म्याग्दी/ बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ। बेनीदेखि मुस्ताङको घाँसासम्मका चार ठाउँमा गएराति पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
बेनी नगरपालिकाको जलेश्वर, रघुगंगा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्कविच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्रबहादुर नेपालीले सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीधा यातायात सम्पर्कविच्छेद भएको बताए । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक ७६ किलोमिटर दूरीको छ ।
सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दालाई आवतजावतका साथै स्याउ र आलु निकासीको काम प्रभावित भएको छ । मुस्ताङ भ्रमण, कागबेनीमा सोह्र श्राद्ध गर्न तथा मुक्तिनाथ दर्शनका लागि जाने तीर्थयात्री तथा पर्यटकलाई सास्ती भएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक विभाग र निर्माण कम्पनीका उपकरण परिचालन गरेर सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको जनाएको छ ।
आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले काभ्रेभिर, बैसरी र नैनीबगरमा निरन्तर पहिलो खसेकाले मर्मतमा समस्या भएको बताए । बैसरीमा बुधबार साँझ पहिरो पन्छाएर खोलिएको सडक पुनः अवरुद्ध भएको छ ।





