पोखरा/ २०३६ साल जेठ १० गते तत्कालीन राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरे ।
विद्यार्थी आन्दोलनपछि बाध्य भएर जनमत संग्रह घोषणा गर्दा राजाले भनेका थिए,‘एकातिर लोकसम्मति नै पञ्चायत व्यवस्थाको आधार रही आएको छ भने अर्कोतिर जनआकाङ्क्षाअनुकूल देशको शासन व्यवस्था चलाउनु हाम्रो परम्परा र कर्तव्य रहिआएको छ । त्यसैले देशको विद्यमान परिस्थितिको परिप्रेक्ष्यमा हाम्रा देशवासीहरूले के कस्तो परिवर्तनको चाहना गरेका छन्, सो कुरा स्पष्ट रूपमा बुझी उचित कदम चाल्नको लागि हामीले नेपाल अधिराज्यभर बालिग मताधिकारको आधारमा सम्पूर्ण नेपालीको गोप्य जनमत लिने व्यवस्था गरिने कुराको घोषणा गरिबक्सेका छौँ । यस्तो राष्ट्रिय जनमत लिइँदा दुई मूलभूत प्रश्नहरू गरिने छन् । पहिलो, के हालकै पञ्चायत व्यवस्था कायम राखी त्यसमा सामयिक सुधार गर्दै जाने ? अथवा, त्यसको बदला बहुदलीय शासन व्यवस्था स्थापना गर्ने ?’
नेपालको निर्वाचनको इतिहास पुस्तकमा उल्लेख भए अनुसार राजाको घोषणापछि भगवतीप्रसाद सिंहको अध्यक्षतामा राष्ट्रिय चुनाव आयोग गठन गरियो । मतदाता नामावली संकलन भयो र २०३७ साल वैशाख २० गते बहुदल कि निर्दलीय पञ्चायत रोज्ने मतदान सम्पन्न भयो । सोही दिन चुनाव हुन नसकेका ठाउँमा वैशाख २४ गते उपनिर्वाचन गरियो ।
नेपाली कांग्रेस र केही कम्युनिष्ट पार्टीहरु सो समयमा बहुदलको पक्षमा रहेका थिए भने तत्कालीन नेकपा माले, मोहन विक्रम सिंहको कम्युनिष्ट पार्टीले जनमत सङ्ग्रह बहिष्कार गर्ने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा साम,दाम,दण्ड र भेदको नीति अनुरुप पञ्चायतलाई जिताउन लागिपरेका थिए ।
इतिहासकार गृष्मबहादुर देवकोटाद्धारा लिखित ‘नेपालको राजनीतिक दर्पण’का अनुसार जनमत सङ्ग्रहमा सुधारिएको पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्थामध्ये कुनै एक रोज्ने विकल्प दिइएको सो चुनावमा कुल मतदाता संख्या ७१,९२,४५१ थियो भने २०३६ जेठ १० गतेसम्म २१ वर्ष उमेर पूरा भएकाहरूको मतदाताको रूपमा नाम संकलन गरिएको थियो । चुनवामा ४८ लाख १३ हजार ४८६ (६६.९२५) मत खसेको थियो । खसेको मतमध्ये ३ लाख ७२ हजार ६९ (७.६३५) बदर भएको थियो भने सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा कुल २४ लाख ३३ हजार ४५२ (५४.७९५) र बहुदलीय शासन व्यवस्थाको पक्षमा कुल २० लाख ७ हजार ९६५ (४५.२१५) मत खसेको थियो । ७५ जिल्लामध्ये १९ जिल्लाले बहुदलको पक्षमा मत जाहेर गरेका थिए । बहुदलको पक्षमा बढी मत आएका जिल्लाहरूमा मोरङ, सुनसरी, सिराहा, उदयपुर, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, रौतहट, कास्की, रूपन्देही, पाल्पा, दाङ, बर्दिया, सुर्खेत, डोटी, कञ्चनपुर, डडेल्धुरा थिए ।
बहुदलको पक्षमा गण्डकीको कास्कीमात्रै !
