शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बन्दुकभन्दा ‘सहनाइ’ बाटै सन्तुष्ट छन् दीपेन्द्र

बन्दुकभन्दा ‘सहनाइ’ बाटै सन्तुष्ट छन् दीपेन्द्र

माओवादी सशस्त्र सेनामा रहँदा उनले ९ वटा युद्ध लडे,शान्ति प्रक्रियापछि घर न घाटका बने अनि जहान पाल्न खाडी भासिए ।


  • हरिकृष्ण गौतम
  • भाद्र २० २०७९, सोमबार

तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्धमा कलिलै उमेरमा होमिएका बेनी नगरपालिका–२, ज्यामरुककोटका दीपेन्द्र परियाको साथका हातहतियार हुन्थ्यो । सामान्य बम, ग्रिनेड, पेस्तोल, थ्री नट थ्री र एसएलआरका लगायतका हतियारसँग खेल्दै उनले आधा दशक बिताए । नौवटा जिल्ला सदरमुकाम आक्रमणमध्ये सैन्यवल र व्यापकताको दृष्टिले सबैभन्दा ठूलो मानिएको बेनी आक्रमण र पाल्पाको तानसेन बजार भिडन्तमासहभागी भए । २०५२ फागुन १ गतेबाट सुरू भएको युद्धलाई समर्थन गदैं ०५९ सालमा जनसेनामा भर्ती भएका परियारसँग करिब एकदर्जन साना–ठूला भिडन्तमा मृत्युसँग पौँठेजोरी गरेको अनुभव छ ।

समाज र राज्य परिवर्तन गर्ने सकिन विश्वाससहित ‘मर्न र मार्न’तयार भएका परियार शान्तिप्रक्रियापछि यता न उताका भए । परिवारको हातमुख जोड्न समेत धौ–धौ भएपछि खाडी मुलुक साउदी अरबमा ५ वर्ष बिताए । युद्ध र खाडीको अनुभवपछि परियार अहिले आफ्नो पुरानो सीप प्रयोग गरि समाजमा संघर्ष गरिरहेका छन् । खाडीबाट फर्किएपछि दुई छाकको जोहो गर्न पुख्र्यौली पेशा निरन्तरता दिँदै हातमा सहनाइ समातेर नौमति र पञ्चेबाजामा व्यस्त छन् । गोली बारूद खेलाएको विगतलाई बिर्सँदै अहिले पञ्चे र नौमति बाजाको मुख्य भूमिकामा रहेको सहनाइलाई कमाइको माध्यम बनाएका छन् । ८ वर्षकै कलिलो उमेरमा सहनाइ सिकेका परियार अहिले गाउँदेखि सहर बजारमा हुने व्यक्तिगत तथा सार्वजनिक कार्यक्रममा आफ्नै नेतृत्वमा पुग्छन् ।

परियारले सहनाइमा भाका निकालेर, नरसिंगा, ढलकी, झ्याली र दमाह बजाउने विवाहसहितका समारोहमा नाच्नेको भीड लाग्छ ।‘युद्धबाट फर्किएपछि मैले गरेका सबै संघर्षहरूभन्दा यो पेशाले सन्तुष्टि मिलेको छ,अब पुख्र्यौली पेशालाई नै निरन्तरता दिन्छु’, परियारले भने । यूद्धमा बन्दुक, खाडीमा फलाम समातेको हातले अहिले देशका विभिन्न जिल्लामा पुगेर प्रशिक्षण समेत दिने गरेको परियारले बताए । उनले कोहलपूर, चितवन, कास्कीलगायतका जिल्लामा समेत पुगेर एक महिनासम्म प्रशिक्षण दिएका छन् । उनले प्रशिक्षकको रुपमा न्यूनतम ३० हजारदेखि ६० हजारसम्म लिएको बताए ।

ज्यामरुककोट नौमति बाजा समूहमार्फत् उनले स्थानीयस्तरमा तालिम दिने गरेका छन् ।
परियारको मुख्य भूमिका सहनाइ भएपनि कर्नलसहित नौमति र पञ्चे बाजामा रहेका सबै बाजा बजाउने गरेका छन् ।परियारलाई रघुगंगा गाउँपालिका वडा नं २ का आशिष परियार र बेनी नगरपालिका–५ खोरगैराका रामजी परियारले ट्याम्को बनाएर साथ दिने गरेका छन् । म्याग्दीमा तीनै जना एउटै समूहमा राखेर बोलाउने गरिन्छ ।म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ का आशिष परियारले ढलकी बाजामा फरक स्वाद दिने गर्छन् । उनी पुग्ने हरेक कार्यक्रम, विवाहलगायतका समारोहमा आफूले ढलकीमात्रै बजाउँदैनन्,नाच्दै अरूलाई पनि नचाउँछन् ।

पन्चेबाजा लोप हुदै

एउटा टिम बनाएर पन्चेबाजा बनाउँदै हिडेका दीपेन्द्रले नयाँ पुस्ताले चासो नदिँदा पञ्चेबाजा बजाउने प्रचलन लोप हुँदै गएको गुनासो गरेका छन् । उनले आफ्नो समुहमा रहेका यूवाहरु समेत घरखर्च चलाउने र अन्तिम गन्तवय वैदेशिक रोजगारी नै भएको बताउने गरेको बताउँदै बुढापाकाले मात्रै पन्चे र नौमति बाजाको संरक्षण सम्भव नभएको बताए । उनले स्थानीय सरकारले वडास्तरमै तालिम तथा जिल्लामा समेत प्रशिक्षण केन्द्र बनाएर बाजाको संरक्षण गर्नुपर्ने बताए ।

पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण केहीवर्षपछि जनशक्ति नै पाउन मुस्किल हुने बताए । ‘मैले वडाका जनप्रतिनिधिलाई पनि भनेको छु,अब यो पेशाबाट पनि घरखर्च चलाउन सकिन्छ,, बाजाको संरक्षणमा सरकारी निकायबाट चासो कम भयो’,दीपेन्द्रले भने । विवाह–ब्रतबन्ध तथा शुभकार्यमा बजाइने बाजाको संरक्षणमा विनियोजित बजेटलाई समेत अन्य कार्यक्रममा खर्च गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ । पछिल्लो समय परियार जातिले मात्र नभइ मगर तथा अन्य समुदायले समेत पञ्चेबाजा बजाउने गरेपनि दीगो छैन् । नेपालको राष्ट्रिय बाजाका रूपमा परिचित पन्चेबाजाको संरक्षण र सहभागिताका ध्यान दिन बेनी नगरपालिकालाई समेत उनले विशेष अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->