शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

आइसीयूको टिकट, मेडिकल वार्डमा भर्ना

आइसीयूको टिकट, मेडिकल वार्डमा भर्ना

अस्पतालको लापरवाहीले बिरामीको मृत्यु ।


  • विजय नेपाली
  • साउन ३० २०७९, सोमबार

पोखरा/तनहुँकी पार्वती परियारले शनिबार गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा भएको घटना भुल्न सकेकी छैनन् ।

आँखै अगाडि छट्पटाउँदै बिरामी बितेको घटना भुलुन् पनि कसरी ? शुक्रबार उनी कुरुवा बसेको अस्पतालको बेड नजिकै खाली रहेको बेडमा नयाँ बिरामी आए । तनहुँ म्याग्दे गाउँपालिका ५, छाङपाटनका टोपबहादुर कुमाललाई अरिङगालले टोकेपछि अस्पताल ल्याइएको थियो ।

उनलाई जिल्ला अस्पतालले रिफर गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको थियो । उनको डायलोसिस गर्नुपर्ने देखियो । उनी सामान्य देखिएपनि आइसीयूमा राख्नुपर्ने थियो । तर, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आइसीयूको टिकट कटाएर मेडिकल वार्डमा राखिदियो ।

उनलाई त्यहाँ राख्दा उपचार नै नपाएको प्रत्यक्षदर्शी पार्वती परियार बताउँछिन् । पार्वतीका अनुसार कुमाललाई शुक्रबार राति ल्याइएको थियो । अस्पतालमा बिरामीलाई अक्सिजन र मल्हममात्रै लगाएको उनी बताउँछिन् । ‘मेरो बहिनी राखेको नजिकैको बेड खाली थियो । मैलेमात्र देखको कुरा होइन पूरैले देखेको छ ।

त्यो भाइलाई अरिङगालले टोकेर लगेको रहेछ’, उनले भनिन्, ‘त्यो दिन बेलुकाचाहिँ स्टाफहरुले एउटा मल्हम दलेको देखेको हो हामीले । त्यसपछि फेरि हिजो बिहान भाइ शौचालय जानुभएको हो । भाइलाई पिसाबको थैली बाधिँदिएका रहेछन् ।

त्यो थैली खोलिदिनुभयो ठ्क्कै रगतजस्तै पिसाब थियो ।’ थैली खोलिदिएपछि कुमाल छट्पटाएको उनले बताइन् । परियारका अनुसार सलायनपानीमात्र दिएको भएपनि उनलाई राहत मिल्थ्यो ।

‘भाइलाई एउटा सलायनपानी चढाइदिएको भएपनि अलिकति राहत मिल्थ्यो होला । नपोल्ने औषधि हालेर लगाइदिएको भए पनि अलि शान्ति हुन्थ्यो होला, त्यो पिसाबको थैली निकालिदिएपछि भाइ फत्र्फत्र हुनुभयो, हामी चिया पिउँदै हेरेर बसेका थियौँ । मैले देख्दादेख्दै बित्नुभयो’, उनले भनिन् ।

यो घटनामा अस्पतालको गम्भीर लापरवाही भएको प्रत्यक्षदर्शीहरु बताउँछन् । उनीहरुले खैलाबैला गरेपछि डाक्टर तथा नर्स आएका थिए । बेड नै खाली नभएको आइसीयूको टिकट लिन लगाएर विरामीलाई आशामा राखेका कारण समयमै उपचार पाउन नसक्दा उनको मृत्यु भएको देखिन्छ । घर बनाउने काम गर्दै आएका कुमालको श्रीमती, १२ वर्षकी छोरी, ८ र ५ वर्षके छोरा रहेका छन् । अस्पतालले छानविन गर्ने बताएको कुमालका दाजु उत्तरसिंह कुमालले बताए ।

अस्पतालले मलाई झुक्यायो : सदीक्षा कुमाल

टोपबहादुरकी श्रीमती सदीक्षा कुमालले अस्पतालले आफुलाई झुक्याएको बताइन् । उनले आइसीयूको टिकट काटेपछि आइसीयू भनेर मेसिकल वार्डमा लगेर राखेको बताइन् । ‘आइसीयू भनेर अन्तै लगेपछि मैले यो त आइसीयू होइन् भन्दा नर्सले अहिले सामान्य छ यहीँ बस्नू पछि लैजाउला भने’, रुँदै उनले भनिन्,‘मलाई अस्पतालले झुक्यायो ।

उनले श्रीमान आत्तिएपछि नर्स डाक्टरहरुलाई बोलाउँदासमेत नआएको सुनाइन् । पटकपटक बोलाउँदा ‘तपाईँको बिरामी सामान्य छ, ठीक हुन्छ’, भन्ने जवाफमात्रै पाइन् ।

