मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

गण्डकीका महिला सांसदको ‘भ्रमण सपना’ अधुरै !

गण्डकीका महिला सांसदको ‘भ्रमण सपना’ अधुरै !


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०७९, आइतबार

पोखरा/ गण्डकी प्रदेशसभाको बैठक ८ गतेसम्मका लागि स्थगित छ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिमको प्रदेशसभाको बजेट अधिवेशन सकिइसक्यो । तर, गण्डकीले अझै एकादुई विधेयक पारित गर्ने र बल्ल सदन अन्त्य गर्ने सरकारको मनसाय छ ।

गण्डकीकी उपसभामुख सिर्जना शर्माले आश्चर्य मान्दै भनिन,‘अन्यत्र नचलेको सदन यहाँ किन चलाइरहेको हो कुन्नि ?’उनले अन्यत्रको सदन नचलेको जानकारी चाहिँ फोनमार्फत् तीन प्रदेशका समकक्षीलाई सोधेकी थिइन । र, सोध्नुको कारण थियो, ‘गण्डकीका महिला सांसदको अन्तरप्रदेश भ्रमण ।’ जसलाई युएनडिपीले आर्थिक सहयोग गरिदिएको थियो ।

महिला सांसदको अन्तरप्रदेश भ्रमण जाने कार्यक्रमको समन्वय उनै उपसभामुखले गरिरहेकी थिइन । तर, चुनाव घोषणा भएको भन्दै कुनै भ्रमणमा नजाने निर्णय एमाले संसदीय दलले गरेको छ भने सोही निर्णय कांग्रेसले पनि गरेको छ ।चुनाव घोषणा भएकै कारण सांसदहरु भ्रमणमा नजाने भएका होइनन, उनीहरु घुम्न जाने भनेका तीनै प्रदेशको प्रदेशसभा बैठक नभएका कारण जानुको औचित्य सकिएको हो ।अन्यथा, अबको चुनावमा नलड्ने उपसभामुख शर्माको चुनाव घोषणा भएतापनि जाने तीव्र इच्छा थियो ।

गण्डकीमा २० जना महिला सांसद छन । २० जना नै नगएतापनि जानेहरुलाई लैजाने मनसाय उपसभामुखको थियो, त्यही सन्दर्भमा उनी आफैले अन्य उपसभामुखहरुलाई फोन गरिन् । उनीहरुले संसद स्थगित भइसकेको र सांसदहरु निर्वाचनमा केन्द्रीत भइ जिल्ला लागिसकेको जानकारी दिए ।

उनीहरुले उपसभामुख मात्रै आउने भए स्वागतसम्म गर्न सकिने तर अन्य सांसदहरुलाई भेला गर्न नसकिने जवाफ दिएपछि कार्यक्रमको संयोजन गरिरहेकी शर्माले दातृ कम्पनी युएनडिपीलाई बिहीबार फोन गरेर कार्यक्रममा सहभागी हुन नसकिने जानकारी दिइन ।युएनडिपीले महिला सांसदहरुलाई भदौ ५ गतेदेखि १२ गतेसम्म अन्तरप्रदेश भ्रमणमा जान भन्दै गण्डकीमा महिला सांसदहरुलाई निमन्त्रणा गरेको थियो । उक्त कार्यक्रमको मुख्य उद्धेश्य चाहिँ अनुभव आदानप्रदान हो ।

यसअगाडि सोही दातृ निकायले बागमती, मधेस र प्रदेश नं. १ मा सोही कार्यक्रमका लागि गण्डकीका महिला सांसदहरुको भ्रमण गराएको थियो । बाँकी तीन प्रदेशको भ्रमण बिचमा कोरोना, स्थानीय तहको निर्वाचनका कारण रोकिएको थियो । रोकिएको सोही कार्यक्रमलाई निरन्तरता दिन खोज्दा अन्य प्रदेशको संसद बैठक नै स्थगित भयो, सरकारले पनि चुनाव घोषणा ग¥यो ।

चुनाव घोषणा भएपछि कुनै पनि संसदीय समितिको भ्रमण, अन्तरप्रदेश भ्रमण नजाने बारेमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले नजान मौखिक निर्देशन दिएको एमाले सचेतक सावित्रा रानाले जानकारी दिइन् । कांग्रेस मुख्य सचेतक ओमकला गौतम चालिसेले पनि चुनाव घोषणा भइसकेको अवस्थामा निर्वाचनमा केन्द्रीत हुनुपर्ने भएका कारण महिला सांसदको भ्रमणमा कांग्रेस सहभागी नहुने जानकारी दिइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->