शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हारबाट ‘हार’ नमानेका बसन्त

हारबाट ‘हार’ नमानेका बसन्त

वाम राजनीतिको उर्वरभूमिमा रहेर कांग्रेसको राजनीति गर्नु सजिलो थिएन । बसन्तले अप्ठेरो बाटो रोजे र सफलता हात पारे ।


  • तारानाथ आचार्य
  • भाद्र ५ २०७९, आइतबार

नेवारी संस्कार व्यापारी हुने हो । खेतबारीको काम, राजनीति र समाजसेवा बागलुङ बजारको नेवारी संस्कारभन्दा अलि परका विषय हुन् । अहिलेको बागलुङ बजारभित्र २०४६ सालतिर बजार र गाउँ दुवै वस्ती थियो । अहिलेको पुरानो बजार उबेला बजारका नामले चिनिथ्यो भने अहिलेको श्रीनगर टोल, उपल्लाचौर, शिवधाराचोकलगायतका पाटाबारी भएको ठाउँ बजारभित्रको गाउँ थियो । बजारमा बस्ने नेवारले व्यापार गर्थे, गाउँमा बस्नेलाई व्यापारले मात्रै पुग्दैनथ्यो, र त खेतबारीको काम पनि गर्थे । कोदो र मकै फलाएरै यहाँ बस्नेहरुको छाक टथ्र्यो ।

उहिलेको गाउँ श्रीनगरटोलमा बस्ने भरतकुमार श्रेष्ठका तीन सन्तान मध्येका दोस्रो सन्तान हुन् बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ । खिरिलो जिउ ,कल्साउँदो अनुहार, छरितो शरीर, चलाख दिमाखका बसन्तले जान्ने बेला घरमा सानो किराना पसल थियो । गाउँमा बस्ने भएकाले पसलले मात्रै उनको घर चल्दैनथ्यो । उपल्लाचौरमा रहेको तीन रोपनी जमिनमा कोदो रोप्ने, मकै लगाउने र त्यहि उत्पादनले वर्षभरीको खर्च चलाउने गर्थे उनका बाबु भरत । बाबु आमाका दुःख देखेर सानैदेखि बसन्त खेतबारीमा काम गर्थे । मकै लगाएदेखि पाक्ने बेलासम्म उपल्लाचौरको डिलमा बसेर बाँदर हेर्ने, घरको भान्छामा आगो बाल्नकै लागि कालीगण्डकीमा बगेका बौरेठा छोप्नेदेखि जंगलमा आमासँगै घाँसदाउराका लागि पुग्ने काममा बसन्त कहिलै पछि परेनन् । भरत कुमारको परिवार बागलुङ बजारमा व्यापार बाहेक खेतबारीको काम गर्ने र घाँस दाउरा गरेर परिवार पाल्ने एक नेवारी परिवार हो ।

सानो छँदा परिवारले अहिलेको राजनीतिक छवि भएको बसन्त हुन्छ भन्ने सोचेकै थिएनन् । नत उनलाई व्यापार गरेरै खाला भन्थे । ‘जिरीगान्टे थिएँ, बिरामी भएपछि औषधि खाएको हुँ, १७÷१८ बर्षको भएपछि ह्वात्तै बढेँ’, बसन्त भन्छन् ‘हामी बजारका नेवार भएपनि सामान्य परिवारबाट संघर्ष गरेर आएको हो ।’ बसन्त नत पहिलेका जस्ता होँचो कदकै रहे नत उनी व्यापार र राजनीतिमा तलै अडिए ।
सामुदायिक विद्यालयमै पढेका बसन्तको व्यापारीक सोच र राजनीतिक यात्रा विद्यालयकै गतिबिधिबाट सुरु भएको हो । उपल्लाचौर प्राथमिक विद्यालयमा पढ्ने बेला चतुर बसन्त कहिलै दोस्रो भएनन् । २०४५ सालमा प्राथमिक तह उत्तीर्ण गरेपछि उनी त्यहाँबाट धौलागिरी बिरेन्द्र माध्यामिक बिद्यालयमा निम्न माध्यमिक तह अध्ययनका लागि पुगे । उपल्लाचौर प्राविको विदाइ समारोहमा पहिलोपटक सार्वजनिक कार्यक्रममा गरेको भाषण उनको राजनीतिक जीवन सुरुवातको प्रेरणा हो । ‘कक्षा प्रथम भएकाले मैले स्पिच दिनैपर्ने थियो, त्यतिबेलाको मेरो भाषण सुनेर गुरुहरु प्रभावित हुनुभयो, मलाई पनि लाग्यो, राजनीतिमा म केही गर्न सक्छु’, बसन्तले पुराना दिन सम्झिए । माध्यामिक तह अध्ययनकै क्रममा उनको काँधमा दुईवटा बाटा समाउनुपर्ने बाध्यता थियो । एउटा बाबुबाजेको पुख्र्यौली व्यापारको निरन्तरता त अर्को राजनीतिक यात्रा ।
उनको परिवार व्यापारलाई बढावा दिन लाग्यो । तर, जिम्मेबारी उनले पाएनन् । किराना पसलबाट फेन्सीमा स्तरोन्नती भएको उनको पारिवारीक व्यापारको जिम्मा दाजु कृष्णकुमार श्रेष्ठले पाए । किराना पसल पनि थियो । बहिनीको विवाह भयो, बाबु आमालाई खेतबारी पसल धान्न धौधौ हुँदा बसन्तले राजनीति, पढाइ र व्यापार धाने । उनको सोच फरक थियो । लामो समय फेन्सीमा अडिएका बसन्त परिवारको व्यापारलाई व्यापक बनाउन लागे ।

