शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

फोहोरमैला व्यवस्थापनका उपाय खोज्दै पोखराका मेयर

फोहोरमैला व्यवस्थापनका उपाय खोज्दै पोखराका मेयर

अवरोधमा एमाले, कांग्रेस र नेसपा ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०७९, बुधबार

पोखरा/ देशविदेशका सहरले गरिरहेको फोहोर व्यवस्थापनका आधुनिक नमुना हेर्न यतिखेर पोखराका मेयर धनराज आचार्य दौडिरहेका छन् । साउन अन्तिम साता धरान पुगेका मेयर धनराज अब भारतका राजधानी दिल्ली सहितका शहर जाँदैछन् । त्यहाँका फोहोर व्यवस्थापनका नमुना हेरेर पोखराबारे निर्णय लिनेछन् ।

पोखराको फोहोर व्यवस्थापन अहिलेका लागि हाम्रो पहिलो प्राथमिकता हो,’ उनी भन्छन्, ‘नेपाल र अन्य देशका फोहोर व्यवस्थापनको मोडल हेरेर पोखराको फोहोर व्यवस्थापन आधुनिक ढंगले गरिन्छ ।’
फोहोर व्यवस्थापनका मोडल हेर्न निस्कनुअघि पोखरा र काठमाडौंमा विभिन्न कम्पनी एवं संस्थाले फोहोर व्यवस्थापनका नमुना उनलाई देखाइसकेका छन् । पोखराको फोहोर व्यवस्थापन गर्न १० वटा बढी कम्पनी एवं संस्थाले फोहोरबाट मोहर कमाउने उपाय सुझाएको महानगरले जनाएको छ ।

ती कम्पनीहरुले कुहिने फोहोरबाट मल र ग्यासका साथै विजुली निकाल्ने र नकुहिने फोहोरबाट पुनप्रयोग हुने प्लाष्टिक र धातुलाई पुनप्रयोगका लागि पठाउने र पुन प्रयोग नहुने नकुहिने फोहोरबाट टायल लगायतका वस्तु उत्पादन गर्न सकिने जनाएका छन् ।

मेयर धनराज फोहोरबाट मोहर आम्दानी हुन सक्ने यस्ता उपायहरुमा बिस्वस्त छन्, तर कसरी छिटो भन्दा छिटो यी काम गर्न सकिन्छ भन्नेतिर आप्mनो अर्जुनदृष्टि रहेका उनी बताउँछन् ।
पोखराको फोहोर व्यवस्थापन गर्न यसअघिका मेयर मानबहादुर जिसी पनि यसरी नै भौंतारिएका थिए । फोहोर व्यवस्थापन हेर्न चीन, जापान, दक्षिण कोरिया लगायतका देश घुमेका मेयर जिसीले पोखराको फोहोर व्यवस्थापनका उचित निर्णय लिन सकेनन् । विदेशका नमूना हेर्दाहेर्दै उनको कार्यकाल सकियो ।

महानगरबाट उत्पादित फोहोर अहिले बाच्छेबडुवा ल्याण्डफिल साइटमा फालिदै आएको छ । उक्त ल्याण्डफिल साइट तत्काल परिवर्तन गर्न विगत ३ अघिदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले दबाब दिँदै आएको छ । विमानस्थलको रनवेको पश्चिमतर्फ रहेको ल्याण्डफिल साइटमा आउने चराले विमानस्थल संचालनमा अवरोध पु¥याउने प्राविधिकहरु बताउँछन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको परिक्षण उडान अंग्रेजी नयाँ बर्षका अवसरमा पुष १७ गतेदेखि थाल्ने निर्णय गरिसकेको छ । त्यतिबेलासम्म ल्याण्डफिल साइट सार्ने मात्र होइन, त्यहाँ आउने चराको आनीबानी परिवर्तन हुन जरुरी रहेको विमानस्थल प्रमुख विनेश मुनकर्मी बताउँछन् ।

