
म्याग्दी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख पाउद्धारस्थित खयरबराह मन्दिरमा शुक्रबार पूजा गर्ने भक्तजनको भीड लागेको छ ।
मन्दिरमा भाकल पूरा भएका तथा मनोकामना पुरा हुने विश्वासका साथ हिमालको फेदीमा अवस्थित अनकन्टार स्थानमा भेडाको साँडेको बथानसँग पुगेका भक्तजन र अन्य भक्तजनहरुले मन्दिर नजिकै रहेको तालमा पुगेर चिच्याएर आफ्नो इच्छा अनुसार माग्ने गरेका छन् । यहाँ हरेक वर्ष जनैपूर्णिमाको दिन पूजा हुन्छ ।
म्याग्दीका साथै विभिन्न जिल्लाबाट ठूलो संख्यामा मन्दिरमा दर्शन गर्न भक्तजनहरू पुगेका छन् ।
समुन्द्री सतहबाट ४ हजार ८ सय मिटर उचाइमा निलगिरि हिमालको फेदमा अवस्थित मन्दिर नजिक रहेको निलो तालमा करिब दुई दिनको पैदलयात्रापछि पुगेका भक्तजनहरुले सबैले सुन्ने गरी आफ्नो भाकल माग्ने गरेका छन् । भक्तजनले तालमा रहेका पूजारी र पूजारीले चर्को स्वरमा भाकल पूरा गरिदिन गरेको अनुरोध निकै रोचक हुने गरेको छ ।
‘धेरैले शिक्षा, ब्रिटिस आर्मी र वैदेशिक रोजगारमा सफलताको कामना गरेका छन् । केहीले राम्रो श्रीमान–श्रीमतिचाहियो भन्दै बर माग्छन्’ स्थानीय समाजसेवी राजु पुनले भने । उनका अनुसार मन्दिर नजिक रहेको तालभित्र रहेका आफ्नो भाकल पुजारीलाई जानकारी गराएपछि पूजारीले चर्को स्वरमा भक्तजनको नाम र उसले मागेको बर माग्छन् । बर लिएपछि कसैसँग नबोलेर धोतीखोला सम्ममन्दिरतर्फ नहेरी जानुपर्ने परम्परा समेत रहेको छ ।
आफ्नो मनकामना पूरा भएपछि पुनःमन्दिरमा दर्शन गर्न जानेको संख्यासमेत अत्याधिक रहेको छ । खरय भरानीमन्दिर तथाआसपासका रहेका ४ वटा मन्दिरमा पूजाआजा गर्न युवाहरु पूजारीका रुपमा खटिन्छन् ।
पटक–पटक मागे अनुसार पूरा भएको भन्दै बृद्धबृद्धाले समेत साँडे लिएर मन्दिरमाजाने गर्दछन् ।बलीका लागि खयरक्षेत्रमा करिव एक हजार भन्दा धेरै साँडे पालिएको छ । मन्दिरमा दर्शन गर्नका लागि अन्नपूर्णको पाउद्धारसहित विभिन्न स्थानबाट भक्तजनहरु दुई दिन अगाडी नै मन्दिर आसपासका क्षेत्रमा पुगेर बस्ने गरेका छन् ।
उक्त क्षेत्रमा पूर्वाधार विस्तारमा निजी क्षेत्रबाट संरचना बनाइएपछि सहज भएको छ । खयर क्षेत्रमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले लाखौंको पूर्वाधार विस्तार गरेका छन् । पदमार्गदेखि शौचालय, आवासलगायतका पूर्वाधारले सहज भएको छ । मन्दिरमा दर्शन गर्नका लागि जाने भक्तजन बिरामी भएपछि खोप्रा आसपासका क्षेत्रबाट लेक लागेर केहीबिच बाटोबाटै फर्कने गरेका छन् । आफ्नो मनोकामना पुरा गरेरकाभक्तजन र स्थानीयको प्रयासमा मन्दिरको पुननिर्माण समेत गरिएको छ ।
जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा समेत लिइने खोप्रामाधार्मिक पर्यटकलाई लक्षित गरेर सामुदायिक लगानीमा होमस्टे सञ्चालन गरिएको छ। स्थानीय खयरभारनी युवाक्लव र खयरबराह क्षेत्र विकास समितिको सयुक्त आयोजना जनैपूर्णिमा मेलागर्ने गरिएको छ । आधादशक अगाडीसम्म खोप्रादेखि माथिल्लो क्षेत्रमा खुल्ला आकाश र आफ्नै टेन्टको ब्यवस्था गर्नुपर्ने बाध्यता रहेको भएपनि पाउद्धार, शिख र आफ्नो मनोकामना पूरा भएका भक्तजनहरूले करिब दुई करोडको लागतमामन्दिर, पदमार्ग, खानेपानी, शौचालय लगाएतमा अतिआवश्यक पूर्वाधारहरू विस्तार गरिएको छ ।
स्थानीय तह, प्रदेश र संघीय सरकारबाट भने अपेक्षा गरे अनुसारको पूर्वाधारमा सहयोग भएको छैन् । खोप्रा, खयर क्षेत्र म्याग्दीको ग्रामिण पर्यटनको हिरा जस्तै भएको वडा अध्यक्ष राजेश तिलिजाले बताए ।
यता अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित नाँगी बराही मन्दिर परिसरमा रहेको तालमा पालैपालो पुग्ने भक्तजनले आफूले चाहेको कुरा भन्ने र मगर समुदायको पूजारीले तलाउमा चुरलुम्म डुबेर हिलो दिने चलन रहेको छ । तालको हिलो समातेर भक्तजनपछि नफर्कीकन घर र्फकर्ने र चाहेको कुरा पूरा भएमा पुनः भाकल गर्न र भाकल फिर्ता गर्न त्यहाँ पुग्ने गरेका छन् । तालमा भक्तजन पुगेपछि मगर समुदायका पुजारीले तलाउमा चुरलुम्म डुवेर हिलो दिने चलन रहेको छ ।
पारिवारिक सुख, सम्पत्ति, सन्तान लाभ, रोजगारी, सुस्वास्थ्य लगायतका मनोकाङ्क्षा पूरा हुने जनविश्वास लिएर विभिन्न क्षेत्रबाट गएका भक्तजनहरुले मन्दिरमा चिच्चाएर माग्नुपर्ने अवस्थामा केही भक्तजनहरुको शैलीलाई पूजारीले समेत रोक्ने गरेका छन् । चिच्चाएर माग्दा पारिवारिक, व्यक्तिगत दुस्मनी तथा कसैलाई हानी हुने भाकल भएमा पूजारीले निषेध गर्ने गरेको दर्शन गरी फर्किएका भक्तजनहरुको भनाई छ । नाँगीको बराही मन्दिरमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले समेत दर्शन गरेका थिए।