२०३६ सालको जनमत संग्रहमा गण्डकीका ६ जिल्लामध्ये कास्कीले मात्र बहुदलीय व्यवस्थाको पक्षमा मत जाहेर गरेको थियो । त्यो बेला कास्कीमा १ लाख ११ हजार २२१ मतदाता थिए भने ७५ हजार ३६० जनाले मतदानमा सहभागिता जनाएका थिए । खसेकोमध्ये बहुदलको पक्षमा ३९ हजार ७६९ र पञ्चायतको पक्षमा ३० हजार १२ मत रहेको थियो भने ५ हजार ५७९ मत बदर भएको थियो ।
निर्वाचन परिणाम अनुसार जनमत संग्रहताका गोरखामा कुल मतदाता १ लाख १४ हजार ६८६ रहेकोमा ७२ हजार ९८० मत खसेको थियो । जसमध्ये ४ हजार ८५७ मत बदर हुँदा पञ्चायतको पक्षमा ४३ हजार ५६७ र बहुदल २४ हजार ५५६ मत जाहेर भएको थियो । तनहूँमा कुल मतदाता १ लाख १० हजार ५२ रहेकोमा ६८ हजार ७८३ मत खसेको र ६ हजार ३८४ मत बदर भएको थियो । सोमध्ये पञ्चायतको पक्षमा २४ हजार १५६ र बहुदलको पक्षमा ३८ हजार २४३ मत जाहेर भएको थियो । लमजुङमा ७६ हजार ८९२ मतदाता हुँदा ५२ हजार ५६७ जनाले मतदानमा सहभागिता जनाए भने ३ हजार ७०८ मत बदर भयो ।
सदरमध्ये पञ्चायतको पक्षमा २४ हजार ९३९ र बहदुलको पक्षमा २३ हजार ९५० म खस्यो । १ लाख ४८ हजार ९३९ मतदाता रहेको तथा हाल शिक्षित जिल्ला भनेर चिनिने स्याङ्जाले बहुदलको पक्षमा ४१ हजार ९४१ मत जाहेर ग¥यो । पञ्चायतको पक्षमा ४६ हजार २०५ मत खस्दा त्यहाँ १ लाख ४८ हजार ९३९ जना मतदाता थिए । तीमध्ये ९६ हजार ८७६ जना मतदानमा सरिक भएका थिए । ८ हजार ६३२ मत बदर भएको थियो । मनाङमा त्यो बेला ३ हजार ९६० मतदाता थिए । त्यहाँ ३ हजार ९६० मत खसेको थियो । त्यहाँ बहुदलको पक्षमा ४९३ मतमात्र खस्यो निर्दलीय पञ्चायतले ३ हजार ४३ मत पायो । त्यहाँ ३५ मतमात्र बदर भएको थियो ।
हाल गण्डकी प्रदेशमा रहेको तथा तत्कालीन अवस्थामा धौलागिरी अञ्चलमा रहेको पर्वतमा त्यो बेला ८० हजार १६५ मतदाता थिए । त्यहाँ ४९ हजार ९०४ मत खस्दा २ हजार १२८ मत बदर भयो । निर्दलीय पञ्चायतको पक्षमा ३० हजार ८३१ र बहुदलको पक्षमा १६ हजार ९४५ मत खस्यो । ४७ हजार ७५५ मतदाता भएको म्याग्दीमा ३३ हजार २३४ मत खस्दा १ हजार १४९ मत बदर हुनपुग्यो । सदरमध्ये पञ्चायतको पक्षमा २१ हजार ३६ र बहुदल ११ हजार ४९ मत जाहेर भयो ।
७ हजार ९२४ जनसंख्या रहेको मुस्ताङले पञ्चायतलाई भरथेग ग¥यो । कुल ६ हजार ८९९ मत खसेकोमा पञ्चायतको पक्षमा ५ हजार ८९८ र बहुदलको पक्षमा ६८० मत जाहेर भयो । ३२१ मत बदर भए । कम्युनिष्ट प्रभाव रहेको बागलुङमा १ लाख १३ हजार ४६ मतदाता हुँदा ७२ हजार २८७ जनाले मात्र निर्वाचनमा सहभागिता जनाए । त्योमध्ये ५ हजार ७१२ मत बदर भयो भने पञ्चायतको पक्षमा ४५ हजार ५९ र बहुदलको पक्षमा २१ हजार ५१६ मत खस्यो । मुस्ताङका नरबहादुर शेरचन त्यो बेला सहायक संचारमन्त्री थिए । तत्कालीन नवलपरासीले पनि निर्दलीय व्यवस्थालाई नै मतदान गरेको थियो । १ लाख २८ हजार ४५६ मतदाता रहको नवलपुरमा ९४ हजार २७६ मत खसेको थियो भने तीमध्ये ७ हजार १५९ मत बदर भएका थिए । सदरमध्ये पञ्चायतको पक्षमा ४७ हजार २७५ र बहुदलको पक्षमा ३९ हजार ८४२ मत रहेको थियो ।
