पोखरा / सत्ता गठबन्धनको भागबण्डामा कास्कीको निर्वाचन क्षेत्र नम्बर २ नेकपा एकीकृत समाजवादी (एस)ले पाउने निश्चित भएपछि पार्टीभित्र कसले हात्त पार्ने भनेर नेताहरुको दौडढुप बढेको छ । गठबन्धनबाट पोखरा महानगरमा एसको तर्फबाट मेयरमा धनराज आचार्यको जितपछि हौसिएका एसका नेताहरू यो मौकामा विशेषगरी चार नेताहरु टिकटका लागि दौडिएका छन् ।
नेकपा एस कास्कीका प्रचार विभाग प्रमुख पूर्ण लामाका अनुसार क्षेत्र नम्बर २ बाट ७ जना आकांक्षीको नाम केन्द्रमा सिफारिस भएको छ । पार्टी नेताहरु तुलबहादुर गुरुङ, शिवजी गुरुङ, मदन आचार्य, दाताराम आचार्य, झपिन्द्रराज रेग्मी, शिवराज आचार्य, शर्मिला पौडेलको नाम केन्द्रमा सिफारिस भएको छ ।
यो क्षेत्रबाट सिफारिस भएका बाहेक नेकपा एसका नेता श्रीनाथ बराल पनि यसै क्षेत्रबाट लड्नका लागि लबिङमा छन् । कास्की क्षेत्र १ माओवादीको भागमा पर्ने भएपछि बराल कास्की २ बाट लड्न इच्छुक देखिएका छन् ।
८ जना आकांक्षी रहेको यस क्षेत्रमा चुनावी टिकट भने शिवजीले पाउने सम्भावना बढेको छ । शिवजीलाई पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका यसै क्षेत्रका नेता तुलबहादुर गुरुङको समर्थन रहेको नेताहरुको भनाई छ । टिकट पाउने लगभग पक्का भएपछि शिवजीले पृथ्वीनारायण क्याम्पसको उपप्राध्यापक पदबाट राजीनामा दिन लागेको वताइएको छ ।
शिवजीलाई टिकट दिन तुलबहादुर आगामी चुनाव नलड्न पनि तयार छन् । पार्टीलाई अहिले सबल र बलियो उम्मेदवार चाहिएकाले तुलबहादुरले शिवजीलाई ‘वाकओभर’ दिन लागेका हुन् । युवा भएपनि चिनिएको अनुहार भएकाले शिवजीलाई नै उठाउनुपर्नेमा तुलबहादुर ‘कन्भिन्स’ छन् ।
‘पार्टीमा मैले जानकारी गराइसकेको छु, मेरो ठाउँमा अब युवालाई सार्नुपर्छ,’ तुलबहादुर भन्छन्, ‘मेरो ठाउँमा न्यु फेस, योंग फेस ल्याउनुपर्छ । यस क्षेत्रमा चिनिएको मान्छेलाई म चुनाव लड्न छाड्छु ।’ उनले शिवजीतर्फ इंगित गरे । यद्यपी तुलबहादुरले अहिले श्रीनाथ बराललाई ‘एड्जस्ट’ गराउन सम्भावना पनि खोजिरहेको नेकपा एस कास्कीका नेताहरू बताउँछन् ।
चुनावी टिकटको रेसमा रहेका अरु नेतालाई पार्टीका जिल्ला नेताकै समर्थन भने छैन । पार्टीले कम क्षेत्रमा टिकट पाउने भएकाले सबैमा जित्नै पर्ने हुँदा सबैतिर जित्ने उम्मेदवार नै उठाउनुपर्ने एकखालको सहमति नेकपा एसका नेताहरूमा छ । यसैले कास्की २ बाट सिफारिस भएका अरु नेताको केही न केही कमजोरी देखिने र शिवजी नै उम्मेदवार बन्ने नेकपा एसका जिल्ला नेताहरू बताउँछन् ।
