म्याग्दी/दुई बर्ष अगाडी म्याग्दीमा सरुवा रोग डेंगु संक्रमणको ग्राफ भयावह थियो। डेंगुका शंकास्पद बिरामीको बेनी अस्पतालको बहिरंग कक्ष (ओपीडी),इमरजेन्सीका साथै ग्रामिण क्षेत्रका स्वास्थ्यचौकीमा लाइन हुन्थ्यो । सहर बजारदेखि दुर्गम बस्तीसम्म संक्रमतिको संख्या नाटकीय रूपमा वृद्धि भएको अवस्थामा करिब डेंगु नियन्त्रण बाहिर गइसकेको थियो । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा,गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले समेत म्याग्दीलाई गण्डकी प्रदेशकै सबैभन्दा धेरै संक्रमित भेटिएकाले डेंगुले प्रकोपको रुप लिएकाले नियन्त्रण गर्न कठिन हुने संकेत गरेको अवस्थामा जिल्लामा डेंगु संक्रमणको नियन्त्रणका लागि गरिएका अभियानले यसपटक संक्रमितको संख्या ह्वात्तै घटेको छ ।
डेंगुको संक्रमण फैलाउने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने,डेंगु फैलिने स्थानहरूको पहिचान गरी थप कार्ययोजना सहितको गतिविधिले यसबर्ष संक्रमतिको संख्या घटेको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए । ‘सचेतनामुलक कार्यक्रमले संक्रमतिको संख्या घटेको छ, जोखिम कायमै रहेपनि यसपटक नियन्त्रण बाहिर जाने सम्भावना छैन’ प्रमुख लम्सालले भने । स्वास्थ्य कार्यालयले स्थानीय तहसँग सहकार्य गरी डेंगु सार्ने लामखुट्टे पाइने सम्भावित जोखिम मानिएको बेनी नगरपालिका, मंगला, मालिका र रघुगंगा गाउँपालिका भित्रका विभिन्न स्थानमा समेत प्रदेशबाटै टोलीले पहिचान गरी ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन समेत गरिएको थियो ।
स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले डेंगुबाट जोगिन ‘खोज र नष्ट’ नै सबैभन्दा पहिलो र सुरक्षित विधि भएकाले विगतमा सर्वसाधारणले भागेको समस्या, समाधानका उपायका बारेमा जानकार भएकाले यसबर्ष संक्रमणको दर उकालो लाग्न नसकेको बताए ।‘हामीले डेंगु नियन्त्रणका लागि सधै सचेतनामुलक कार्य गरेका छौ,‘सर्वसाधारण सचेत भएमा यो सजिलै नियन्त्रण गर्न सकिन्छ’ प्रमुख लम्सालले भने । उनले म्याग्दीका स्थानीय तहले समेत डेंगु नियन्त्रण्का लागि आवश्यक रणनीति तय गरेको बताए ।
सन् २०१९ देखि म्याग्दीमा नियमित डेंगु बिरुद्धको सचेतनामुलक अभियानसँगै सम्भावित जोखिम स्थानको पहिचान गरी निरन्तर खोजले सहज भएको बेनी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । म्याग्दीको सदमुकाम बेनीमा सबैभन्दा धेरै जोखिम सवारीसाधनको ग्यारेजमा राखिएका थोत्रा टायरमा जमेको पानीमा डेंगु फैलाउने लामखुट्टेको लार्भा भेटिएको अवस्थामा अहिले ग्यारेजका मालिक, मजदुरले समेत आफ्नै पहलमा सरसफाई गर्ने गरेका छन् । डेंगु सार्ने लामखुट्टे गाउँभन्दा सहरबजारमा बढी पाइएको अवस्थामा टोल सुधार समिति, आमा समुह, यूवा क्लव सहित विभिन्न सामाजिक संघसंस्थाको समेत सक्रियतामा नियन्त्रणको अभियान सहजै सञ्चालन गरिएको बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठले बताए ।
‘घरमा डेंगु सार्ने लामखुट्टे आफैं मार्ने, समुदायमा सँगै मिलेर नष्ट गर्ने’ अभियान अहिले पनि जारी रहेको बताए ।उनले पानी राख्ने भाँडा, ट्यांकी तथा खाल्डाखुल्डी पुर्ने र पानी राख्ने भाडा साप्ताहिक रुपमा सफा गर्ने, बजारभित्रको कौसीखेतीमा जमेको पानी हटाउन जस्ता अभियान समेत यसपटक सञ्चालन गरिएको छ । म्याग्दीमा हालसम्म भेटिएका संक्रमितको ट्राभल हिस्ट्री जिल्ला बाहिरबाट आएको देखिएको बताए । महामारी रोग विज्ञानले पनि महामारीरोगको अनुसंन्धान र सर्भिलेन्समा ट्राभल हिस्ट्रीलाई महत्वपूर्ण मानिन्छ ।
म्याग्दीमा डेंगुसँगै स्क्रब टाइफसको बिरामी समेत देखिएको बेनी अस्पतालले जनाएको छ । मुसामा हुने किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको सङ्क्रमणको जोखिममा रहेका बिरामीले हेल्चेक्राई गरे कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्ने चिकित्सकको भनाई छ ।