सधैं बागी काठमाडौं
देशको राजधानी रहेको काठमाडौं खाल्डोले सुधारिएको निर्दलीय पञ्चायत व्यवस्थालाई सोझै अस्वीकार गरिदियो । काठमाडौंमा बहुदलको पक्षमा ८३ हजार ८८४ र निर्दलको पक्षमा ६८ हजार १४० मत खस्दा ७ हजार ९५६ मत बदर भएको थियो भने ललितपुरमा बहुदललाई ३९ हजार ४३ मत र निर्दलको पक्षमा २४ हजार ४७२ मत प्राप्त गरेको थियो । त्यो बेला काठमाडौंमा २ लाख १९ हजार ९६८ मतदाता थिए । ललितपुरमा ३ हजार ६३१ मत बदर भएको थियो ।
भक्तपुरले बहुदलको पक्षमा ३६ हजार ९२८ र निर्दलको पक्षमा ४१ हजार ३४६ मत जाहेर गरेको थियो । भक्तपुरमा ७६ हजार ११६ मतदाता थिए भने ६१ हजार ८८ मत खस्दा ५८ हजार २७४ मत सदर भएको थियो । काठमाडौंमा सक्रिय बहुदल ( संसदीय व्यवस्था ) पक्षीय नागरिक समूहको ठूलो योगदान रहेको थियो । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला बहुदलको पक्षमा उभिँदा कञ्चनपुर, डडेल्धुरा,डोटी,बर्दिया,सुर्खेतले साथ दिए । पूर्वको झापा भने त्यो बेला निर्दलको पक्षमा देखियो ।
झापामा १ लाख ३७ हजार २५६ मा १० हजार ७२१ मत बदर भएको थियो भने सदरमध्ये निर्दलीय पञ्चायतको पक्षमा ७२ हजार ३३७ र बहुदलको पक्षमा ५४ हजार १९८ मत रहेको थियो । इलाम,पाँचथर र ताप्लेजुङले पनि पञ्चायतलाई नै मत हालेको थियो ।
यता बीपी कोइरालाको मोरङमा बहुदलको पक्षमा ७८ हजार ३८२ मत खस्दा निर्दलीय व्यवस्थाको पक्षमा ३२ हजार ५८९ मत खसेको थियो । सुनसरीमा बहुदलले ५८ हजार ६९६ र निर्दलीयको पक्षमा ५४ हजार ८५३ तथा सिराहामा बहुदललाई ९० हजार ६५ र निर्दललाई ५० हजार ५४३ मत खसेको थियो । जबकि,सिराहामा १५ हजार ६५२ मत बदर भएको थियो । बदर गरिएका अधिकांश मतहरु बहुदल पक्षधरका थिए ।
माओवादीको उद्गमस्थलबाट पञ्चायतलाई भोट
पछिल्लो समय माओवादीको उद्गमस्थल मानिएका रुकुम,रोल्पालगायतका जिल्लाहरुले जनमत संग्रहमा निर्दलीय पञ्चायतलाई भोट हालेका थिए । जनमत संग्रहताका रुकुममा ६२ हजार ४५३ मतदातामध्ये निर्वाचनमा ३५ हजार ४९६ ले भाग लिएका थिए । ६ हजार ९९ मत बदर हुँदा पञ्चायतको पक्षमा १९ हजार ९१९ र बहुदलको पक्षमा ९ हजार ४७८ मत खसेको थियो ।
रोल्पामा ८५ हजार १८७ मतदाता रहेकोमा ४४ हजार ९९० मत खसेको थियो भने ३ हजार ५९९ मत बदर भएको थियो । त्यहाँ पञ्चायतको पक्षमा २८ हजार ९८३ र बहुदलको पक्षमा १२ हजार ४०८ मत जाहेर भएको थियो । अर्को कम्युनिष्ट प्रभाव क्षेत्र प्यूठानमा ७७ हजार ३०८ मतदाता रहेकोमा खसेको ४४ हजार ९३० मत खस्यो भने ३ हजार ५९९ बदर भयो । त्यहाँ पञ्चायतको पक्षमा ३० हजार २४५ र बहुदलको पक्षमा १२ हजार ४०८ मत जाहेर भएको थियो ।