‘ल्याण्डफिल साइटमा खानेकुरा खोज्न आउने चरा विमानस्थलको एयर स्पेसमा उँड्छ, यसले सुरक्षा खतरा निम्त्याएको छ,’ मुनकर्मी भन्छन्, ‘अहिलेको ल्याण्डफिल साइटमा चरा आउन छाड्ने गरी छिटो भन्दा छिटो ल्याण्डफिल साइट परितर्वन गर्नुपर्छ ।’विमानस्थल संचालनको घोषित मितिसम्म चराको बानी परिवर्तन हुन नसक्ने चराविद्हरुको दाबी छ । पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुसार अहिले ल्याण्डफिल साइडमा विभिन्न प्रजातिका गिद्धदेखि आप्रवासी चरासमेत घुमिरहेका छन् । फोहोरसँगै फालिएका खानेकुरा र सिनो खान गएका चरा अन्यत्र स्थानान्तरण हुन ६ महिनादेखि १ वर्ष लाग्ने बताउँछन् ।

‘अहिले पनि बाच्छेबडुवामा फोहोर फाल्न रोकिएको छैन, तत्काल रोकियो भने पनि त्यहीं बानी परेका चरा ६ महिनादेखि १ बर्षसम्म अन्यत्र जाँदैन,’ उनले भने, ‘विमानस्थल चलाउन ल्याडफिल साइट सार्न महानगरले निकै ढिलाइ ग¥यो ।’ मेयर धनराज तत्कालका लागि अस्थायी ल्याण्डफिल साइट बनाएर भए पनि फोहोर अन्यत्र फाल्ने योजना रहेको बताउँछन् । चराको बानी पार्न खाना, सिनोलगायत अहिलेको ल्याण्डफिल साइट भन्दा टाढा फालेर चरालाई अन्यत्र आकर्षण गर्ने उनको योजना छ । तत्कालका लागि यसो गरिए पनि फोहोरको दीर्घकालीन व्यवस्थापन आधुनिक ढंगले गर्ने उनी बताउँछन् ।

‘हाम्रो र नागरिक उड्यन प्राधिकरणको मिसन एउटै हो, तोकिएकै मितिमा विमानस्थल संचालन गराउँछौ,’ उनी भन्छन्, ‘कम्तिमा २ बर्षअघि नै ल्याण्डफिल साइट सार्नुपर्ने हो, त्यतिबेला सारिएन, भदौंभित्र हामी सार्छौ ।’

टिमुरपाटा उपयुक्त विकल्प

पोखराबाट अहिले दैनिक झण्डै २ सय टन फोहोर उत्पादन हुन्छ । महानगरबाट उत्पादित फोहोर विभिन्न ७ वटा कम्पनीले संकलन गरेर बाच्छेबडुवा ल्याण्डफिल साइट लगेर फाल्ने गरेको महानगरका सरसफाई शाखा प्रमुख कल्पना बराल बताउँछिन् ।

महानगरबाट उत्पादित फोहोर विभिन्न ६ वटा कम्पनीले उठाउँछन् भने एउटा कम्पनीले अस्पताल एवं स्वास्थ्य संस्थाहरुबाट उत्पादित फोहोर उठाउँछ । ल्याण्डफिल साइटमा महानगरले २ वटा जेसिभी स्काभेटर, एउटा ट्रयाक्टर, एउटा लोडर र ३ वटा टिपर संचालन गरेको छ । महानगरका फोहोर उठाउन निजी कम्पनीले आप्mनै सवारी प्रयोग गरेका छन् ।

सरसफाइ शाखा प्रमुख बरालका अनुसार पोखराको फोहोर संकलन गर्दा निजी कम्पनीहरुले नै बार्षिक ८ करोडसम्म सरसफाई शुल्क उठाउँछन् । यसको २० प्रतिशत महानगरलाई बुझाउने र बाँकी रकम फोहोर व्यवस्थापन गर्न कम्पनीले राख्ने संझौता छ ।

फोहोरमैला संकलन गरेर ल्याण्डफिल साइटमा फाल्ने जिम्मा पाएका ६ वटा कम्पनीको म्याद गत २०७५ सालमै सकिएको थियो । तत्कालीन मेयर मानबहादुर जिसीले फोहोर व्यवस्थापनका नया प्रक्रियाा थालेनन्, पुरानै कम्पनीलाई म्याद थप्दै अहिलेसम्म ल्याए ।

