– चार रोपनी जग्गाको मासिक भाडा जम्मा १२५ रुपैयाँ
– थप १४३ रोपनी जग्गा भाडामै
–दलका भातृ संगठनदेखि सामाजिक र धार्मिक संस्था पनि भाडामै
–नगर विकासको स्वामित्वमा ७९५ रोपनी
पोखरा/ पदावधि सकिनुभन्दा ४८ घण्टा अगाडि मात्रै विधि प्रक्रियाको खिल्ली उडाउँदै पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले ५८ रोपनी जग्गा आफ्नै छोरीज्वाईँ राम भण्डारीको कम्पनीलाई सुम्पिएरै छाडे । त्यसबाहेक अर्को निजी कम्पनीले पनि यातायात व्यवस्था कार्यालय अगाडिको ट्रायल दिने स्थानको ५ रोपनी जग्गा १० वर्षको लागि भाडामा पायो ।
मष्तिष्कघातबाट अस्वस्थ मेयर जिसीले जेठ ३ गते घरमै बोलाएर तीनवटै सम्झौता एकैदिन गरे । पोखरा उपत्यका तगर विकास समिति मातहतका यी जग्गा समितिका अध्यक्षको हैसियतमा जिसीले न्यून मूल्यमा १० देखि २५ वर्षसम्म प्र्रयोजन नै नखुलाई भाडामा दिए । पोखरा महानगरको स्थानीय तहको मतगणना सोही कार्यालयमा भइरहेका कारण मेयरले सम्झौतापत्रमा कार्यालयमा नै सम्झौता भएको भनेर लेखेतापनि निवासमा नै तीनवटै कम्पनीका प्रतिनिधिलाई बोलाएर हस्ताक्षर गराएका थिए ।अहिले उनको चौतर्फी विरोध भएको छ ।
पोखराका मेयर मानबहादुर जिसीले पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेका ३ वटा जग्गा र संरचना ‘संस्थाको हितलाई ध्यानमा राखेर भाडामा दिइएको दाबी गरेका छन । उनले बुधबार विज्ञप्ति जारी गर्दै ‘यस अगाडि के कसरी भाडामा लगाइएको थियो त ?’ भन्ने प्रश्न गर्दै पहिले पनि अनियमितता भएको तर्फ संकेत गरेका छन् । उनले विज्ञप्तिमा प्रतिप्रश्न गर्दै यसअघि पनि विधि अनुसार नभइ तोकादेशका भरमा थुप्रै जग्गा भाडामा खुलासा पनि गरेका छन् ।
उपत्यका नगर विकास समितिको अध्यक्ष मेयर बन्ने प्रावधान उनै जिसीको कार्यकालमा ल्याइएको ऐनले गरेको हो । नगर विकास ऐन २०४५ केही नेपाल ऐन संशोधन गर्ने ऐनले संशोधन गरेसँगै समितिको अध्यक्ष मेयर बन्ने बाटो खुलेको हो ।
तर, यो ऐन आउनुपूर्वै पोखराको थप १४३ रोपनी जग्गा भाडामा लगाइएको खुलेको छ । पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गाहरु व्यक्तिदेखि, सार्वजनिक संस्थान, नीजि कम्पनीहरुले ३० वर्षसम्मको लागि भाडामा लिएका छन ।
मेयर जिसी समितिको अध्यक्ष बनेपनि उनले एक रोपनी ६ आना जग्गा अमित बिल्डर्स र ८ आना जग्गा तीन व्यक्तिको नाममा नवीकरण गरिदिएका छन ।मुस्ताङचोक सपिङ कम्प्लेक्स सञ्चालन गर्ने अमित बिल्डर्सलाई २०७८ चैत १ गते सम्झौता नवीकरण गरेर म्याद १ वर्ष थप गरेको खुलेको छ । यस्तै, सूर्य क्षेत्री, भीमकुमारी, तारा कार्की, यम पौडेल लगायतले यातायात कार्यालय अगाडिका सटरमा गर्ने व्यवसायको म्याद पनि पाँच वर्ष थप भएको छ । उच्च अदालत पछाडि रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले २०६२ साल भदौ ३० गतेदेखि २० वर्षको लागि समितिको जग्गा भाडामा लिएको छ । तीन रोपनी पाँच आना जग्गामा फैलिएको यो विश्वविद्यालयले वर्षको १५ हजार रुपैयाँ मात्र तिर्छ ।
अर्थात महिनाको एक हजार २५० रुपैयाँमा तीन रोपनीभन्दा बढीको जग्गा विश्वविद्यालयले प्रयोग गरिरहेको छ ।
त्यतिमात्रै होइन, महिनाको एक सय २५ रुपैयाँ भाडा बुझाएर समितिको जग्गामा रजाईँ गर्ने संस्थाहरु पनि छन । पोखरा नयाँबजारमा रहेको शान्ति वन वाटिका नजिक रहेको शान्तिघाट विकास समितिले चार रोपनी जग्गा मासिक एकसय २५ रुपैयाँ तिर्नेगरि ३० वर्षसम्मको लागि भाडामा लिएको छ । २०६६ साल फागुन १ गते भाडामा लिएको यो जग्गाको सम्झौता मिति २०९६ साल माघ ३० गतेसम्म छ ।