‘मैले निजी विद्यालय खोल्नेदेखि होटल चलाउने र जग्गाको कारोबार तथा ठूला योजना निर्माणहरुको कामसम्म सुरुवात गरेँ’, बसन्त भन्छन् ‘ व्यापार व्यापक बनाएपछि हाम्रो परिवारको मुहार फेरिएको हो ।’ बीचमा दाजुले व्यापार छोडेर विदेसिँदा केही समय उनको परिवार व्यापार बिनै बस्यो । अहिले पनि बसन्त व्यापारमा संलग्न छन् । राजनीतिसँगै समाजसेवा र व्यापारलाई निरन्तरता दिनुपर्ने उनको धारणा छ । बाबुको व्यापारको साख उनको काँधमा जोगिएको छ । होटल व्यवसाय, जग्गाको कारोबार, निजी विद्यालयलगायतका क्षेत्रमा बसन्तको लगानी छ ।
व्यापारीहरुकै साझा संगठन बागलुङ उद्योग वाणिज्य संघमा २०२० साल यताकै सबैभन्दा सानो उमेरमा अध्यक्ष हुने बसन्त एक्ला हुन् । कसैले पत्याएकै थिएन् उनलाई अध्यक्ष बनेपछि कुशलतापूर्वक उद्योग वाणिज्य संघका गतिबिधि सञ्चालन गर्छन् भनेर । सदस्यबाट उद्योग बाणिज्य संघ छिरेका बसन्त महासचिव, अध्यक्ष र निवर्तमान अध्यक्षको भूमिका गरी १८ वर्ष काम गरे । दुई कार्यकाल उद्योग वाणिज्य संघको अध्यक्षको अनुभव उनीसँग छ । युवाले पनि सामाजिक तथा व्यावसायिक संस्थाको नेतृत्व हाँक्न सक्छन् भनेर त्यहिबेला उनले प्रमाणित गरिदिए । बागलुङ बजारमा सिसि क्यामेरा जडानदेखि पर्यटन क्षेत्र व्यवसायको महत्वपूर्ण क्षेत्र हो भन्ने स्थापित गराउन उनले महत्वपूर्ण भूमिका खेले ।
राजनीतिमा उतार चढावमा बसन्त
धबिमाविमा नेपाल विद्यार्थी संघको इकाई समितिमा संगठित भएका बसन्त एकाएक राजनीतिमा उदाए । उनी बिद्यालय जाने बाटोमा नेपाली कांग्रेसको पार्टी कार्यालय पर्दथ्यो । विद्यालय जाँदा र फर्किँदा कार्यालय पस्ने गरेका बसन्तलाई २०४६ सालको आन्दोलन र २०४७ सालको परिवर्तनको रापले राजनीतिमा होमिने बनायो ।

नेविसंघको इकाई कमिटिमा लागेपछि उनलाई साथीहरुले जंगलमा लगेर कुट्थे भन्छन् बसन्त । ‘उ बेला पार्टीको संगठनमा लाग्ने कुरा निकै कठिन थियो, साथीहरु कांग्रेसमा लाग्यो भनेर स्कुल नजिकैको जंगलमा लगेर कुट्थे तर मलाई त्यही कुटाइले झन बलियो बनायो ।’ २०४९ सालमा एसएलसी दिँदा उनी नेविसंघ जिल्ला सचिवको जिम्मेवारीमा पुगेका थिए । नेपाली कांग्रेसका वर्तमान सभापति जीत शेरचनलाई बोंगादोभान पुगेर नेविसंघको सदस्यता दिने बसन्त नै थिए । भन्छन् ‘त्यो बेला हामीले संगठित गरेका धेरै साथीहरु नेतृत्वमा पुगे ।’

