बागलुङ/भौगोलिक दूरीका हिसावले जिल्ला सदरमुकामदेखि नजिकै भएपनि विकास निर्माणका हिसावले बागलुङमा कमजोर थियो, बरेङ गाउँपालिका । पालिकाभित्र एक मिटरसम्म पनि कालोपत्र सडक थिएन् पाँच वर्ष पहिले । आधारभूत स्वास्थ्य सेवा लिन घण्टौं समय खर्चिनुपर्ने अवस्था थियो त्यहाँको ।
वर्षेनी आउने बाढी, पहिरो, चट्याङ र हावाहुरीका कारण हुने क्षतिमा राहतनै नपाउने अबस्था, शैक्षिक संस्थाहरुको कमजोर व्यवस्थापन र भौतिक संरचना । बरेङ गाउँपालिका गठनका बेला समस्याहरुको चाङमाथि चाङमात्रै थियो । हरेक क्षेत्रमा समस्याका अग्ला पहाड देखिन्थे । निकै कम स्रोतमा अवसरहरुको पहिचान गर्नै कठिन थियो ।
तत्कालीन गाउँ विकास समितिहरु मिलाएर बनेको गाउँपालिकाको नक्सामात्रै सग्लो थियो । सबै क्षेत्रमा रहेका समस्याहरुको पहिचान, समाधान र नयाँ गोरेटो कोर्नुपर्ने बाध्यात्मक परिस्थितीको सामना गर्नुपर्ने थियो गाउँपालिका आउने संस्थापक अध्यक्षले । चुनौतीको चाङकै बीचमा पार्टीले दिएको जिम्मेबारी, आफैभित्र रहेको आँट, साहस र योजनाहरु बोकेर बरेङको संस्थापक अध्यक्षको रुपमा उदाएका हुन् कृष्णप्रसाद शर्मा ।
तत्कालीन धुल्लुबास्कोट गाविस, हालको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा जन्मिएका कृष्ण मध्यम परिवारका जेठा छोरा । एक भाइ, दिदी र बहिनी तथा बाबा आमा सहितको परिवारको जिम्मेबारी जेठो भएकाले उनले पुरा गर्नै पर्ने थियो । शिक्षामा नेपाली बिषय लिएर मास्टर गरेका कृष्ण ‘गाउँ पिता’ बन्छु भनेर सोचेकै थिएनन् । बनपाखा, खेतबारीका दुःख भुलाउन उनले आर्जेको शिक्षाले जागिर खान सक्थे । योग्यता थियो, तत्परता र समर्पण पनि । तर, कृष्ण सानै उमेरदेखि राजनीतिमा चासो भएका व्यक्ति थिए ।
२०५३ सालमा धुल्लु लिउँवा माध्यमिक विद्यालयमा पढ्ने बेला अखिल छैटौंको इकाई अध्यक्षबाट सुरु भएको हो कृष्णको राजनीतिक यात्रा । २०५६ सालमा पार्टीको सदस्यता लिएका कृष्ण अनेरास्ववियु छैटौंको वैकल्पिक जिल्ला सदस्य, सदस्य हुँदै सबै पदाधिकारी भएर अध्यक्षको समेत अनुभव संगालेका नेता हुन् । धौलागिरी बहुमुखी क्याम्पस पढ्ने बेला होस वा पृथ्वीनारायण क्याम्पस पोखरा । उनले विद्यार्थी राजनीति छोडेनन् ।
छोटो समयमा राजनीतिमा उदायका कृष्ण बिद्यार्थी राजनीतिबाट मुलधारमा आउँदा बित्तिकै गाउँपालिकाको अध्यक्ष हुने अबसर पाए । राष्ट्रिय जनमोर्चा बागलुङको सचिवालय सदस्य रहेकै बेला कृष्णले २०७४ सालमा बरेङ गाउँपालिकाको अध्यक्ष प्राप्त गरे । ३३ वर्षको उमेरमा गाउँपालिका अध्यक्ष हुँदा उनका अघि जेजस्ता चुनौतीहरु खडा थिए ती चुनौतीहरु उनका आँखाले कम आँक्यो र अहिलेको बरेङ बनेको छ ।
बागलुङका दश स्थानीय तहमध्ये तमानखोला गाउँपालिकाको अध्यक्षमा जोकलाल बुढाबाहेक सानो उमेरमा महत्वपूर्ण जिम्मेबारी पाउने अर्का पात्र बनेका थिए कृष्ण । २०७४ को स्थानीय तह निर्वाचनबाट युवा जोस जाँगर बोकेर अध्यक्षको जिम्मेवारी पाउने जोकलाल र कृष्ण नै पाँच वर्ष चर्चामा रहे । दुवै गाउँपालिकाको भौगोलिक अवस्था, कोरोना महामारीको व्यवस्थापन र पूर्वाधार तथा सामाजिक बिकासका क्षेत्रमा गरेका स–साना प्रयासले उनीहरु चर्चाभन्दा बाहिर रहन परेन् ।
‘भर्खर मास्टर सकेको थिएँ, पार्टीका हरेक क्रियाकलापमा सहभागी थिएँ, तर म भन्दा धेरै सिनियर नेताहरु हुनुहुन्थ्यो’, उनी भन्छन् ‘अप्रत्यासित पार्टीले टिकट दियो, चुनावमा होमिएँ, हतारमा बनाएका योजना पुरा गर्न प्रतिबद्ध भए, घर धान्न केही गरुँला लाग्दै थियो, बरेङबासीको सेवक पो भएँ ।’ युवा उमेरको जोस, जाँगर र सक्रियताले नै बरेङ गाउँपालिकामा परिवर्तनका केही चित्रहरु देखिन थालेको दावी गर्छन्,शर्मा ।
