पोखरा
नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं कास्की जिल्ला सम्मेलन सोमबार हुने भएको छ ।
दलित समुदायको हकहितका लागि लड्दै आइरहेको समाजले नयाँ नेतृत्व चयनका लागि सम्मेलनको अयोजना गर्न लागेको हो ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा सम्मेलन बारे जानकारी दिदैँ उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य एवम् सम्मेलन संयोजक दानबहादुर विश्वकर्माले विगत लामो समयदेखि पार्टीको कुनैपनि भातृ संगठनको सम्मेलन हुन नसकेको बताए ।
उनले २०६२÷०६३ सालपछि विभिन्न कारणले आफुहरुको संगठनको सम्मेलन नहुँदा पुरानो नेतृत्वले ११ वर्ष काम गरेको सुनाए ।
‘जनआन्दोलन पछि पहिलो र दोस्रो संविधानसभा निर्वाचनका लागि भनेर सम्मेलन हुन सकेन । त्यसपछि भुकम्प, नाकाबन्दि, स्थानीय तह निर्वाचन र कोरोनाका कारण सम्मेलन हुन सकेन’ उनले भने,‘अब भने संगठनले नयाँ नेतृत्व ल्याउने छ ।’
समाजले पार्टीभित्रै दलित हकहितका लागि आवाज उठाइ संघर्ष गर्दै आइरहेको उनले बताए । अधिवेशनमा जिल्लाका पाँच पालिकाबाट ४ सय ५६ प्रतिनिधिको सहभागिता रहने उनले बताए ।
पोखरा ८ सृर्जनाचोक स्थित साइमन पार्टी प्यालेसमा असोज ३ अर्थात सोमबार ७ औं जिल्ला सम्मेलन हुँदैछ ।





