शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

वन क्याम्पसले पहिलो ‘क्यूएए’ पाएपछि पोखरामा खुशी

वन क्याम्पसले पहिलो ‘क्यूएए’ पाएपछि पोखरामा खुशी


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०७९, शुक्रबार

पोखरा – विश्वविद्यालय अनुदान आयोगले पोखराको वन विज्ञान अध्ययन संस्थानलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्रदान गरेको छ । पोखरा क्याम्पसले गुणस्तर मूल्यांकनका सबै चरण सफलतापूर्वक पूरा गरेपछि भदौ २६ मा क्यूएए प्राप्त गरेको हो ।

उच्च शिक्षामा कृषि तथा वनतर्फ क्यूएए पाउने पोखराको वन क्याम्पस नेपालकै पहिलो हो । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमा हाल स्नातक (बीएससी फरेस्ट्री) र स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा ५ सय ४८ विद्यार्थी अध्ययनरत छन् ।

स्नातकोत्तर तहमा वन, सामुदायिक वन, प्राकृतिक स्रोत व्यवस्थापन तथा ग्रामीण विकास र जलाधार व्यवस्थापन कार्यक्रम सञ्चालनमा रहेका छन् ।

क्याम्पसले बिहीबार एक कार्यक्रम गरी क्यूएए प्रमाणपत्र पाएको खुसी साटेको छ । कार्यक्रममा क्याम्पस प्रमुख विनोदप्रसाद हेयजुले लामो प्रयासपछि क्यूएए प्रमाणपत्र पाएकोमा खुसी व्यक्त गरे । उनका अनुसार सन् २०१६ देखि क्यूएएको यात्रा सुरु गरे पनि गति लिन सकेको थिएन । पुन: २०१८ मा क्यूएएको प्रक्रियामा प्रवेश गर्‍यो ।

प्रक्रियामा गएको चार वर्षपछि क्याम्पसले क्यूएए पाएको हो । ‘शिक्षक, कर्मचारी, विद्यार्थी सबैले आ-आफ्नो ठाउँबाट काम गरेकाले क्यूएए पाउन सफल भयौं,’ उनले भने, ‘अब यसको दिगोपन कायम राख्ने चुनौती छ ।’

सहप्राध्यापक अर्जुनप्रसाद बास्तोलाले स्थापनाको ४१ वर्षमा क्यूएए पाउनु महत्त्वपूर्ण उपलब्धी भएको बताए । उनले भने, ‘अनुसन्धान कौशल, व्यावहारिक ज्ञान, सीप र आचरणको विकासले एक्काइसौं शताब्दीको प्राविधिक शिक्षाको सार्थकतालाई पुष्टि गर्ने भएकाले यसको सम्बोधनतर्फ आगामी कार्ययोजना केन्द्रित गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->