वैशाखमा स्थानीय चुनावको रापतापका बेला मेयर जिसीले फोहोर व्यवस्थापनको प्रस्ताव पेश गर्न सुचना निकाले । एउटा कम्पनीले मात्र आवेदन दिए । त्यसमा पनि आर्थिक विषय नसमेटिएको महानगरले जनाएको छ । त्यतिबेला खुलाएको टेण्डरबाट फोहोर व्यवस्थापन भन्दा नभई संकलन गरेर ल्याण्डफिलसम्म लैजाने विषय मात्र समेटिएको छ । उक्त टेण्डरले फोहोर व्यवस्थापन गर्न नसक्ने निष्कर्षसहित खारेज गर्ने महानगरको तयारी छ ।

मेयर जिसीले पोखराको फोहोरमैला व्यवस्थापन गर्ने र ल्याण्डफिल साइटको खोजीमा पटक पटक समिति गठन गरेका थिए । त्यतिबेला गठित समितिले फोहोर फाल्न विभिन्न स्थानमा ल्याण्डफिल साइट बनाउनेबारे स्थलगत अध्यन गरेको इञ्जिनियर नेत्रप्रसाद तिमिल्सिनाले बताए ।

त्यतिबेला ल्याण्डफिल साइटको खोजी गर्दा पानीको स्रोत हुन नहुने, बस्तीबाट टाढा, विमानस्थलको एयर स्पेसभित्र नपर्ने लगायतका मापदण्ड राखिएका थिए । सोही मापदण्डका आधारमा पोखरा–३३ स्थित टिमुरपाटा सबैभन्दा उपयुक्त स्थानका रुपमा पहिचान गरेको इञ्जिनियर तिमिल्सना बताउँछन् ।

टिमुरपाटामा ल्याण्डफिल साइट बनाउन पोखरा विमानस्थलका प्राविधिकसमेत स्थलगत अध्यन गरेका थिए । उनीहरुले विमानस्थलको एयरस्पेस भन्दा टाढा भएकाले सोही ठाउँ उपयुक्त भएको निष्कर्ष निकालेका थिए ।

सोही निष्कर्षका आधारमा महानगरको गत चैत १४ गते बसेको ५५ औं कार्यपालिका बैठकले पोखराको फोहोरमैला वडा नम्बर ३३ को टिमुरपाटामा व्यवस्थापन गर्ने निर्णय गर्दा कसैले विरोध गरेनन् । तत्कालीन मेयर मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकमा वडा नम्बर ३३ का तत्कालीन वडाध्यक्ष शिव आचार्यको प्रस्तावमा कार्यपालिकाले उक्त निर्णय गरेको थियो ।
टिमुरपाटामा ल्याण्डफिल साइट बनाउने निर्णय लिनुभन्दा २ दिनअघि करिब ३० जना स्थानीय प्रभावित वासिन्दालाई स्याङ्जाको वालिङ नगरपालिकाले गरिरहेको फोहोर व्यवस्थापन हेर्न लगिएको थियो । पर्यटक बस रिजर्भ गरेर वालिङ जाँदा वडा नम्बर ३३ का तत्कालीन वडाध्यक्ष आचार्यसहित महानगरका कर्मचारी सहभागी थिए ।

अवरोध गर्दै एमाले, कांग्रेस र नेसपा

२०७४ को स्थानीय निर्वाचनमा मेयर, उपमेयर उक्त वडाका वडाध्यक्षसहित दुइतिहाई बहुमत नेकपा एमालेबाट निर्वाचित थिए । बैशाख ३० मा भएको स्थानीय निर्वाचनमा उक्त वडाका वडाध्यक्ष पुन दोस्रो कार्यकालका लागि वडाध्यक्ष उम्मेदवार थिए । उनले निर्वाचन हारे, सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार दीपक लामिछाने वडाध्यक्ष निर्वाचित भए ।

