पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुन्दर तिवारी भन्छन्,‘कालो सिसा राखिएको गाडीमा गैरकानूनी गतिविधि वा ‘महिला तथा बालबालिकालाई गर्न नमिल्ने वा अभद्र व्यवहार गरिरहेको छ भने पनि देखिँदैन । यो गैरकानूनी हो ।’ कालो सिसा भएका गाडी तस्करले प्रयोग गर्ने गरेको पनि उनले स्वीकारे ।
नेपालमा अति विशिष्ट र विशिष्ट व्यक्ति चढ्ने सवारीमा मात्रै ‘कालो सिसा’ राख्न पाइने प्रावधान छ । तर, पोखराका सडकमा आजकल कालो सिसा राखिएका गाडीहरु यत्रतत्र देखिन थालेका छन् । नेपालमा सामान्य सर्वसाधारणका लागि कालो सिसा राख्न रोक लगाइएको छ । कालो सिसा राखिएको सवारीमा चढ्ने व्यक्तिको पहिचान हुन नसक्ने भएकाले त्यस्तो प्रावधान राखिएको हो । कास्की ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार सामान्य व्यक्तिले कालो सिसा राख्न पाउँदैनन् । कालो सिसा भएको गाडीमा हुँइकिन मन्त्रीस्तरीय निर्णय चाहिन्छ ।
तर, मन्त्रीस्तरीय निर्णय किन चाहियो ? ट्राफिक प्रहरी प्रमुखकै भनाइ मान्ने हो भने पछिल्लो समय कतिपय कम्पनीले नै टाढाबाट कालो देखिने सिसा राखेका गाडी उत्पादन गरेका छन् भने कतिपयले कालो प्लाष्टिक टाँस्ने प्रवृत्ति बढेको छ । युवा चालकहरु यो मामिलामा अगाडि रहेको पनि उनले बताए । ‘अधिकांश युवाहरुले कालो सिसाको प्रयोग गरेको पाइयो । जान्ने बुझ्नेले यो गर्दैनन्’, उनले भने । उनले कानूनले निषेध गरेको कालो प्लाष्टिक राखिदिने विभिन्न नम्बर प्लेट, स्टिकर टास्ने पसलहरु पनि यो मामिलामा दोषी रहेको जिकिर गरे । उनका अनुसार ट्राफिक प्रहरीले पछिल्लो समय ४५० वटा चारपांग्रे सवारीलाई कालो सिसा राखेका कारण कारवाही गरेको छ । त्यसमध्ये ५० प्रतिशते काठमाडौं र कास्की जिल्ला बाहिरबाट आउने सवारी साधन छन् । उनले त्यसो भने पनि पोखराकै केही राजनीतिक प्रभाव भएकाहरु अझै पनि कालो सिसा भएको गाडीमा हिँडिरहेका छन् ।
कालो सिसाको प्रयोग गर्र्दा प्रहरीको खोजी सूचीमा भएका व्यक्तिहरु उम्किने स्थिति आउनसक्ने भनेमा चाहिँ उनी सहमत देखिए । ट्राफिक कार्यालय प्रमुख शाहका अनुसार कालो सिसा राखेमा सवारीको स्वरुप परिवर्तन गरेको मानिन्छ । स्वरुप परिवर्तन अर्थात कालो सिसा राखेमा पाँच हजार रुपैयाँ जरिवानासमेत तिर्नुपर्ने बताए । ट्राफिक कार्यालयले कालो सिसा नराख्न र प्लाष्टिक टाँस्ने काम बन्द गर्न नम्बर प्लेट बनाउने तथा स्टिकर टास्नेहरुलाई आग्रह गरिएको उनको भनाइ थियो ।





