पोखरा/ किलर माउण्टेन पाकिस्तानको केटु हिमाल अफ सिजनमा आरोहण गरेर किर्तिमानी राखेपछि आरोही निर्मल पुर्जा (निम्स)ले भनेका थिए, ‘हिमालको घर नेपालमा यति धेरै हिमाल भएर पनि धेरै रेकर्ड विदेशीका नाममा छन्, नेपालीले हिमालको उपयोग गर्न सकेनौं ।’
विश्वका १४ वटै ८ हजार मिटर अग्ला हिमाल ६ महिनामा आरोहण गरेर अर्को रेकर्ड राखेका निम्सले नेपालका हिमाली क्षेत्रमा साहसिक गतिविधि हुन नसकेको बताएका थिए । केटु अरोहण पश्चात पोखरामा अभिनन्दनपछि बोल्दै उनले हिमाल आरोहणका लागि मात्र नभई विभिन्न खेल गतिविधिमार्फत् देशको पर्यटन विकास गर्न सकिने उनले बताएका थिए ।
अर्का आरोही जगन्नाथ तिमिल्सिना पनि नेपालले पर्वतारोहणसहित साहसिक खेलको नेतृत्व लिन नसकेको बताउँछन् । ‘संसारका ८ हजार मिटर अग्ला ८ वटा हिमाल नेपालमै छन्, नदीनाला र पहाड अनि तराई पनि यहीँ छ’, उनी भन्छन्, ‘तर एउटा पनि साहसिक खेलको नेतृत्व नेपालले लिन सकेन ।’
हाल अमेरिकास्थित नेशनल आउटडोर लिडरशीप स्कुलका प्रशिक्षक रहेका लामिछाने पर्वतारोहणमा नेपालले संसारकै नेतृत्व लिन सक्ने बताउँछन् । हामीले पर्वतारोहणमा संसारलाई बाटो देखाउन सक्छौं, तर अरुले विकास गरेका कुराका पछि लाग्ने काम मात्र भयो’, उनले भने, पर्वतारोहण र साहसिक खेलको विकासमा सरकारले नै चासो दिएन ।’
गत हिउँदमा मर्दी पदमार्गमा स्की खेलको प्रशिक्षण गराएका प्रशिक्षक कृष्ण थापा पनि निम्स र लामिछानेका कुरामा सहमत छन् । हाल बेलायतमा रहेर स्की प्रशिक्षण गरिरहेका थापाले नेपालका हिमालमा कुनै पनि सहासिक खेल गतिविधि हुन नसकेको बताए । ‘यति धेरै हिमाल छन्, यति धेरै सम्भावना छ,’ उनले भने, ‘हाम्रा लागि हिमाल बरदान हुनुपर्ने थियो, अभिशाप जस्तोमात्र भइराखेको छ ।’
पोखरा पर्यटन परिषदले शुक्रबार पर्यटकीय ल्वाङ गाउँमा आयोजना गरेको ‘साहसिक पर्यटन व्यवसायसम्बन्धी अन्तरसंवादमा बोल्ने वक्ताहरुले साहसिक पर्यटनमा सरकारले कुनै नीति लिन नसकेका बताए । उनीहरुले सरकारले प्रोत्साहन गर्नुपर्ने ठाउँमा अवरोध गर्ने काम गरिरहेको व्यवसायीको गुनासो छ ।
पोखरामा रहेर साहसिक पर्यटनमा लागेका उद्यमीहरु वडा तहदेखि सरकारका माथिल्ला निकायले पनि दुःख दिने गरेको तीतो अनुभव सुनाउँछन् । बन्जी नेपालका संचालक डिलु गुरुङले पोखरामा पहिलो पटक बन्जी सुरु गर्दा वडा तहबाटै भाँजो हाल्ने गरेको बताए ।
‘बन्जी बनाउन खोज्दा मिल्दैन भनेर भाँजो हालिन्छ, वडाबाटै समस्या सुरु हुन्छ’, उनले भने, ‘नयाँ केही काम गरौं भन्यो सरकारका सबै निकायले असहयोग गर्छ ।’ अहिले पनि बन्जीका सामग्री जापानबाट ल्याउँदा भन्सारदेखि विभिन्न निकायले दल्ुख दिने गरेको उनले बताए ।
बन्जीका लागि २ लाखका सामाग्री ल्याउँदा करका नाममा ३ लाख माग्ने गरेको उनको भनाई छ ।
माछापुच्छ«े गाउँपालिका– ८ का वडा अध्यक्षसमेत रहेका राम गुरुङले पोखरा क्यानोनिङ संचालन गर्दा पनि सरकारका तर्फबाट बाधा आएको बताए । गाउँको झरनामा क्यानोनिङ सुरु गर्दा सरकारी निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप र गाउँपालिकाले असहयोग गरेको उनको गुनासो छ ।
नेपाल ¥याफ्टिङ एसोसिएसन अफ एजेन्सीज पोखराका अध्यक्ष वीरेन्द्र लामाले साहसिक खेलमा अनुभवी गाइडको अभाव भएको बताए । ‘तालिम दियो, जसले राम्रो गर्न सक्छ उ विदेश गइहाल्छ’, उनले भने, ‘उनीहरुलाई नेपालमै बसेर काम गर्न सक्ने वातावरण बनाउनुपर्छ ।’