धौलागिरी बहुमुखी क्याम्पस (तत्कालीन महेन्द्र बहुमुखी क्याम्पस)को स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि २०५१ मा उनलाई सभापतिको टिकट हात लागेको थियो । तर उनी उपसभापतिमा उठे । गंगाधर गौतमको उपसभापति बनेका श्रेष्ठले २०५३ सालमा स्ववियुको निर्वाचन हुन नसकेपछि कामचलाउ कार्यवाहक सभापति भए । २०५५ सालमा श्रेष्ठ स्ववियुको सभापति हुँदा हाल नेकपा एमालेका अध्यक्ष हिरा केसी उपसभापति र माओवादी नेता बाबुलाल शाक्यले सचिव जितेका थिए ।
विभिन्न संगठनको साझा जनादेश आएको स्ववियु चलाउने बेला क्याम्पसको श्रीबृद्धि र बेथितिहरुमा उनले चालेका कदमले बसन्तलाई परिपक्व नेता बनायो । नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेपछि बसन्तले सानै उमेरमा नेतृत्व हत्याउने प्रयास गरे । पटम– पटकको हारमा पनि हार नमानेका बसन्त अहिले जीत नै जीत हात पारेका युवा पुस्ताका नेताको रुपमा परिचित छन् ।

व्यवसायबाट राजनीतिमा हाम फालेका बसन्तले १२ औं महाधिवेशनका बेला पार्टीको जिल्ला सदस्यमा भिड्दा झिनो मतान्तरले हारे । नेपाली कांग्रेसको १३ औं महाधिबेशनमा क्षेत्र नं. १ को सभापतिमा लडेका बसन्तलाई एक मतले हरायो । तर उनले हार मानेनन् । महाधिवेशन पछि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा बसन्त बागलुङ नगरपालिकाको प्रमुख लड्ने अवसर पाए । पार्टीले टिकट दिएपछि हारबाट हार नमानेका बसन्त निर्वाचनमा होमिए । तर, जितेनन् । २ हजार ३ सय भन्दा धेरै मतले बसन्त हारे । पाँच वर्ष चुपचाप बसेका बसन्त फेरि २०७९ मा जुर्मुराए ।

नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा प्रदेश महाधिबेशन प्रतिनिधि जितेका बसन्तले ठूलो मतान्तरले बागलुङ नगरप्रमुखमा जिते । प्रदेश समिति सदस्यमा भएको निर्वाचनमा पनि बसन्तले हार्नु परेन् । प्रदेश समितिको सदस्य भएपछि उनको पदाधिकारी हुने बाटो खुल्यो । गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कोषाध्यक्षको टीका उनैलाई लगाइदिए । पार्टीमा हार पछिको जीत हात पारेका बसन्त बागलुङ नगरपालिकामा पनि उदाए । २०७९ बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा पुरानै उम्मेद्वार नेकपा एमालेका जनकराज पौडेलसँग चुनावमा होमिएका बसन्तलाई यसपटक भने अन्य दलको समेत साथ थियो । गठबन्धन भएकाले सहजै बसन्तले यसपटक अघिल्लो पालिको भन्दा दोव्वर मतान्तरले जीत हाँसिल गरे । बसन्त सरल स्वभाव, हक्की युवा नेताका रुपमा चिनिन्छन् । उनलाई धेरैले सानै उमेरमा राजनीतिमा हाम्फालेर आफ्नो बाटो मेट्यो भन्थे । तर, उनले राजनीतिमा काँध थाप्ने साहस कायम राखे ।

नगर प्रमुख बनेका बसन्तको एउटै चाहना छ नगरवासीलाई आयआर्जनसँग जोड्ने । ‘उत्पादन र रोजगारी बिना हामीले समृद्धिको सपना देखेर मात्रै हुँदैन्, प्रमुख कुरा कृषि र पर्यटनमा ध्यान दिनैपर्छ’, बसन्त भन्छन् ‘अब केही न केही उद्यम, व्यवसाय नगरि कोही बस्नु हुँदैन्, तव मात्रै समृद्धि ल्याउन सकिन्छ ।’ बसन्तले बागलुङ नगरको विकासमा कृषि र पर्यटनलाई नै मुख्य आधार बनाउने योजना बुनेका छन् ।

बागलुङ वाम राजनीतिको उद्गम थलोका रुपमा चिनिन्छ । अझै बाम राजनीतिमा बागलुङको ठूलो योगदान छ । पुराना नेता चित्रबहादुर केसी, दिनानाथ शर्मादेखि पूर्वप्रधानमन्त्री झलनाथ खनालसम्मले बागलुङमा कम्युनिष्ट राजनीति गरे । कांग्रेसको राजनीति गर्नेको पनि बागलुङमा कमी थिएन् । तर, पाका र पुराना नेताको हातमा अडिएको राजनीतिमा नयाँ पुस्ताको खोजी मात्रै थियो । नत नयाँ पुस्ताले हस्ताक्षेप गर्न सकेको थियो, नत पुराना पुस्ताले हस्तान्तरण गथ्र्यो । बसन्त र उनका सहपाठीहरुले नै अहिले हस्तक्षेपकारी भूमिकामा राजनीतिको काँध थापिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->