आइसीयू खाली हुँदै थियो र टिकट काट्न लगायौं : निर्देशक

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरतबहादुर खत्रीले बिरामीलाई आइसीयूको टिकट कटाएको स्वीकारे ।

‘आइसियुको एउटा विरामी अर्को अस्पताल जान्छु भन्दै थियो त्यसैले हामीले टिकट काट्न लगाएका हौँ । पछि गएन नगएपछि बेड खाली भएन’, उनले भने,‘यहाँ खाली छैन भन्दा उहाँहरु जान मान्नुभएन, हामीले यसमा केही गर्न सक्दैनौँ ।’ प्रत्यक्षदर्शीहरुले औषधि नगरेको बताइरहँदा उनले भने उपचार गरेको जिकिर गरे ।

यसरी भयो घटना…

टोपबहादुर र उनका अन्य ३ जना साथीहरु बिहीबार साँझ साढे सात बजेको समयतिर टोपबहादुर बस्ते स्थान नजिकै रहेको सेती नदी किनारमा रहेको सिसौको रुखमा अरिङगालको पोल्न पुगेका थिए ।
उनीहरुमध्ये टोपबहादुर र अर्का एकजना सिसौको रुखमा चढेका थिए । टोपबहादुर पहिला चढ्दै अरिङगालको गोलो नजिक पुगेका थिए ।

अर्का अलिक तल थिए । अरिङ्गालले चिलेपछि उनीहरु तल झरेर भागे । उनीसँगै गएका धिरज भन्छन्‘ त्यो भाइ अलि माथि गएको थियो । अर्का भाइ अलि तल थियो उसलाई २–३ वटाले टोकेपछि झरिहाल्यो । हामीलाई पनि टोकेको थियो,पछि हामी भाग्यौँ ।’

भागेर अलिमाथि आएपछि टोपबहादुरले ‘मलाई त बोक्न पर्छ होला’, भने । उनलाई धेरै अरिङ्गालले टोकेको देखेपछि दुई जनाले डोहो¥याउँदै मोटरसाइकल भएको स्थानसम्म ल्याएका थिए । त्यसपछि उनीहरुले मेडिकल लगे ।

उनको तनहुँकै भिमादको हस्पिटल रोड स्थित शुभलक्ष्मी पोलिक्लिनिकमा प्राथमिक उपचार गरियो । उनको ल्याब रिपोर्ट हेर्दा मधुमेह उच्च देखियो । मृगौलामा पनि असर देखिएको र पोखरा लानुपर्ने बताएपछि उनले नै टोपबहादुरको श्रीमतीलाई फोन गरेर बोलाएका थिए ।

टोपबहादुरको श्रीमती, दाजु उत्तरसिंह कुमालले राति करिब १ बजेको समयमा पोखरा १०, शिवचोकस्थित अन्नपुर्ण अस्पतालमा ल्याएर भर्ना गरे । उक्त अस्पताल बाल तथा स्त्री रोगसम्बन्धीको अस्पताल हो । त्यहाँ कुमाललाई डा. सुरज लामिछानेको टीमले हे¥यो । इमरजेन्सीमा भर्ना भइ सोही दिन नै अन्नपूर्ण हस्पिटलले आइसीयूमा ५ नम्बर बेडमा राख्यो । ल्याब रिपोर्टपश्चात् मुटु, मिर्गौलाले राम्रो काम नगरेको, मिर्गौला डायलोसिस नहुने भन्दै शुक्रबार साँझ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रिफर ग¥यो ।

उक्त अस्पतालमा उपचार गराउँदासम्म पनि टोपबहादुर आफै हिड्ने डुल्ने र बिस्तरामा सुत्ने गरेका थिए । उनी सामान्य देखिएपनि समय समयमा पिसाब पोल्यो भन्दै आत्तिन थालेका थिए । डायलोसिस गर्ने भनिएपनि उनलाई पुनः रिफर गर्नुपर्ने भयो । शुक्रबार करिब ४ बजेतिर पश्चिमाञ्चल अस्पताल लगिएको उनको भर्ना बेलुका ८–९ बजेको समयमा भयो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आइसीयूमा बेड नभएको भन्दै मेडिकलको वार्डको बेड नं. २२ मा राख्यो । राति उनलाई मल्हम लगाइदियो । अक्सिजनको व्यवस्था गरिदियो तर आवश्यक उपचार थालेन । उपचार नै नपाइ शनिबार बिहान साढे ८ बजे टोपबहादुर बिते ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->