पोखरा/आइतबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा कास्कीमा रहेका भूमिहीनमध्ये ३९ परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरियो ।
नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलासहितको उपस्थितिमा उनीहरुलाई पुर्जा वितरण गरिएको हो । मन्त्री शशी श्रेष्ठले पुर्जा प्राप्तिपछि भूमिहीन जनताले राज्यको नागरिक भन्न पाउने र नागरिकलाइ पुर्जा दिनु राज्यको दायित्व रहेको बताइन् । उनले हरेक निर्वाचनमा लालपुर्जालाई भोट बैंक बनाउने प्रवृत्तिको अन्त्य गरिने उद्घोष गरिन् ।
आयोगका अध्यक्ष केशव निरौलाले भने संविधानले व्यवस्था गरेको अधिकार कार्यान्वयन गर्नु गौरवको कुरा रहेको बताए । उनले पुर्जा पाएपछि अब समाजमा अपहेलित हुन नपर्ने आशा व्यक्त गरे । राजनीतिक स्वार्थका कारण पुर्जा वितरण हुन नसकेको बताउँदै उनले स्वीकारे ।
पुर्जा बितरणको क्रममा पोखरा महानगरपालिका १४ चाउथेका खड्ग बिकको नाम बोलाइयो । उनी मञ्चमा पुगे र मन्त्रीको हातबाट जग्गाधनी पुर्जा लिए । त्यसपछि उनी खुसीले निहुरिएर आदार गर्दै नाच्न सुरु गरे । सेतो पुर्जा पाएको २८ वर्षपछि रातोपुर्जा पाएको भन्दै उनी मख्ख परे । उनी जस्तै अरु पनि मख्ख थिए । पुर्जा पल्टाएर हेर्न थालेपछि उनको अनुहार फुङ्ग भयो ।
पुर्जामा शर्तहरु भनि लेखिएको छ,‘जग्गाधनी दर्ता प्रमाण श्रेष्ता मालपोत कार्यालयले कायम गरेको मितिबाट यो जग्गा र यसमा बनेको घर २५ वर्षसम्म बेचविखन दान दातव्य वा अन्य कुनै व्यहोराले हक हस्तान्तरण गर्न पाइने छैन् । तर, दर्तावालाको मृत्यु भएको कारण अंशवण्डा गर्नु पर्दा हकवाला वा अंशियारको नाममा नामसारी दर्ता गर्न पाइने छ ।’ यो शर्त उनलाई चित्त परेन ।
२५ वर्षसम्म बेच्न नपाउने भएपछि रातोपुर्जा प्रदान गर्नुको कुनै औचित्य नभएको उनको भनाइ थियो । ‘के–के न पाएँ भनेर नाचेँ, हात्ति आयो हात्ति आयो फुस्स । यो सब झुटो रहेछ । ०५२ सालमा पाएको सेतोपुर्जा र यसमा केही फरक नै भएन खालि रंगमात्रै’ उनले भने,‘कामको लालपुर्जा नै होइन् । हामी बसेको जग्गा कसले के गर्ने हो र ? म यो जलाइदिन्छु ।’
उनीमात्र होइन,पुर्जा पाउने अन्य परिवारको चासो पनि बेच्न पाइन्छ कि पाइँदैन भन्ने थियो । बिक भन्छन्,‘सबैको कुरा नै यही हो । ४ आना जग्गा ४० वर्षपछि पाइयो, अब २५ वर्ष पछि त हामीलाइ के भयो र त्यो ? हामी मर्दा केही काम नलाग्ने भयो ।’
मेरो नामको लालपुर्जामा अब म मर्न पाएँ : सरुमा
लामाचौर खत्री टोलमा बस्दै आएकी ७० वर्षीया सरुमा खत्रीको परिवारलाइ त्यहाँबाट पञ्चायत कालमा लखेटियो । ४० वर्षदेखि लामाचौर भुन्पुरे बस्दै आएकी खत्रीले लालपुर्जा पाएपछि आँसु खसालिन् । लालपुर्जा देखाउँदै आफ्नो जीवनको अमूल्य सम्पत्ति रहेको बताइन ।
गहभरि आँसु पार्दै उनले भनिन्,‘मलाइ रमाइलो लागिरहेको छ । भीर छ, त्यही टुक्रो पनि कतिबेला लान्छजस्तो छ । दाजुभाइ–दिदीबहिनी सम्पत्तिवाला छन् । देवर–जेठाजु सम्पत्तिवाला छन्, मेरो केही पनि छैन’, उनले भनिन्, ‘तै पनि यहाँ लालपुर्जा पाएँ, मेरो ठाउँमा म मर्न पाएँ । मेरो नामको लालपुर्जामा मर्न पाएँ ।’श्रीमानलाई क्यान्सर भएपछि उपचारमा भएको सम्पत्ति सकिएको र घरवारविहीन बनेको उनको भनाइ थियो । ‘सरसम्पत्ति केही नभए पनि अलिअलि डोकोपोको बोकेर हिँडियो ।
बुढालाई क्यान्सर रोग लग्यो । उपचार गरेँ । खाने आहारा पनि भएन । भारी बोकँ,े छोराछोरी बोर्डिङ स्कुल पढाएँ, तै पनि भएन, खाली पोको र डोको बोकेँ’, उनले भनिन् । उनीसँग अहिले कान्छा छोराको परिवार साथमा छन् । जेठो छोरा भने विवाह गरेपछि छुट्टिएर बसेको उनी सुनाउँछिन । पूँजीपतिको छोरी भए पनि आफ्नो जग्गा जमिन पञ्चायतकालमा जेठाजुहरुले खाइदिएको उनको जिकिर छ । लामाचौरमा बस्ने उनीमात्रै भूमिहीन हुन् ।
पोखरा १४ छिनेडाँडाका पृथेबहादुर सार्कीले २७ वर्षपछि पुर्जा पाएको सुनाए । ‘यो पुर्जा कुरेको २७ वर्ष भयो । २०५२ सालमा बुझेको बल्ल यो रातो पाइयो । एउटा पुस्ता सकिने बेलामा पाइयो’, उनले भने, ‘हामीलाइ ढुक्क भएको छ । यसका लागि धेरै संघर्ष गरियो । पहिला झुप्रो बनायौँ, अहिले टिनको घर बनाएको छु । अब आनन्दको निन्द्रा सुत्न पाउनेछु ।’