शान्तिवन वाटिकामा नै निर्माण व्यवसायी समितिले पनि १० वर्षका लागि तीन रोपनी जग्गा भाडामा लिएको छ । महिनाको चार हजार तिर्नेगरि २०७६ कात्तिक ३० गतेसम्म भाडामा लिएको यो जग्गाको म्याद सकिएतापनि समितिले जग्गा प्रयोग गरिरहेको छ । नयाँ नवीकरण भने भएको छैन ।
सरकारी आवासीय क्षेत्रको ४० रोपनी जग्गा गल्फ ड्राइभिङ रेन्जले १० वर्षको लागि भाडामा लिएको छ । प्रदेश तथा जिल्लाका सरकारी कार्यालयहरु रहेको क्षेत्रमा रहेको यो ठुलो जग्गाको सम्झौता मिति यही भदौसम्म छ । मासिक २५ हजार रुपैयाँमा २०६९ सालमा भाडामा दिइएको थियो ।
सरकारी जग्गा सस्तोमा भाडामा लिएर भवन बनाउनेमा पत्रकार महासंघ पनि छ । पत्रकार महासंघ कास्की र प्रदेश पत्रकार महासंघ गण्डकीको तीन तले भवनको एक रोपनी ८ आना क्षेत्रफलमा बनेको छ । यी दुवै कार्यालयले समितिलाई महिनाको २५० रुपैयाँ मात्र तिर्छन भने २०९६ सालसम्म जग्गा उपभोग गर्न पाउँछन ।
पत्रकार महासंघकै भवनको आडमा रोटरी क्लव अफ पोखरा लेकसाइडले तीन रोपनी चार आना जग्गा २०८४ सालसम्मका लागि भाडामा लिएको छ । रोटरीले चाहिँ तीन लाख २५ हजार रुपैयाँ मासिक भाडा तिर्नेगरि सम्झौता गरिएको छ ।बागलुङ बसपार्क अगाडिको १६ रोपनी जग्गा पोखरा बेसी सेवा समितिले भाडामा लिएको छ । यसले मासिक २५ हजार रुपैयाँ भाडा तिर्छ भने २०८४ कात्तिक १५ गतेसम्म सम्झौता छ । महिला उत्थान तथा जागरण केन्द्रले पनि बागलुङ बसपार्क अगाडिकै २ आना २ पैसा जग्गा आम्दानीको ५० प्रतिशत भाडा तिर्नेगरि भाडामा लिएको छ । यसको १० वर्षे सम्झौता २०८३ असार १५ गते सकिन्छ ।
पृथ्वचोकको चाइनिज पुलको उत्तरतर्फको १४ आना जग्गा नर्सरी सञ्चालनको लागि पारिजात एग्रो प्रालिकी देवीमाया गुरुङले ५ वर्षको लागि भाडामा लिएकी छन । वार्षिक ५४ हजार भाडा तिर्ने गरि २०८१ पौष मसान्तसम्म जग्गाको सम्झौता छ ।
नयाँबजारमा रहेको हङकङ बजार रहेको तीन रोपनी जग्गा मिलन तिवारीको नाममा १० वर्षको लागि भाडामा दिइएको छ ।२०८१ चैत मसान्तसम्म सम्झौता रहेको हङकङ बजारले मासिक १६ हजार ६७५ रुपैयाँ भाडा तिर्छ ।यातायात व्यवस्था कार्यालयले पनि चार रोपनी जग्गा मासिक ६० हजार तिर्नेगरि २०७५ माघ ३ मा भाडामा लिएको थियो । यसको सम्झौता २०७७ माघ २ गते सकिइसकेको छ । यही जग्गालाई निवर्तमान मेयर जिसीले १० वर्षका लागि भाडामा दिएका हुन ।
२०७५ चैतअघिसम्म नगर विकास समितिको अध्यक्ष राजनीतिक नियुक्तिबाट हुने व्यवस्था थियो । नगर विकास ऐन २०४५ संशोधन गर्दै सरकारले समिति गठन व्यवस्था फेर्दै मेयर नै अध्यक्ष हुने व्यवस्था ग¥यो ।समितिको सदस्यमा जिल्ला समन्वय समितिले तोकेको १ जना सदस्य, प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको १ जना अधिकृत, वन, भूमि तथा नापी सम्बन्धी स्थानीय तह वा जिल्लास्थित प्रतिनिधि, नगर कार्यपालिका वा गाउँ कार्यपालिकाबाट तोकिएका ३ सदस्य, स्थानीय विकासमा महत्वपूर्ण योगदान गर्ने १ महिलासहित २ जना र समितिको सदस्य सचिवको रुपमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था ऐनमा छ ।
तर, मेयर जिसीले चाहिँ समितिका कोही पनि सदस्यलाई थाहा नदिई, सदस्य सचिव रहने महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई पनि जानकारी नदिई पछिल्लो समय ६३ रोेपनी जग्गा भाडामा दिएका हुन । समितिको कार्यालय अनुसार हालसम्म समितिको नाममा रहेका २२ वटा जग्गा भाडामा लगाइएको छ । समितिको नाममा ७९५ रोपनी जग्गा रहेको छ भने त्यसको बजारमूल्य १२ अर्ब ४६ करोड २० लाख अनुमान गरिएको छ ।