‘हामीले पहिलो त थोरै क्षेत्रमा क्यान्डिडेट दिन्छौं । जित्ने गरेर नै उठाउने हो, सबैमा । कास्की २ मा जित्न सक्ने, युवा तथा बौद्धिक नेता भएकाले शिवजीको सम्भावना उच्च छ,’ एक नेताले भने ।
टिकटको रेसमा रहेका मदन आचार्य र श्रीनाथ बराललाई टिकट नदिन यहाँका नेताहरूकै लबिङ छ । पर्यटन बोर्डका सदस्य रहेका आचार्य काठमाडौं केन्द्रित रहेको र यहाँको भूगोलमा काम नगरेको आरोप छ । यद्यपि उनलाई पोखराका मेयर धनराज आचार्यको साथ रहेको उनी बताउछन ।
बराललाई १ बाट २ मा गएर लड्नु पार्टीकै लागि आत्मघाती हुन सक्ने आँकलन यहाँका नेताहरुको छ । बराललाई नदिन मदन आचार्यले पनि माधव नेपाललाई लबिङ गरेको बताइन्छ । क्षेत्र परिवर्तन गरेर आए जिताउन नसकिने नेताहरूको भनाइ छ ।
मदन आचार्य पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यका भतिज पर्छन् । यसैले पनि मदनलाई टिकट दिलाउन धनराजले पनि पार्टीमा जोडबल गरिरहेका छन् । धनराजकै कसरतमा मदनले टिकट पाउनुपर्ने विषय पार्टीमा उठेको यहाँका नेता बताउँछन् ।
पर्यटन व्यवसायी तथा बैंकिङ क्षेत्रमा समेत रहेका मदन आचार्यको पार्टी कार्यक्षेत्र भने काठमाडौंमै पेशागत व्यवसाय कमिटीमा हो । उनका नातागोता कांग्रेसका नेता भएकाले कांग्रेसको सबै भोट तान्न आफू बलियो उम्मेदवार रहेको दाबी छ ।
‘धन भएको जन नभएको नेता हुनुहुन्छ मदन आचार्य, यो क्षेत्रमा पार्टीकै मान्छेले उहाँलाई चिन्न गाह्रो छ,’ एक नेताले भने, ‘श्रीनाथजी आफ्नो क्षेत्र छाडेर आउनु चाहिँ आत्मघात हुन सक्छ, गेम चेन्जर बन्ने गुरुङ मत पनि पार्टीले गुमाउँछ ।’
तर, माधव नेपालका सबैभन्दा नजिक तुलबहादुरको भूमिका यहाँ निर्णायक हुनेछ । अहिले एकाएक चर्चामा आएका शिवजी गुरुङ प्राज्ञिक व्यक्ति हुन् । हाल उनी पृथ्वीनारायण क्याम्पसको उपप्राध्यापक हुन् । २०७४ देखि प्राध्यापनको क्षेत्रमा रहेका शिवजीले पाटन संयुक्त क्याम्पसबाट प्राध्यापन थालेका थिए । २०७७ देखि उनी पृथ्वी नारायण क्याम्पसको समाजशास्त्र विभागका उपप्राध्यापक छन् ।
उनी विद्यार्थी राजनीति गरेर नेकपा एमालेमा उदाएका नेता हुन् । उनी २०६० मा पृथ्वीनारायण क्याम्पसको स्ववियु सचिव बनेका थिए । माधव नेपालले पार्टी फुटाएर नेकपा एस गठन गरेपछि भने उनी नेकपा एसमा छन् । अहिले उनी नेकपा एसको गण्डकी प्रदेश कमिटी सदस्य र पार्टीको केन्द्रीय स्कूल विभाग सदस्य छन् ।
डेभलपमेन्ट स्टडिज र समाजशास्त्रमा स्नातकोत्तर उनले समाजशास्त्रमा एमफिल गरेका छन् । उनी मार्टिन चौतारीको ‘रिसर्च फेलो’ पनि हुन् ।
यस्तो छ कास्कीमा २ मा नेकपा एसको आधार
