बागलुङ/ अभिभावकले बालबालिकालाई घरबाटै खाजा बनाएर पठाउन् भनेर जंगफुड निषेध गरिएको छ । बागलुङ नगरपालिका–७ को गौरीशंकर प्राविमा जंकफुड ल्याएको भेटेमा विद्यालयले दिने खाजा खर्च नदिने निर्णय गरेको हो । यो निर्णयले अभिभावकले घरबाटै नियमित खाजा बनाएर पठाइदिन थालेका छन् ।
विद्यालय छेवैका पसलबाट नियमित जसो चाउचाउ, चकलेट लगायतका जंकफुड ल्याउने, प्लाष्टिकजन्य फोहोर जथाभावी फाल्ने क्रम बढेपछि विद्यालयले घरबाटै खाजा ल्याउने निर्णय गरेको थियो । उक्त निर्णय मान्नेलाई सरकारले दिएको खाजा खर्च उपलब्ध गराउने र नत्र नदिने भएपछि नियमित रुपमा घरघरबाट खाजा बनेर आउने गरेको प्रधानाध्यापक सरिता गौतम सापकोटाले बताइन् ।
नेपाल सरकारले प्राथमिक तहका बालबालिकालाई दैनिक १५ रुपैयाँ खाजास्वरुप दिने व्यवस्था गरेको छ । ‘विद्यालयले एकमुष्ट पैसा दिएपछि जे ल्याएपनि कराउनै पर्ने थिएन, तर जंकफुडले बालबालिकाको पेट दुख्ने र पैसा नभएका अभिभावक र विद्यार्थीलाई एकरुपता गराउन नसकिने भएपछि यो निर्णय गर्नु परेको हो’ गौतमले भनिन्, ‘अहिले बालबालिकाले खाजा खाँदा धनी र गरिवको छोराछोरी भनेर देखिदैन ।’ विद्यालयले एकमुष्ट रकम दिएर दैनिक खाजाको क्यालेन्डर पनि घरमा पठाइदिएको छ ।
अभिभावकलाई पनि यो निर्णयले सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र पौडेलले बताए । ‘हरेक दिन फरक फरक खाजा खुवाउन पनि सकिएको छ’ पौडेलले भने, ‘बालबालिका पनि रमाएर खाजा खान तयार हुन्छन् ।’ तर तोकेको दिन सबैको खाजा एकै प्रकारको हुनुपर्ने प्रावधान छ । उनका अनुसार विद्यालयले हरेक आइतवार रोटी र तरकारी, सोमबार मकैभट्ट र मंगलवार अण्डा तरकारीको व्यवस्था गर्न क्यालेन्डर बनाइएको हो । त्यस्तै बुधबार हलुवा पिठो, बिहिबार चना र शुक्रवार खट्टे घिउ खुवाउने गरिएको हो । विद्यालयले दिएको तालिका अनुसार सबै बालबालिकाको खाजा एकै प्रकारको भएपछि मिठो नमिठो भन्ने अवस्था नरहेको गौतमले बताइन् ।
कतिपय विद्यालयले भने सामाग्री किनेरै अभिभावकलाई दिने गरेका छन् । बानपा–८ को सिगानास्थित बौडे चउर माबिमा भने बिद्यालयले सामाग्री खरिद गरेर दामासाही दिएको हो । यसरी दिंदा थोरै खर्चमा धेरै सामाग्री किन्न सकिएको अभिभावकले बताए । खाजाको क्यालेन्डर बनाएर नियमित घर घरबाट ल्याएको खाने बानीले बालबालिकाको स्वास्थ्य राम्रो भएको गौतमले बताइन् । उनीहरुको कामबाट शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कुश्मराज उपाध्यायले प्रभावित भएको बताए । ‘विद्यालयले असाध्यै राम्रो काम गरेको रहेछ’ उपाध्यायले भने, ‘खाजाको एकरुपता भएको छ, धनी र गरिब बीचको खाडल पनि पुरिएको देखियो ।’ मिठो मसिनो मात्रै पठउने र जंगफुडमा खर्च गर्नेले पनि तोकिएकै खाजा ल्याउन बाध्य भएपछि बालबालिकामा बिभेद नदेखिएको उनले बताए ।
विद्यालयले प्लाष्टिकजन्य फोहोरको व्यवस्थापनमा पनि एकरुपता ल्याएको छ । प्लाष्टिकजन्य फोहोर ननिकाल्ने, निस्केमा पनि उचित स्थानमा राखेर व्यवस्थापन गर्ने तथा नियमित विद्यालय सफाई गर्ने व्यवस्था समेत भएको अर्का शिक्षक निता गैरेले बताइन् । ‘शुरु शुरुमा शिक्षकले गर्दा बालबालिकामा पनि बानीको विकास भएको छ’ गैरेले भनिन्, ‘राम्रो आचरण बसाल्दा समाजलाई पनि फाइदा भएको छ ।’





