ५०० हेक्टरमध्येको ४ हजार २५० हेक्टर अर्थात् ३४ प्रतिशतमा, तनहुँमा ८ हजार ७२० हेक्टरमध्येको २ हजार ५ हेक्टर अर्थात् २३ प्रतिशतमा, पर्वतमा ७ हजार २२५ हेक्टरमध्येको २ हजार १६७ हेक्टर अर्थात् ३० प्रतिशतमा, स्याङ्जामा १५ हजार ६६ हेक्टरमध्येको ५ हजार ४९ अर्थात् ३३ प्रतिशतमा, म्याग्दीमा ३ हजार ८३० मध्येको ९७३ अर्थात् २५ प्रतिशतमा, कास्कीमा १७ हजार ९४६ मध्येको ९ हजार ८७० अर्थात् ५५ प्रतिशतमा र नवलपरासीमा मा १८ हजार ८१६ हेक्टरमध्येको ४ हजार ७०४ हेक्टर अर्थात् २५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

निर्देशक रेग्मीका अनुसार गण्डकीमा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यू.एस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठोबूढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरीया, झिनु्वा, बिरमफूल, पोख्रेली जेठूबूढो, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिड लगायतका जातका धान लगाउने गरिएको छ ।

गोरखाको छेपेटार, भुसुन्डेफाँट, पालुङटार, ज्यादुखोला, आरुघाट, घ्यालचोक, घ्याम्पेसाल लमजुङको हर्राबोट धमिलीकुवा, सातविसे, स्याउली, भोर्लेटार, करापुटार, सोतीपसल, मझुवाफाँट, उदीपुर तनहुँको भानु, घिरिङ, ब्यास, म्याग्दे, भिमाद, बन्दीपुर कास्कीको मकैखोला, हाडीखोला, ठूलीबेसी, टाकान्जा, पामे, आर्वा, लेखनाथ, लाहाचोक, घाचोक, आङबाङ, झोवाङ, सेरा, सेराचौर, सल्यान लगायतका ठाउँ धान उत्पादनका मुख्य ठाउँहरू हुन् ।

यस्तै पर्वतको फलेवास नगरपालिका, पैयूँ गाउँपालिका, जलजला गाउँपालिका र कुश्मा नगरपालिका स्याङ्जाको चापाकोट नगरपालिका, पुतलीबजार नगरपालिका, आँधीखोला गाउँपालिका, गल्याङ नगरपालिका, वालिङ नगरपालिका म्याग्दीको भगवती, पिप्ले, घतान, पिपलबोट, रणवाङ, छिसवाङ, घार, ताकम, बरंजा, सिमलचौर, धारापानी, सिम बागलुङको जैमिनी, बागलुङ, बरेङ, गल्कोट, बडिगार्ड र नवलपरासीको गैँडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका र बुलिङटार गाउँपालिकामा धानको उत्पादन धेरै हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->