कास्की २ मा नेकपा एसले चुनाव जित्न सक्ने आत्मविश्वास पार्टीका जिल्ला नेताहरूमा छ । कास्कीका प्रचार विभाग प्रमुख पूर्ण भन्छन्, ‘११ वडामै संगठन बनिसक्या छ । भर्खरको चुनावमा मेयर पदमा पनि राम्रो मत ल्याएर जित्यौं । कास्की २ मा हामीले चुनाव जित्ने आधार मजबुत छ ।’
पार्टीका पाका नेता तुलबहादुर गुरुङ पार्टीले नयाँ र युवा अनुहार उठाउन सके जितिने आँकलन गर्छन् ।
कास्की २ मा गुरुङको मत उल्लेख्य भएको र अरु दलले सो समुदायबाट उम्मेदवार दिने सम्भावना नरहेकाले तुलवहादुरले आफू नउठ्दा शिवजी अघि सार्न युवा र नयाँ भनिरहेका छ ।
स्थानीय तह चुनावमा पोखरा महानगरपालिकाको मेयरमा एमाले हार्दा उपमेयरमा निर्वाचित मञ्जुदेवी गुरुङले कास्की २ कै गुरुङ मतका कारण चुनावमा सहज भएको थियो । उक्त चुनावमा कास्की २ मा गठबन्धनका उम्मेदवार धनराज आचार्य ६ सय मतले अघि थिए । तर, यही क्षेत्रमा गुरुङ मत पाएपछि एमालेकी मञ्जुदेवी गुरुङले गठबन्धनकी उम्मेदवारलाई २२ सय बढी मतको अन्तर पारेकी थिइन् ।
यहाँका गुरुङको मतले शिवजीलाई सहज हुने तुलबहादुर बताउँछन् । ‘अघिल्लो चुनावमा पनि देख्यौं, गुरुङहरूको भोटले उपमेयरमा मञ्जु गुरुङले जित्नुभयो । भोटको प्याटर्नले त्यही देखायो,’ उनले भने ।
यस्तो छ स्थानीय तह चुनावको आकाडा
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनले कास्की क्षेत्र नम्बर २ मा कडा टक्कर हुने देखाउँछ । त्यहाँको मतको आँकडा अनुसार नेकपा एमाले र गठबन्धनका दलको उपस्थिति लगभग उस्तै उस्तै नै छ । कास्की २ का वडाहरूमा गठबन्धनका वडाध्यक्षले पाएको मत नेकपा एमालेका उम्मेदवारले पाएको मत भन्दा केहीमात्रै बढी छ ।
कास्की २ मा एमालेले गत स्थानीय निर्वाचनमा २१ हजार १६४ मत पाएको थियो । यता नेपाली कांग्रेसले १९ हजार ८ मत पाउँदा नेकपा एसले २ हजार ५३, माओवादीले ११ सय ९८ र जसपाले १५३ मत पाएको थियो ।
गठबन्धन दलको मतलाई जोड्दा एमालेको भन्दा १२ सय ४८ मत बढी हो । कास्की २ मा पोखरा महानगरपालिकाका वडा ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ पर्छन् । यस क्षेत्रमा ७९ हजार १ सय ३८ मतदाता छन् ।
एमालेले विद्यालाई दोहोराउन चाहन्छ
एमाले नेतृत्वले यस क्षेत्रमा विद्या भट्टराईलाई उठाएर सहज जित हात पार्ने सोच बनाएको छ । २०७६ को उपनिर्वाचनमा भट्टराई यस क्षेत्रबाट निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८४ सय मतान्तरले हराउँदै विद्या निर्वाचित भएकी थिइन् ।
विद्याले त्यस चुनावमा २४ हजार ३९४ मत पाएकी थिइन् । कास्की एमालेका नेताहरूको विश्वास पनि क्षेत्र नम्बर २ मा विद्या उठे जितिन्छ भन्नेछ ।





