पोखरा, २९ साउन – मर्दीखोला सेवा समिति कास्की हङकङ समाजले कास्कीको आगालागीबाट पीडित भएकालाई आर्थिक सहयोग गरेको छ ।
माछापुच्छ्रे गाउँपालिका ८ लुम्रेका गोलमान गुरुङको परिवारलाई वडाअध्यक्ष रामबहादुर गुरुङको उपस्थितीमा समाजले २ लाख ५६ हजार ५ सय ६ रुपैयाँ सहयोग गरेका हुन् ।
मर्दीखोला सेवा समिति कास्की हङकङ समाज महिला समितिका सचिव बद्रीलक्ष्मी गुरुङ, अजिवन सदस्य दिलबहादुर गुरुङ र निशा पौडेलले उक्त रकम पिडित परिवारका सदस्य लक्ष्मी गुरुङलाई प्रदान गरेका हुन् ।
गत जेठ ५ गते गोलमान गुरुङको घरमा ग्याँसको सिलिण्डर पड्केर आगालागी हुदाँ करिब २५÷३० लाख बराबरको क्षती भएको थियो ।
विदेशी भूमिमा रहे पनि मानवीयतालाई भूगोलले नछेक्ने जनाउँदै नेपालीहरुलाई सहयोग जुटाउँदै आएको समजका महिला संघ सचिव बद्रीलक्ष्मी गुरुङले जनाइन् ।
आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने उनको प्रतिवद्धता थियो । सहयोग हस्तान्तरण कार्यक्रममा निशा पौडेलले मानवीय सेवा नै धर्म भएकाले आफूहरुले समस्यामा रहेकाहरुको वास्तविक समस्या बुझेर सक्दो सहयोगमा जुट्ने बताईन् ।
हङकङमा रहेका मर्दीखोला सेवा समिति कास्की हङकङ समाजका पदाधिकारी, साधारण सदस्य तथा शुभचिन्तक र विदामा नेपाल आएकाहरुबाट उक्त रकम संकलन गरिएको गुरुङले जानकारी दिइन् ।
नेपालीको हरेक दुखमा साथ दिन आफूहरु तयार रहेको उनको भनाई थियो ।
वडाअध्यक्ष राम गुरुङले विदेशी भूमिमा रहेर पनि जन्मभूमिमा भएको समस्यामा सहयोग रकम जुटाएकोमा धन्यवाद व्यक्त गरे ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा माछापुच्छ«े ९ का वडा सदस्य रामहरी गुरुङले कठिन अवस्थामा एक अर्काको सहयोगमा जुटेर अघि बढ्नु नै मानवीयता भएको धारणा राखे ।
सहयोग रकम बुझेपछि सहयोगी दाताहरुलाई धन्यवाद् दिंदै पीडित लक्ष्मी गुरुङ घर सहयोगको रकमले घर बनाउने बताईन् ।





