शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीमा डिजिटल दान पेटिकाको उद्घाटन, स्मार्ट क्यूआरबाट स्क्यान गरी दान गर्न सकिने

म्याग्दीमा डिजिटल दान पेटिकाको उद्घाटन, स्मार्ट क्यूआरबाट स्क्यान गरी दान गर्न सकिने


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०७९, मंगलबार
प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई क्यूआर कोड हस्तान्तरण गरिदै । तस्वीर : हरिकृष्ण गौतम

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–९,मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई माछापुच्छ्रे बैंकले क्यूआर कोड हस्तान्तरण गरेको छ। सोमबार गलेश्वर मन्दिरमा आयोजित एक कार्यक्रममा संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने गरी बेनी नगरपालिकाका मेयर सुरत केसी र बैकका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कोइरालाले कोषका अध्यक्ष माधबप्रसाद रेग्मीलाई हस्तान्तरण गरेका थिए ।

यो सुविधा सँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत भेटी तथा दान सिधै कोषको बैंक खातामा जम्मा गर्न सक्छन् । बेनी नगरपालिकका मेयर सुरत केसीले म्याग्दीको वित्तिय क्षेत्रमा माछापुच्छ्रे बैंकको भूमिका महत्वपूर्ण रहेको बताए ।

‘डिजिटल पूर्वाधार तथा प्रविधिको विकासमा हामीले सक्ने सहयोग गछौं,‘अब बैंकले शैक्षिक जनशक्तीलाई उत्पादनमा जोड्ने गरी लगानीलाई बढाउनुपर्छ’ मेयर केसीले भने। उनले बेरोजगार यूवाहरुलाई नगरपालिकाको सिफारिसमा कर्जा प्रवाहको वातावरण बनाउन समेत अनुरोध गरे । त्यस्तै म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना,नेपाल राष्ट्र बैंकका पोखरा प्रमुख डा. रामशरण खरेलले आर्थिक अनियमितता हटाउन र नोट छपाईमा हुने खर्च समेत घट्ने भएकाले डिजिटल प्रविधिको प्रयोग गर्न अनुरोध गरे।

बैंकका सिईओ कोइरालले नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यले धार्मिकस्थललाई समेत प्राथमिकता दिइएको बताए ।‘अब वित्तिय सेवालाई पेपरलेस र फेसलेस बनाउने अभियानमा छौ,‘सूचना प्रविधिको उच्चतम उपयोग तथा सदुपयोग गरी वित्तिय सेवामा संलग्न हुनुपर्ने अवस्था आएको छ’ कोइरालाले भने ।

आम नागरिकलाई कम समय र कम लागतमा विना झन्झट र विना हैरानी सहज, सरल र सुलभ रुपमा प्रयोग गर्न मिल्ने भएकाले म्याग्दीको गलेश्वर मन्दिर बाहेक प्राकृतिक उपचार केन्द्रको रुपमा चिनिएको तातोपानी कुण्ड, महारानीथान मन्दिर, बेनी शिवालय मन्दिर, दुर्गा भगवती मन्दिरमा समेत राखिएको बैंकका नायव डिजिटल बैंकिङ अधिकृत विनय रेग्मीले बताए । तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामीले समेत क्यूआर कोडको प्रयोग गरी टिकट लिने सुविधा मिलाइएको छ ।

कार्यक्रममा बेनी नगरपालिकाकी उपमेयर ज्योती लामिछाने,बैंकका क्षेत्रीय ब्यवसायी अधिकृत अजय आचार्य, प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी, बैंकका कर्मचारी संघका अध्यक्ष विकास श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।क्यूआर कोडको प्रयोग गरी विश्वको कुनैपनि स्थानबाट भक्तजनले संकल्प गरेको दान गर्न सकिने बैंकका बेनी शाखा प्रमुख यादव आचार्यले बताए । बैंकले म्याग्दीमा डिजिटल प्रविधिको प्रयोगसँगै शाखारहित बैंकिङ सेवालाई समेत धमाधम विस्तार गरिरहेको छ। म्याग्दीमा भिडभाड हुने स्थानमा क्यूआर कोडको प्रयोग गर्ने माछापुच्छे« बैंक पहिलो भएको छ । धार्मिकस्थलमा भक्तजनले क्यूआर कोडको प्रयोग गरी दान गर्ने गरेकाले जिल्लाका थप अन्य स्थानहरुमा समेत प्रयोगमा ल्याइने जनाइएको छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->