वडामा मात्र होइन, मेयरमा एमालेबाट फुटेर बनेको नेकपा एकिकृत समाजवादीका कास्की अध्यक्ष धनराज आचार्य निर्वाचित भए । अधिकांश वडाध्यक्ष सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भए । तत्कालीन एमाले नेतृत्वको महानगरले गरेको निर्णयको खिलापमा अहिले एमाले र सत्तारुढ गठबन्धनका दलहरु एकजुट भएर टिमुरपाटामा फोहोर व्यवस्थापन गर्न नदिने रणनीति अपनाएका छन् ।
पोखराको फोहोर व्यवस्थापन गर्न नदिन एमाले र सत्ता गठबन्धनका स्थानीय कार्यकर्ताको मिलेमतो महानगरले गत असार १० गते नगरसभामा बजेट पेश गरेपछि सुरु भएको हो । अहिले उनीहरु टिमुरपाटामा कुनै हालतमा ल्याण्डफिल साइट बनाउन नदिने बताइरहेका छन् ।

बजेटमा फोहोरको स्रोतमै वर्गीकरण गरी व्यवस्थापन गर्न स्वयंसेवक परिचालन गर्ने, प्रस्तावित ल्याण्डफिल साइटमा न्युनतम फोहोर लैजान फोहोरलाई उद्यमसँग जोड्ने, ल्याण्डफिल साइटको विस्तृत अध्यन, जग्गा प्राप्ति, स्रोतमा फोहोर वर्गीकरण, पूर्वाधार निर्माण लगायतका लागि १० करोड विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

पोखराका नवनिर्वाचित जनप्रतिनिधीले बजेटमा समावेश गरेको उक्त विषय अघिल्ला जनप्रतिनिधिले गरेको निर्णयका आधारमा थिए । बजेट वक्तव्य आएपछि टिमुरपाटामा ल्याण्डफिल साइट बनाउन नदिने अभियानको सुरुवात बाबुराम भट्टराइले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी गण्डकीका अध्यक्ष किरण थापा ‘आमोद’ले गरेका थिए ।

बजेट वक्तव्यमा उल्लेख ल्याण्डफिल साइट बनाउन उल्लेखित बुँदा र मेयर धनराजको तस्वीर फेसबुकमा राखेर विरोध सुरु गरेका थिए ।

बजेट जलाउने चेतावनी दिँदै आमोदले फेसबुकमा लेखेका छन्,‘धनराज आचार्य कमरेड, तपाइको निर्णय भरतपोखरीवासी जनताप्रति बेइमानी हो । कुनै पनि हालतमा भरतपोखरीमा ल्याण्डफिल साइट बन्न दिइने छैन । कार्यक्रम भरतपोखराीमा बाट हटाउन माग गर्दछु । तपाईंलाई भोट हाल्दा बुढी औंलामा लगाएको मसी सुक्न नपाउँदै तपाईंको बजेट वक्तव्य जलाउनुपर्ने लज्जाजनक अवस्था आयो ।’

मेयरमा धनराजलाई मतदान गरको उल्लेख गरेका आमोदले पोखरा महानगरको स्थानीय निर्वाचनमा गठबन्धन गरेका थिएनन् । तत्कालीन जनता समाजवादी पार्टी (जसपा)लाई गठबन्धनले एउटा वडासमेत दिएको थिएन । महानगरका १३ वटा वडामा जसपाले उम्मेदवार उठाए । मेयर, उपमेयर र बाँकी वडाहरुमा उम्मेदवार नै उठाएन । पोखरामा गठबन्धन उम्मेदवारलाई मत दिन आह्वान समेत नगरेको जसपाले आप्mना उम्मेदवार नभएका ठाउँमा कार्यकर्ताले मनलाग्दी मतदान गर्न पाउने बनाए ।

गठबन्धन गर्दा एउटा वडासमेत नपाएको रिस तत्कालीन जसपा हाल नेसपाले अहिले फोहोरमैला व्यवस्थापनमा पोखेको गठबन्धनका केही कार्यकर्ता बताउँछन् । नेसपा गण्डकीका अध्यक्ष चुनिएका आमोदले टिमुरपाटामा फोहोर फाल्न चैत १४ गते महानगर कार्यपालिकाले निर्णय गर्दा कुनै प्रतिक्रिया जनाएका थिएनन् । अहिले बजेट वक्तव्य आएपछि मात्र विरोध जनाउनु चुनावमा आफुलाई एकसिट पनि नदिनुको रिस पोखेको केही कार्यकर्ताको भनाई छ ।