नेपाल पर्वताराहण संघ गण्डकीका अध्यक्ष शेषकान्त शर्माले अहिले पनि १९९० सालकै जस्तो आकर्षण पर्यटनमा फर्काउन सकिने बताए । ‘नेपालमा पदयात्रा र पर्वतारोहणमा फेरि पनि पुरानौ आकर्षण फर्काउन सकिन्छ’, उनले भने, ‘यसका लागि युवालाई साहसिक गतिविधिमा आउन प्रेरित गर्नुपर्छ ।’
गण्डकीमा सबैभन्दा धेरै चढिने मनास्लु हिमाल भएर पनि स्थानीय युवाले यसको लाभ लिन नसकेको उनले बताए । विश्वमै पहिलो पटक चढिएको ८ हजार मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणमा पनि आरोहीको चासो कम देखिएको उनले बताए ।
नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मीले दक्ष मानवीय स्रोत नेपालमै रोक्न सक्ने गरी काम गर्नुपर्ने बताए । सहासिक पर्यटनमा आवश्यक कोर्ष र विज्ञको अभाव रहेको भन्दै उनले दक्षता हासिल गरेका व्यक्ती विदेश पलायन हुने अवस्था रहेको बताए ।
‘हामीकहाँ साहसिक पर्यटनका कोर्ष र विज्ञ छैनन्, भएका पनि विदेशिएका छन्’, उनले भने, ‘स्वदेशमै बसेर काम गर्न सक्ने वातावरण नभएसम्म उनीहरु रोकिदैनन् ।’
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानका महासचिव मिलन तिवारीले सरकारले पदमार्ग मास्ने गरी बाटोको नाममा डोजर चलाउन नछाडेको बताए । अन्नपूर्ण फेरो पदमार्गमा डोजर लगाएकै कारण २१ दिनबाट घटेर ५ दिनमा झरेको भन्दै उनले विकासका नाममा पर्यटन र पदमार्ग ध्वस्त पारेको बताए ।
‘पदमार्ग नबिगारी विकास गर्न पनि सकिन्छ नि’, उनले भने, ‘जहाँबाट पदमार्ग छ त्यहीं डोजर लगाइएको छ, डोजर लगाउन अर्को रुट खोज्नुपर्छ ।’
पदमार्गमा आवश्यक मौसमी सुचना प्रणाली र हिमपहिरो आएका बेला ज्यान जोगाउने सुरक्षाका तालिम पर्यटक गाइडलाई आवश्यक पर्ने उनले बताए । पदयात्रामा गएका पर्यटकले मौसमबारे उचित जानकारी नपाउँदा विगतमा ज्यान गुमाउनुपरकोको उनको भनाई छ ।
पर्यटक गाइड दीलिप आचार्यले कोभिड–१९ महामारीले पेशा नै छाडेर पलायन हुनुपर्ने अवस्था आएको बताए । ‘यस्ता महामारी अरु बेला पनि आउन सक्छ, त्यतिबेला हामीले के गर्ने हो’, उनले भने, ‘धेरै साथीहरु विस्थापित भइसके, बाँकी रहेकाहरु पनि के गर्ने हो थाहा छैन ।’अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप ल्वाङका प्रमुख बाबुलाल तिरुवाले संरक्षित क्षेत्रभित्र आवश्यक संरचना बनाउँदा कानून अनुसार हुनुपर्ने बताए । संरक्षित क्षेत्र भएकाले नै अन्नपूर्ण क्षेत्रमा पर्यटक आउन थालेको भन्दै उनले संरक्षणका पाटोलाई पनि उत्तिकै ध्यान दिन आग्रह गरे ।
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराइले साहसिक पर्यटनका क्षेत्रमा देखिएका समस्या र अवसरलाई छलफलका माध्यमबाट समाधान गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले पर्यटन विकासका कार्ययोजना कायान्वयन फितलो भएको बताए । ‘हामीले राम्रा योजना बनाएका छौं, तर कार्यान्व्यन गर्न सकेनौं’, उनले भने, ‘भएका काम पनि फितला भए, परिणाम देखिएन ।’ गण्डकीमा साहसिक पर्यटन प्रवद्र्धनमा बोर्डले सहयोग गरिरहेको दाबी गरे ।
माछापुच्छ«े गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले पर्यटन क्षेत्रका लागि गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको बताए । मर्दी, माछापुच्छ«े लगायतका पदमार्गका पूर्वाधार सुधार र प्रवद्र्धन गर्न गाउँपालिकाले नीति लिएको उनको भनाइ छ ।





