बागलुङ/ नेकपा एमाले बागलुङ नगर कमिटिले बागलुङ नगरपालिकाले राजनीतिक पूर्वाग्रहको आधारमा कर्मचारी हटाएको आरोप लगाएको छ । साथै, बिकास निर्माणमा कटौती गरेको, पूर्वाग्रही भएर आएका बजेटसमेत फिर्ता गरेको र जनताको करलाई खेलवाड गरेको आरोप लगाइएको हो ।
एमाले नगर कमिटि अध्यक्ष धनबहादुर परियारको नेतृत्वमा पुगेको टोलीले नगरप्रमुख बसन्तकुमार श्रेष्ठलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै राजनीतिक पूर्वाग्रह राखिएको आरोप लगाएका हुन् । नगरपालिका अविछिन्न उत्तरदायी संस्था भएको र त्यहाँ कार्यरत कर्मचारीलाई राजनीतिक पूर्वाग्रहको आधारमा हटाइएकोले पुर्नवहाली गर्नुपर्ने माग गरिएको हो ।
सामुदायिक बिद्यालयतर्फ आएको करोडौ रकम नगरपालिकाले हठात मनसायबाट फ्रिज गराएको समेत आरोप लगाइएको छ । नियतबस रकम फ्रिज गरिएको भन्दै बिरोध गरिएको हो । त्यो काम सच्याएर पुनः रकम बिनियोजन गर्न पनि माग गरिएको छ ।
खानेपानीमा पनि नगरपालिकाले जनताको स्वास्थ्यमाथी खेलवाड गरेको आरोप ज्ञापन पत्रमा उल्लेख छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई निर्देशन दिनुको साटो नगरपालिकाले गैरजिम्मेवारीपन देखाएको, नगरपालिकाको मौन स्विकृतिमा खानेपानीमा चरम लार्पवाही र व्यापक राजनीतिकरण भएको आरोप छ । तत्काल नगरबासीलाई शुद्द पानी खान दिन माग गरिएको हो ।
श्वेत पत्र जारी गरेको नगरपालिकाले यसअघिका कामको स्वामित्व लिएर तत्काल बलेवा बिमानस्थल संचालन गर्नुपर्ने माग गरिएको छ । बागलुङ बसपार्क पनि छिटो चलाउन माग गर्दै माग पुरा नभए एमालेले अन्य कडा कदम चाल्ने चेतावनी दिएको छ । कडा संघर्षका कार्यक्रम ल्याउन बाध्य नपार्न पनि नगरपालिकाको ध्यानाकर्षण एमालेले गराएको छ ।
नगरपालिकाले जितको उन्मादमा राजनीतिक रवैया प्रर्दशन गरेको, बिकास निर्माणलाई अबरुद्ध गरेको र जनताको रगत र पसिनाबाट आर्जेको कर राजनीतिक स्वार्थ र व्यक्तिगत लाभमा लगाएको आरोपसमेत छ । यसअघि भएका योजना कटौती गर्ने र फ्रिज गर्ने काम जनविरोधी भएको पनि आरोप लगाइएको छ । ज्ञापन पत्र बुझेका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जनताको पक्षमा काम गर्ने र गैरकानूनी वा प्रकृया नपुगेका काम भए निरन्तरता दिन नसक्ने बताए ।
नगरपालिकाले असार मसान्तमा १३ जना कर्मचारीको करार रद्द गरेको थियो । उक्त निर्णयमा एमालेले बिरोध गरेको हो । उनीहरु प्रक्रिया नपुगी करारमा आएकोले रद्द गर्नुपरेको नगरपालिकाको भनाई छ । गत ५ बर्षमा बागलुङमा १ सय ३ जना कर्मचारी करारमा नियुक्त भएका थिए । उनीहरुमध्ये प्रक्रिया नपुगेकाको म्याद थप नभएको हो । ‘जो कानूनी प्रक्रिया नपुगेर जागिरमा प्रवेश गरेका थिए, उनीहरुको करार म्याद नथप्ने निर्णय अनुसार हटाइएको हो’ प्रशासन शाखाका ससबहादुर पुनले भने, ‘वडा तहमा रहेका कर्मचारीको कामको प्रकृति हेरेर वडा अध्यक्षले हेरफेर गर्न सक्ने भन्ने निर्णय छ ।’
यसरी करार रद्द हुनेमा कम्प्युटर अपरेटर सुदिप शर्मा, नगरप्रमुखको सचिवालयका कर्मचारी गणेश पौडेल, कम्प्युटर सहायक होमनाथ शर्मा, सुपरभाइजर दिपेन्द्र रेग्मी र उपप्रमुखको सचिवालयका कर्मचारी अमृत पौडेल छन् । त्यस्तै सहायक कर्मचारीतर्फ सुशिला कार्की, सुमन बास्कोटा, शारदा शर्मा र साबित्रा शर्मा चालिसे छन् । त्यस्तै हेरालुतर्फ फूलमाया बोटे, ज्ञानमाया बोहरा र ख्यामकुमारी पौडेल तथा दावगरा बसपार्कका हेरालु खड्गबहादुर जिसीको पनि करार रद्द भएको हो ।





