बागलुङ/नेकपा एमालेका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला इञ्चार्ज गोविन्द बहादुर नेपालीले वर्तमान सरकार जनजीविकाका सवालमा गम्भिर नरहेको बताएका छन् । महंगी बढाउने र भ्रष्टचार मौलाउने काममा सरकार लागेको भन्दै नेपालीले सरकारले तल्लो तहका सर्वसाधारणको कठिन जनजिविकामा बेवास्ता गरेको आरोप लगाए ।
संघीय सरकारले उपभोग्य बस्तुमा चर्को मुल्य बृद्धि गरेर जनताको ढाड सेक्ने र प्रदेश सरकारले अनावश्यक कर थोपरेर जनतालाई आतंकित बनाउने काम गरिरहेको नेपालीको आरोप थियो । ‘विश्व बजारमा तेलको मुल्य घटेको छ तर यहाँ सरकार घाटा देखाएर मुल्य बढाउँछ’ नेपालीले भने ‘सवारी जग्गा पास जस्ता जनतासँग हरेक दिन जोडिने बिषयमा ४ सय प्रतिशतसम्म कर एकै पटक बढाएर जनताको ढाड सेक्ने काम प्रदेश सरकारले गरेको छ ।’
आफ्ना र आफन्तका नाममा बजेट बाढ्ने, भ्रष्टाचार मौलाउने गरी योजना ल्याउने काममा सरकार तल्लिन रहेको भन्दै नेपालीले महंगी र भ्रष्टाचारका बिरुद्धमा एकजुट हुन सर्वसाधराणलाई आग्रह गरे । नेकपा एमाले निकट जनसंगठनहरुको संयुक्त विरोध प्रदर्शन कार्यक्रम पछिको कोणसभालाई सम्बोधन गर्दै नेपालीले राष्ट्रियतामा मामिलामा गठबन्धन सरकार अनुदार रहेको बताए ।
बागलुङका बिभिन्न स्थानीय तहमा एमालेका जनसंगठनहरुले बुधबार महंगी र भ्रष्टाचारका बिरुद्धमा बिरोध प्रदर्शन गरेका थिए । बागलुङ बजारमा भएको कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य हुमाकुमारी जिसी अञ्जुले सम्बोधन गरेकी थिईन् । कार्यक्रमको सञ्चालन अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य शेखर खड्काले गरेका थिए ।