जबकी, त्यतिबेला गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेसले अन्य दललाई एउटा वडा दिन पनि मानेका थिएनन् । मेयर उम्मेदवारी पाएका एकिकृत समाजवादीले पनि गठबन्धनको भागवण्डामा एउटा वडाध्यक्ष उम्मेदवार समेत पाउन सकेका थिएनन् ।

टिमुरपाटामा ल्याण्डफिल साइट बनाउन कुनै हालतमा नदिने नेसपा गण्डकीका अध्यक्ष आमोदले बताए । आप्mनो यो अभियानमा चुनाबी हिसाबकिताब नरहेको उनको दाबी छ । अघिल्ला मेयर जिसीले चैत १४ गते निर्णय थाहा नपाएर कुनै प्रतिक्रिया नदिएको उनको भनाई छ ।
‘महानगरको कार्यपालिका बैठकले चैतमै टिमुरपाटामा ल्याण्डफिल साइट बनाउने निर्णय गरेको थाहा पाइन,’ उनले भने, ‘अहिले बजेट आएपछि थाहा पाइयो, कुनै हालतमा त्यहाँ ल्याण्डफिल साइट बनाउन दिन्नौं ।’

टिमुरपाटा क्षेत्र कृषि, पर्यटन र आवास क्षेत्रका रुपमा विकास हुनुपर्ने भन्दै उनले उक्त क्षेत्रमा पानीका मुल भएकाले पनि ल्याण्डफिल साइट हुन नहुने उनको तर्क छ । महानगरले अध्यन गरेर उपयुक्त ठहर गरेपनि टिमुरपाटामा ल्याण्डफिल साइट बनाउन नदिने र फोहोरसँग सम्वन्धित उद्योग संचालन गर्न पनि नदिने उनले सेतोपाटीलाई बताए ।

पोखरा– ३३ का निवर्तमान वडाध्यक्ष आचार्यले महानगरको कार्यपालिका बैठकले टिमुरपाटामा ल्याण्डफिल साइट बनाउने निर्णय नै नगरेको दाबी गरे । फोहोर जन्य पदार्थबाट उत्पादन हुने वस्तुका उद्योग लैजान आफुले भनेको उनले बताए ।

‘हामीले पोखराका विभिन्न ७ ठाउँमा फोहोर जम्मा गरेर वर्गीकरण गर्ने र टिमुरपाटामा फोहोरजन्य पदार्थबाट विभिन्न सामाग्री बनाउने उद्योग खोल्ने भनेका हौं,’ उनले भने, ‘कार्यपालिका बैठकले के निर्णय लेख्यो मलाई थाहा भएन ।’

राजनीतिक दलका स्थानीय कार्यकर्ताले अवरोध गर्ने भन्दै मेयर आचार्यलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै मेयर आचार्यले ल्याण्डफिल साइटका लागि बजेटमा विनियोजन गरेको १० करोड रुपैयाबाट अध्यन गर्ने बताएका छन् । पोखराका जुनसुकै ठाउँमा अध्यन गरिने बताएर अवरोधमा उत्रिएका दलका स्थानीय कार्यकर्तालाई थामथुम पारेका छन् ।

अध्यनका आधारमा टिमुरपाटा नै सबैभन्दा उपयुक्त ठहर भएपनि उक्त स्थानमा ल्याण्डफिल साइट, फोहोरमा आधारित उद्योग केही पनि खोल्न नदिने नेपाल समाजवादी पार्टीका गण्डकी अध्यक्ष आमोद बताउँछन् । ‘उद्योग खोलुन्, कि ल्याण्डफिल साइट बनाउन्,’ उनले भने, ‘कुनै पनि हालतमा टिमुरपाटामा हुँदैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->