पोखरा/ पोखरा–८ नयाँबजारमा बहुउद्देश्यीय सामाजिक भवन निर्माण भएको छ । पोखरा महानगरपालिका ८ दमकलमार्गमा निर्माण भएको सामाजिक भवनको गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दु कुमार थापा र पोखराका मेयर धनराज आचार्यले उद्घाटन गरे ।
सामाजिक भवन निर्माण मूल समितिका कोषाध्यक्ष पूर्णबहादुर राना मगरका अनुसार सामाजिक भवन निर्माणमा २ करोड ६ लाख ३७ हजार ६५१ रुपैयाँ खर्च भएको छ । २ करोड १९ लाख ४३ लाख २८२ आम्दानी हुँदा बैंक मौज्दात १३ लाख ६१ हजार १४१ रहेको छ ।
भवनको उद्घाटन गर्दै मन्त्री थापापले बहुउद्देश्यीय सामाजिक भवनले स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने जनताहरुलाई लाभ मिल्ने आशा व्यक्त गरे ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक भवन सामाजिक तथा धार्मिक प्रयोजनका लागि उपयोगमा आउने विश्वास व्यक्त गरे । पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले आफ्नो वडामा स्थानीयको पहलमा सामाजिक भवन निर्माण हुनु आफैमा महत्वपूर्ण भएको उल्लेख गरे । सरस्वती मन्दिर निर्माण उपसमितिकी अध्यक्ष राधा थापाले ऐतिहासिक मान्यता बोकेको दमकल मार्गको अस्तित्व जोगाउन मन्दिरको स्थापना गरिएको बताइन् ।





