पोखरा/गण्डकी प्रदेश सभामा आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा प्रदेशसभा भवन बाहिर विद्यार्थीहरु नाराबाजीसहित विरोधमा थिए ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पृथ्वीनारायण क्याम्पस र जनप्रिय क्याम्पसका बिबीए छैटौं सेमेस्टरका विद्यार्थीहरु परीक्षा रद्द गरिएसँगै आन्दोलनमा उत्रेका हुन् ।
उनीहरुका अनुसार त्रिविले संगठनात्मक व्यवहार विषय र असार २५ गते संचालन भएको नेपाली समाज र राजनीति विषयको परीक्षा रद्द गरेको थियो । काठमाडौंको कुनै कलेजको आन्तरिक परीक्षामा दिइएको प्रश्नपत्रसँग हुबहु मिलेपछि त्रिविले परीक्षा रद्द गरेको हो । विद्यार्थीहरुले प्रश्नपत्र हुबहु मिल्नुमा त्रिविको गम्भीर लापरवाही भएको बताएका छन् । त्रिविका पदाधिकारी र शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने उनीहरुको माग छ ।
पृथ्वीनारायण क्याम्पसमा छैटौं सेमेस्टर पढ्दै गरेका प्रदीप पौडेलले त्रिविले विद्यार्थीको बौद्धिकमाथि चरम शोषण गर्ने काम भएको आरोप लगाए ।
‘सम्पूर्ण विद्यार्थीहरु लामो तयारीपछि परीक्षा दिएर घर आइसकेपछि त्रिविबाट एउटा सूचना आयो’, उनले भने, ‘सूचना पनि एकदम लापरवाही किसिमको थियो । के भनियो भन्दा त्यो प्रश्नपत्र पहिला नै काठमाडौंकै कुनै एक क्याम्पसको प्रिसेमेस्टरको हुबहु रहेछ ।’
त्रिविको लापरवाहीले समग्र विद्यार्थी अन्यायमा परे पनि संयमित भएर उक्त कुरालाई स्वीकार गरेको उनले सुनाए । तर, असार २५ गते दोस्रो परीक्षामा समेत उस्तै गल्ती दोहोरिँदा असह्य भएको उनको भनाइ छ ।
जनप्रिय छैटौं सेमेस्टरमा अध्ययन गर्दै गरेका विधान अधिकारीले अब त्रिविले भने अनुसार आफूहरु परीक्षामा नबस्ने बताए । विश्वविद्यालयको गल्तीको भागिदार विद्यार्थी नहुने उनको जिकिर थियो ।
‘सुरुको दिन संगठनात्मक व्यवहार विषयको परीक्षा थियो । त्यो परीक्षा दिएर आइसकेपछि त्यो प्रश्न काठमाडौंको मोर्डन नेपाल क्याम्पसको
प्रिबोर्ड प्रश्नपत्रसँग मिल्न गएछ । परीक्षा रद्ध भयो’,उनले थपे, ‘२५ गते हाम्रो पोलिटिक्सको (राजनीति) को परीक्षा थियो । त्यो परीक्षामा चाहिँ समाजशास्त्रको प्रश्न आयो ।’ त्यसको एक घण्टापछि अर्को प्रश्नपत्र आएको र उक्त प्रश्नपत्र पनि शंकरदेव क्याम्पसको प्रिबोर्डको हुबहु भएको कारण रद्ध भएको उनले बताए । बारम्बार गल्ती दोहा¥याइको थियो ।
‘हाम्रो माग भनेको हामीले सुरुका दिन जुन ३ घण्टा परीक्षा दिएका छौँ, त्यसका लागि जति मिहेनत गरेका छौँ । अब हामी त्यो परीक्षा
दिदैँनौँ’,उनले भने,‘पुनः परीक्षा भनिएको छ त्यो रद्द हुन प¥यो । हिजो जुन गल्ती भयो त्यसको छानविन होस् र दोषीलाई कारवाही गरियोस् ।’
पोखरामा बिबीए पढाइ हुने त्रिविका २ आंगिक क्याम्पस रहेका छन् । जनप्रियमा ६४ जनाको सिट रहेकोमा करिब ५९ जना र पृथ्वीनारायण क्याम्पसमा ९९ जनाको सिट रहेको छ जसमध्ये करिब ९० जना विद्यार्थी पिएनमा रहेका छन् ।