कृष्ण बरेङ गाउँपालिकाका हरेकका दैलोमा पुगेका छन् । निर्वाचनका बेला मत माग्न मात्रै होइन त्योभन्दा पहिला उनी हरेक सर्वसाधारणको घर पुगेका नेता हुन् । हरेक घरको दुःख र समस्या के हुन् भन्ने उनलाई थाहा छ । बाँसको लौरोको सहारामा पैदलै जनताको घरदैलोमा पुग्नसक्ने कृष्णले अध्यक्ष भएपछि जे जस्ता प्रयत्नहरु गरे त्यसको प्रतिफल पनि पाएका छन् ।
पहिलो कार्यकालमा कम्तिमा बरेङ बजारमा कालोपत्र सडकको सुरुवात, आधा घण्टाको पैदल यात्राको पहुँचमा स्वास्थ्य संस्थाको बिस्तार, सामुदायीक औषधी कार्यक्रम, शिक्षामा सुधारका कार्यक्रम, एक घर एक धारा, विद्युतका फलामे पोल, बिद्युतिकरण नभएको क्षेत्रमा बिद्युतीकरण, कृषिउपजको उत्पादन र बजारीकरण तथा बाह्रै महिना सवारी चल्न सक्ने सडकको पहुँचमा सबै वडाका बस्तिहरुमा कच्ची सडक पु¥याउनु उनको हस्तक्षेपकारी विकास प्रेम थियो ।
कृष्ण पहिलो कार्यकालको सन्तुष्टिले मात्रै रोकिएनन् । पहिलो कार्यकालमा नमाग्दा पाएको टिकट उनले दोस्रो कार्यकालमा भने काम देखाएर लिए । अव उनी संस्थापक दश बर्षे गाउँपालिका अध्यक्ष भएका छन् । ‘म कम्युनिष्ट बिचार मान्ने मान्छे भएकाले गास, बास, कपास आधारभुत तहका जनताको घरमा पु¥याउने मेरो एक सूत्रीय योजना छ,’ शर्मा भन्छन् ‘हामीले धेरै कामको थालनी गरेका छौं, परिणामहरु आउने क्रममा छन्, त्यसले जनताको जीवनमा धेरै परिवर्तन ल्याउँछ ।’
पार्टी भित्रका जुनियर नेता कृष्णले गाउँपालिका हाँक्ने जिम्मेबारी पाउँदा असन्तुष्टिहरु प्रसस्तै थिए । समकक्षी र प्रतिस्पर्धि पार्टीबाट आउने आलोचनाका स्वरहरु चर्किन उनले कहिल्यै दिएनन् । साधा जीवन, सरल स्वभाव, मिजास बोलीकै कारण उनी बरेङमा लोकप्रिय नै छन् । ‘धेरैलाई दोस्रो पटक जनताले बिदाई गरे, म जनताको प्यारो भएरै होला दश बर्षका लागि जिम्मेवारी दिनुभयो,’ शर्मा भन्छन् ‘मैले जनताको आवश्यकता बुझेको छु, सोही अनुसार काम गर्छु ।’
श्रोतको चुनौती
बरेङ गाउँपालिकाको आन्तरीक स्रोत निकै न्यून छ । उद्योगधन्दा, कलकारखाना, साना व्यवसायसमेत निकै कम र कृषिजन्य उत्पादन बाहेकका उत्पादन कम रहेको गाउँपालिकामा स्रोतको अभाव स्वभाविक हो । सानो पार्टीबाट निर्वाचित भएकाले उनका सामु संघीय र प्रदेश सरकारमा पहुँच पु¥याएर बजेट तथा कार्यक्रम ल्याउन समेत चुनौती थियो । तर उनले हार मानेनन् । भएकै स्रोत साधनको समुचित प्रयोगले मात्रै पनि स–साना परिवर्तनबाट सन्तुष्ट हुन सकिन्छ भन्ने उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक बिकासका क्षेत्रमा देखाएका छन् ।
‘शिक्षा नसुध्रिए समाज सुध्रिँदैन, स्वास्थ्य नभई नहुने आवश्यकताको क्षेत्र हो’ अघिल्लो कार्यकालको पाँच बर्ष पूर्वाधार विकासको क्षेत्रमा भन्दा धेरै लगानी गरेका शर्मा भन्छन् ‘कृषि हाम्रो एक मात्रै उत्पादन लिन सकिने क्षेत्र हो, हामी त्यो बाहेक पर्यटनबाट आम्दानी गर्न सक्छौं ।’
बरेङको बिकासका लागि आफुले गरेको प्रयासमा साथ पाएकाले नै केही देखिने परिवर्तन सम्भव भएको उनी बताउँछन् । गाउँ कार्यपालिका कार्यलय भवनको निर्माणका लागि जग्गा विवादबाहेक उनले निकै कम बिबादित भएर पाँच बर्ष काम गरे । बरेङले कठिन परिस्थितीका बीचमा पनि जिल्लामै चर्चित हुनेगरी जसरी काम गरिरहेको छ त्यसका पछि कृष्ण जस्ता युवापुस्ताको काँध थाप्ने प्रयत्नले सम्भावनाहरुको उजागर गरेको छ ।





